२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कथा : छाया

Nada
रञ्जना बास्ताकोटी
२०८२ पुष १२ गते ०६:१०
Shares
कथा : छाया

पाटन अस्पतालको पुरानो भवन अगाडि म उभिइरहेको थिएँ । आकाश बदलिएको थियो, घाम लुक्दै थियो । त्यत्तिकैमा एउटा थाकेको स्वर कानमा प¥यो, “छोरा आयो कि भनेर सोधिदिनु न बाबु, अलि देखिँदैन आँखाले ।”

ncell

घुमेर हेर्दा, एउटा वृद्धा बेन्चमा बसेकी थिइन् । पुरानो साडी, काँधमा झुन्डिएको कपडाको झोला र अनुहारभरि समयले कोरेका रेखाहरू । उनको आँखामा चिन्ता र आशा मिसिएको थियो । म नजिक गएँ ।

“कसलाई पर्खनु भएको ?”

“छोरालाई,” उनले छोटो उत्तर दिइन्, “भित्र औषधि लिन गयो ।”

म चुप लागेँ । अस्पतालको घडी टिक–टिक गर्दै थियो । आधा घण्टा बित्यो, एक घण्टा बित्यो । छोरा आएन ।

उनले आफैँ बोलिन्, “यस्तै हो, सधैँ भन्छ, आउँछु भनेर । म बूढी भएपछि त झन् बिर्सिन थालेको छ ।”

स्वरमा गुनासो थियो, तर त्यसभन्दा बढी आत्म स्वीकृति ।

कुरा गर्दै जाँदा थाहा भयो, उनको नाम पार्वती रहेछ । गाउँबाट काठमाडौं आएकी, आँखाको अपरेसनको पालो कुरिरहेकी । लोग्ने बितेको धेरै भयो । जीवनको सम्पूर्ण भरोसा एउटै छोरामा थियो ।

“सानो छँदा त देवता जस्तै ठान्थेँ,” उनले मुस्कुराउँदै भनिन्, “सबैभन्दा राम्रो स्कुल, राम्रो लुगा, राम्रो खान । छोरी जन्मेको भए त के हुन्थ्यो होला, तर भगवानले छोरा दिए भनेर गर्व गर्थेँ ।”

उनको त्यो गर्वको पछाडि थोरै डर पनि मिसिएको थियो, वंश सकिन्छ कि भन्ने डर ।

उनले भनिन्, “छोरा भएपछि सबै ठिक हुन्छ भन्ने सोचेकी थिएँ । कुल बाँच्ने भयो, नाम चल्ने भयो ।”

मैले केही भनिनँ ।

अचानक उनको मोबाइल बज्यो । उनले हतार–हतार उठाइन् ।

“कहाँ छस् ?”

केही सेकेन्ड मौनता ।

उनको अनुहार फेरियो ।

“फेरि ? ... म त यहाँ एक्लै छु नि ... ठिक छ ।”

फोन राखिन् । आँखामा आँसु टल्किए ।

“आज आउँदैन रे,” बिस्तारै भनिन् ।

त्यतिबेला मलाई मेरो आफ्नै छिमेकी सम्झना आयो, जो छोरीहरूलाई पढाएर विदेश पठाएका थिए । छोराको मुख हेर्ने बाध्यता थिएन, तर सन्तानको साथ थियो ।

मैले पार्वती आमालाई पानी दिएँ । उनले सास फेरिन् ।

“तिमीलाई थाहा छ बाबु,” उनले भनिन्, “छोराले आजभोलि काम गर्दैन । साथीहरू, रक्सी, तास... म बोल्न खोजे भने रिसाउँछ ।”

उनको स्वर काँपिरहेको थियो ।

“छोरीजस्तो सन्तान हुन्थ्यो भने सायद यस्तो हुँदैनथ्यो,” उनी आफैँसँग भुतभुताइन् ।

त्यही बेला एउटा युवक अस्पतालको गेटबाट निस्कियो । चाउरिएको जिन्स, आँखा रातो, चाल लरबराएको । पार्वती आमाले टाढैबाट चिन्नुभयो ।

“त्यही हो,” उनले भनिन्, “मेरो छोरा ।”

उनी दौडेर गइनन् । बरु उभिएर हेरेर बसिन् । युवक नजिक आयो ।

“आमा, चाँडै हिँडौँ,” उसले अल्छी स्वरमा भन्यो ।

उनले केही सोधिनन् । गुनासो गरिनन् । शायद धेरै बोलेर थाकिसकेकी थिइन् ।

छोराले एक युवतीलाई पनि सँगै ल्याएको थियो । युवती मौन थिइन्, अनुहार शून्य ।

“यो को ?” पार्वती आमाले सोधिन् ।

“मेरो साथी,” उसले लापरबाहीपूर्वक भन्यो, “सँगै बस्छु अब ।”

आमाको अनुहारमा एक क्षण खुसी झल्कियो— वंश अघि बढ्ने आशा ।

“बुहारी ?”

“सायद,” युवक हाँस्यो ।

पार्वती आमाले युवतीको हात समातिन् । “घर जाऊँ, छोरी,” भनिन् ।

त्यस रात म उनीहरूलाई त्यहीँ छोडेर फर्किएँ ।

भोलिपल्ट बिहान अखबार पल्टाउँदा एउटा सानो खबरले मेरो ध्यान तान्यो– “मानसिक अवस्था कमजोर युवती बेपत्ता ।”

फोटो हेर्दा, हिजो अस्पतालमा देखेकी त्यही युवती थिइन् । मन भारी भयो । मलाई पार्वती आमाको अनुहार सम्झना आयो—वंश जोगिने आशामा चम्किएको । तर वंश केवल जन्मले होइन, कर्मले जोगिन्छ भन्ने सत्य उनले ढिलो बुझिन् ।

छोरालाई देवता बनाउँदा, मानिस बनाउने जिम्मेवारी छुटेछ । र, जब जिम्मेवारी छुट्छ, वंश केवल छाया मात्र रहन्छ, नाम त बाँच्छ, तर मानवीयता हराउँछ ।

सम्बन्धित खबर