२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

लघुकथा : हावाले बोकेको नाम

Nada
रञ्जना बास्ताकोटी
२०८२ माघ २४ गते ०६:१०
Shares
लघुकथा : हावाले बोकेको नाम

पहाडको काखमा टाँसिएको त्यो गाउँको नाम नक्सामा थिएन । बाटो पुग्थ्यो, तर राज्य पुग्दैनथ्यो । बिहान सबेरै कुहिरो ओढेर उठ्ने त्यो गाउँमा जन्मिएको थियो– मञ्जिल । ऊ अरू बालकझैँ चञ्चल थिएन । घाँस काट्न जाँदा पनि ऊ आकाशतिर हेथ्र्यो, मानौँ बादलभित्र कतै उसको भाग्य लुकेको हो ।

ncell

उसको बाबु गाउँकै पुरानो मिस्त्री । ढुंगा चिन्न जान्ने, तर मानिस चिन्न नसक्ने । जीवनभर अरूका घर ठड्याए, आफ्नै घर अधुरै रह्यो । आमाले खेत र चुलो सम्हालिन्, शब्दभन्दा मौन बढी बोल्ने स्वभावकी । यही मौनताले मञ्जिललाई चाँडै परिपक्व बनायो ।

विद्यालय टाढा थियो । किताबभन्दा भारी जिम्मेवारी थियो । तर मञ्जिलले पढाइ छाडेन । सानैदेखि दिउँसो स्कूल, बिहान–साँझ मजदुरी । उसलाई लाग्थ्यो– शिक्षाले नै मानिसलाई गाउँबाट बाहिर निकाल्छ । तर गाउँलेहरू भन्थे, ‘पढेर के हुन्छ र ? अन्ततः खाडी नै त जाने हो ।’

समय फेरियो । देशमा परिवर्तनका नारा चर्किए । गाउँमा सभा हुन थाले । भाषणले पेट भर्दैन भन्ने मञ्जिललाई थाहा थियो, तर परिवर्तनको सपना उसले पनि देख्यो । ऊ सक्रिय बनेन, तर तटस्थ पनि बस्न सकेन । यही बीचमा बाबु बिरामी परे । घरको एकमात्र कमाउने ढलेपछि जिम्मेवारी मञ्जिलको काँधमा आयो ।

शहर झर्‍यो ऊ । सपनाको शहर– तर सपनै चोरिने शहर । काम खोज्दा ‘भोलि आउनू’ भन्ने शब्द मात्रै पाइन्थ्यो । एकदिन चिनजानको मान्छेले भन्यो, ‘मलेसिया जाऊ, जीवन बन्छ ।’ जीवन बन्छ भन्ने वाक्य यति सजिलै बोलियो, मानौँ त्यहाँ जीवन पसलमा पाइन्छ ।

घरमा छलफल भयो । आमाको आँखामा आँसु, बाबुको आँखामा अपराधबोध । मञ्जिलले चुपचाप निर्णय गर्‍यो । खेतको सानो टुक्रा धितो राखियो । ऋण काढियो । कागज बन्यो । मञ्जिलले पहिलोपटक पासपोर्ट समात्दा आफ्नो नाम विदेशी अक्षरमा देख्यो– अपरिचित, चिसो ।

विमान चढ्दा ऊ डराएको थियो । आकाश होइन, जमिनबाट टाढा हुने डर । बिदाइको बेला आमाले भनेकी थिइन्, ‘मान्छे भएर फर्किनू ।’ त्यो वाक्य उसको मनमा गाडियो ।

मलेसियाको कारखाना– धातुको जंगल । आवाज, धुवाँ, पसिना । काम सुरु भयो– बारह घण्टा, कहिलेकाहीँ बढी । मेसिनसँगै उसले पनि आफ्ना भावना दबाउन सिक्यो । साथीहरू दुर्घटनामा परे । कसैको औँला, कसैको ज्यान । कम्पनीले क्षतिपूर्ति दियो, तर सपना फिर्ता दिएन ।

मञ्जिल भने टिकिरह्यो । किनकि उसलाई थाहा थियो– घरमा ऋण छ, औषधि छ, आशा छ । उसले पैसा पठायो । आमाको उपचार भयो । बाबु हिँड्न थाले । गाउँमा उसको नाम ‘बाहिर पुगेको छोरो’ भनेर चिनिन थाल्यो ।

समय बित्यो । कपालमा सेतो देखिन थाल्यो । शरीर थाक्न थाल्यो । तर जिम्मेवारी अझै जवान थियो । एकदिन कारखानाको अफिसमा बोलाइयो । सुपरभाइजरले भन्यो, ‘तिमी इमानदार छौ । अब टिम लिडर ।’

प्रशंसा सुन्दा पनि मञ्जिल खुशी भएन । किनकि उसले बुझिसकेको थियो– पद बढ्नु भनेको जिम्मेवारीको वजन बढ्नु हो ।

त्यसै साँझ, डर्मिटोरीको सानो कोठामा ऊ झ्यालबाट बाहिर हेरिरहेको थियो । टाढा सडकमा बत्ती बलिरहेका थिए । उसलाई आफ्नै गाउँको त्यो एकमात्र सोलार बत्ती सम्झियो, जुन उसले पठाएको पैसाले जडान भएको थियो ।

त्यही क्षण उसले महसुस गर्‍यो– ऊ केवल मजदुर होइन । ऊ एउटा सेतु हो । गाउँ र शहरबीच । गरिबी र सम्भावनाबीच ।

तर मनको कुनामा एउटा प्रश्न खड्किरह्यो– ‘किन बलियो हुनैपर्छ हामी ?’ किन देशले आफ्ना युवालाई बलियो बन्न विदेश धकेल्छ ?

भोलिपल्ट काममा जाँदा एक नयाँ केटा आएछ– डराएको, अल्मलिएको । मञ्जिलले उसको काँधमा हात राख्यो र भन्यो, ‘धैर्य गर । बलियो बन्ने दिन आफैँ आउँछ ।’

मनमनै मञ्जिलले चाह्यो– भोलिका पुस्ताले बलियो बन्न बाध्य नहुन् । सपना देख्न देश छाड्न नपरोस् । सायद यही चाहना नै उसको सबैभन्दा ठूलो विद्रोह थियो ।

सम्बन्धित खबर