
एक समय थियो, गाउँघरमा कसैको छोरोछोरीले एसएलसी पास ग¥यो भने सबैले सोध्थे– अब के पढ्ने ? कुन विषय रोज्ने ? आज ती प्रश्नहरू फेरिएका छन् । अहिले सोधिन्छ– कुन देश जाने ? कहिले उड्ने ? भिसा आयो कि आएन ? समयसँगै पढाइ, सीप र क्षमताभन्दा पनि विदेश जाने योजनाले मान्छेको मूल्यांकन गर्न थालिएको छ । जुन आफैंमा असजिलो र पीडादायी छ ।
विदेश जानु आफैंमा न त अपराध हो, न त असफलता । संसार खुला छ, अवसर खोज्नु मानवीय चाहना हो । थप राम्रो अवसर खोज्नु स्वभाविक पनि हो । तर समस्या त्यहाँ छ, जहाँ विदेश जानु एक मात्र विकल्प, एक मात्र सपना र सामाजिक प्रतिष्ठाको मापन बन्न पुगेको छ । आज स्वदेशमै बसेर केही गर्न चाहने युवालाई सफल र मेहनेती होइन, असक्षम र कमजोर मानिन्छ । विदेश नजानु मानौं जीवनमा केही नहुनु जस्तै ठानिन थालेको छ ।
केही वर्षअघि एक सार्वजनिक सवारीमा सुनेको कुराले पंक्तिकारको मन गहिरो गरी छोयो । एक आमा गर्वका साथ छिमेकीलाई भनिरहेकी थिइन्, ‘मेरो छोरा त जापानमा छ, लाखौं कमाउँछ, मलाई पनि घुमाउन लान्छु भनेको छ ।’ त्यो वाक्यमा लुकेको पीडा उनले आफैंले सायद महसुस गरेकी थिइनन् । उनको छोराले कति घण्टा र कस्तो ठाउँमा काम गर्दैछ भन्ने कुरामा उनलाई हेक्का थिएन । त्यो प्रश्न कसैले सोधेन । विदेश पुगेको खबर नै पर्याप्त प्रमाण बन्यो कि छोराले कमाउन थाल्यो ।
आज सामाजिक सञ्जालले यो मानसिकतालाई झन् मलजल गरिरहेको छ । अस्ट्रेलियाको समुद्र किनारमा खिचिएको तस्बिर, क्यानडाको हिउँमा उभिएको मुस्कान, युरोपको सडकमा हिँड्दै गरेको भिडियो– यी सबैले जीवन अत्यन्तै रमाइलो छ भन्ने भ्रम सिर्जना गर्छन् । तर ती तस्बिरहरूमा न त एक्लोपन देखिन्छ, न त रातको दुःख, न त घर सम्झँदा आएको आँसु । डिजिटल संसारमा देखिने चमक र वास्तविक जीवनको कठोरता बीचको दूरी बुझ्न हामी चुकिरहेका छौं ।
विदेश जानकै लागि पढाइ गर्ने प्रवृत्ति बढ्दो छ । इन्जिनियर, नर्स, व्यवस्थापनका विद्यार्थी– सबैको अन्तिम लक्ष्य एउटै देखिन्छ । कसैलाई विषयप्रतिको रुचि छैन, समाजप्रतिको उत्तरदायित्व छैन, केवल एउटा टिकट चाहिएको छ । अझ दुखद त के छ भने, कतिपयले नक्कली कागजात, नक्कली बिहे र ऋणको भारी बोकेर विदेश जाने बाटो रोजिरहेका छन् । यो व्यक्तिगत निर्णय मात्र होइन, सामाजिक विकृति पनि हो ।
युवाहरूको गुनासो सुन्दा उनीहरू पूर्ण रूपमा गलत पनि छैनन् । यहाँ रोजगारीको अभाव छ, प्रणाली कमजोर छ, राजनीतिक अस्थिरता र भ्रष्टाचारले भरोसा तोडेको छ । तर यसको समाधान सामूहिक पलायन मात्र हो त ? जब देशका सबै सक्षम, ऊर्जाशील र शिक्षित युवा बाहिरिन्छन्, तब यहाँ परिवर्तन कसले गर्ने ? सुधारको जिम्मा कसले लिने ?
