२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कविता : के गर्‍यौ जेनजी तिमीले ?

Nada
गणेश लोहनी
२०८२ मंसिर २७ गते ०६:०५
Shares
कविता : के गर्‍यौ जेनजी तिमीले ?

गर्जिएका बाघका निर्भीक डमरु गर्जन
स्याल हुईंयाँको कोकोहोलोमा 
अनुवाद हुँदै गरेको देख्दा
डर लाग्छ 
कतै डमरु स्यालमा कायापलट भई
गिद्धहरूसँगै सिनो लुछ्दै गरेको
हेर्दै भन्नुपर्ने त होइन ?
के गर्‍यौ जेनजी तिमीले ?
हामी कौतुहलता साथ
जसलाई तिलस्मी कथाका नायक मानेर
परिवर्तनको बेदीमा
उज्यालो भविष्यका
रेखी हाल्दै मङ्गल धुनका साथ
जेनजी युगको मधुमास भित्र्याउन
व्यग्रतापूर्वक प्रतीक्षारत छौँ
उनै नायक हातमा
खल उपसर्गको
वैशाखी लिएर
उभिएका लाञ्छनाले
मिडियाका क्यानभास
रङ्गिएको देख्दा भन्न मन लाग्छ
के गर्‍यौ जेनजी तिमीले ?
जोसँग शकुनि युगको
पासा पल्टाउने
आशा राख्यौँ
जसलाई सम्झौताहीन
ऋषि दुर्वासा ठान्यौ
जसलाई युगले
विकृति विसङ्गति ध्वस्त पार्ने
हतियार ठान्यो
उसैलाई  राष्ट्रघातका मतियार
बुख्याचा बनाएर
सञ्चारका भित्ता रङ्गिँदा
तिम्रो शौर्य शूर वीरता
सहादत के क्षणिक उत्तेजना
अन्धोन्माद
उक्साहट मात्र थियो त ?
सोध्न मन लाग्छ
परिवर्तनको लागि
तिमीले बगाएको
रगतको अवमूल्यनको मौका 
शकुनि तन्त्रलाई
दिने को हो ?
लोकका मनमा
पलाउँदै गरेको
आशामा निराशाको
तुसारापात ओहो !
के गर्‍यौ जेनजी तिमीले ??

ncell

uae

सम्बन्धित खबर