आज नेपालका ग्रामीण भेगहरू रित्तिँदै छन् । खेतबारी बाँझिँदै छन् । सरकारी स्कुलमा विद्यार्थी छैनन्, सरकारी अस्पतालमा डाक्टर टिक्दैनन् । गाउँमा बुढाबुढी मात्रै बाँकी छन्, जो मोबाइलको स्क्रिनमा देखिने नातिनातिनाको अनुहारसँगै बाँचिरहेका छन् । दशैंमा टीका लगाइदिने हातहरू खाली छन्, तिहारमा दाजुभाइको निधार खाली छ । पैसा त आउँछ, तर त्यो पैसाले चुलो बल्छ, मन होइन ।
एक वृद्ध बाबुको कुरा सम्झनलायक छ । छोरा अमेरिका गएको १० वर्ष भयो । घर नयाँ बनेको छ, सुविधा सबै छन् । तर उनले भने, ‘घर ठूलो भयो, तर बोल्ने मान्छे सानो हुँदै गयो ।’ त्यो वाक्यमा आधुनिक समाजको सबैभन्दा ठूलो त्रास लुकेको छ । हामी भौतिक रूपमा अग्लिंदैछौं, तर भावनात्मक रूपमा खुम्चिँदैछौं ।
आज आमाबाबुले सन्तान विदेश गएकोमा सन्तोष मान्छन्, किनकि समाजले त्यसैलाई सफलता मानेको छ । भोजभतेरमा सन्तानको नामसँगै देशको नाम जोडेर चिनाउने चलन बढेको छ । मानौं सन्तान होइन, देश नै उपलब्धि हो । तर के हामीले कहिल्यै सोच्यौं– बुढेसकालमा बिरामी पर्दा साथ दिने को ? अस्पतालको बेडमा हात समाउने को ? के बैंक खातामा आएको रकमले त्यो स्पर्श दिन सक्छ ?
विदेशमा कमाएको पैसाले सुविधा किन्न सकिएला, तर आफ्नोपन किन्न सकिँदैन । सन्तानसँगै बसेर बाँडिने सानो खुशी, दैनिक संवाद, झगडा र मेलमिलाप– यी सबै जीवनका अमूल्य पक्ष हुन्, जसको मूल्य डलर र पाउन्डले मापन गर्न सक्दैन । यहाँ विदेश नगएका युवालाई आदर्श बनाउने वा विदेश गएकालाई दोष लगाउने प्रयास होइन । प्रश्न केवल यत्ति हो– के हामीले विदेशलाई नै एक मात्र मुक्तिको बाटो बनाइरहेका छैनौं ? के स्वदेशमै बसेर संघर्ष गर्ने साहसलाई हामीले कमजोर ठान्न थालेका छैनौं ?
देश भनेको माटो मात्र होइन, मान्छे हो । जब मान्छे नै बिस्तारै हराउँदै जान्छन्, तब विकासका नारा खोक्रा हुन्छन् । आफ्नै देशमा पसिना बगाउनु अपमान होइन, आत्मसम्मान हो । तर त्यो सोच फर्काउन सजिलो छैन, किनकि हामी वर्षौंदेखि बनाइएका सामाजिक मानकको बन्दी भइसकेका छौं ।
अब ढिलो नगरी सोच्नुपर्ने बेला आएको छ । विदेश जानु विकल्प होस्, बाध्यता होइन । स्वदेशमै केही गर्न खोज्ने युवालाई सम्मान गरियोस्, प्रोत्साहन दिइयोस् । नत्र भोलि हाम्रा घरहरू केवल कंक्रिटका संरचना मात्र हुनेछन्, जहाँ मान्छेको आवाज होइन, सन्नाटा बस्नेछ । र त्यो सन्नाटाले हामीलाई सोध्नेछ– सबै पैसा कमायौं, तर के साँच्चै खुसी भयौं ?