२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

‘त्यो झापा’ : इतिहासको ‘इनसाइक्लोपेडिया’

Nada
भूवन तामाङ
२०८२ मंसिर १३ गते ०६:१५
Shares
‘त्यो झापा’ : इतिहासको ‘इनसाइक्लोपेडिया’

देशको ऐतिहासिक कालदेखि राष्ट्रको विभिन्न महत्वपूर्ण घटनाहरूमा झापाले अहम् भूमिका निभाउँदै आएको छ । देश हाँक्ने नेतृत्व हुर्काउने भूमि, देशकै मुटु झापा आफैँ चाहिँ इतिहासमा कस्ता चरणहरू पार गर्दै आयो ? ती यावत पुराना इतिहास ‘त्यो झापा’ले समेटेको छ । जसलाई तीर्थ सिग्देलले लेखेका छन् । 

ncell

यो पुस्तक विशेषतः झापा सम्बन्धी गहन जानकारी भएका झापाका जिउँदा इतिहास अग्रजहरूसँगका बयानमा आधारित छ । झापाको सामाजिक, शैक्षिक, प्रशासनिक, विकास तथा राजनीतिक जीवनमा योगदान गरेका झापाका विभिन्न स्थानका बासिन्दा तीन दर्जनभन्दा बढी इतिहासका ज्ञाताहरूले व्यक्त गरेका बयानहरू जस्ताको तस्तै पुस्तकमा लिपिबद्ध भएका छन् । पुस्तकमा दुई खण्ड छन्– पूर्व दृष्टि र बयान खण्ड । यी दुवै खण्ड तथ्यपूर्ण र रोचक रहेका छन् । साथै, झापाबारे लेखिएका दर्जनौँ कृतिहरूबाट पनि तथ्यहरू उद्धत गरिएका छन् ।

इतिहासमा झापा

कृतिभित्रको त्यो झापा शीर्षकको लेखअनुसार पृथ्वीनारायण शाहको शासनकालमा मोरङ र हालको झापा लिम्बुवान राज्यमा पर्दथ्यो । झापा जिल्लाको नाम झापा बजारबाट आएको हो । झापा बजार कुनै समय झापा जिल्लाको सदरमुकाम थियो । कर्मचारीहरूको सुविधाका लागि सदरमुकाम चन्द्रगढीमा सारियो । त्यसभन्दा पहिला सदरमुकाम धुपगाछी (हालको भद्रपुर)मा थियो । वि.सं. १९७२ सम्म हालको झापा मोरङअन्तर्गत नै थियो । 

झापाको नामको उत्पत्ति राजवंशी भाषाबाट भएको मानिन्छ, जसको अर्थ ढकनी वा बिर्को हो । वन जङ्गलले ढाकिएको क्षेत्र भएकाले पनि यो नाम रहन गएको हो । धिमाल, सन्थाल, राजवंशी, मेचे, थारु, गनगाइँ, किसान आदि जातीय समूहहरू यहाँका मूल बासिन्दा थिए, हुन् । इतिहासका ज्ञाताहरूले वि.सं.२ ००७ देखि २०२७ सालमा पहाडबाट झरेका मानिसहरूले झापाको हजारौँ बिगाहा वन फडानी गरे, खेत बनाए भनेका छन् । पहाड र अन्यत्रबाट आएका मानिसहरूले समयक्रमसँगै यहाँको माटोमा सुन फलाउने चेष्टा मात्र गरेनन् धर्ती मातालाई सजाउने काम पनि गरे । सुन्दर समाजको परिकल्पना गरे । यो ठाउँमा भित्रबाट चेतना भरे र बाहिरबाट आकर्षण थपे । यस पुस्तकको सबटाइटल ‘औलोको प्रकोप, बसाइसराइ र भूमिसुधार’ रहेको छ । यो आलेख यिनै तीन आयाममा केन्द्रित छ । 

औलोको प्रकोप

पुस्तकका अनुसार उहिले झापामा औलोको प्रकोप असाध्यै थियो । २०२५ सालदेखि सुरु भएको औलो उन्मुलन कार्यक्रमको सिनियर इन्स्पेक्टर प्रेमसागर खनालको बयानअनुसार पहिलेदेखि रहेका आदिवासी बाहेक अन्यत्रबाट आएकाहरू औलो लागेर भकाभक मर्दथे । औलोको प्रकोप पहाडबाट आएकाहरूमा बढी हुने गर्दथ्यो । झापामा आदिवासीका घरहरू मात्र हुन्थे । धेरै पहिलेदेखि बसेकाले पनि होला उनीहरूमा औलोको कम प्रभाव पर्दथ्यो । पोथी मच्छडले अण्डा पार्नका लागि रगत चाहिने भएकाले औलो सर्ने बढी सम्भावना हुन्थ्यो । औलो उन्मुलनका लागि घरमा डिडिटी छर्कने चलन थियो । औलो र यसको उन्मुलनका बारेमा बृहत् र रोचक लेख तथा बयानहरू यस पुस्तकमा पढ्न पाइन्छन् ।

बसाइसराइ

झापा जङ्गल मुलुक थियो, यहाँ अघिदेखि नै आदिवासीहरू खेतीपाती गरी बसेका थिए । उनीहरू बाघ, भालु, हात्ती आदिसँग लड्दै जीविकोपार्जन गरिरहेका थिए । कालापानी मानिएको झापामा जब औलो उन्मुलन हुँदै आयो र २००७ सालको क्रान्ति, प्रतिक्रान्तिको चपेटामा परेर लखेटिएर पहाडबाट झापा आउनेको धुइरो लाग्यो । राणा शासक भीम शमशेरले टाढा–टाढा पुगेका नेपालीहरूलाई फर्काएर आफ्नै मुलुकमा बसोबास गराए । झोडाबासीका नानीहरू पढ्न केरखा, शनिश्चरे, बुधबारे, भद्रपुर लगायतका ठाउँमा स्कुल खुल्नाले र महेन्द्र राजमार्ग बन्नुले पनि झापाप्रति आकर्षण बढ्यो । गुरुभक्त न्यौपानेको बयान अनुसार सहज जीवनको खोजी, काम, जागिर, पानी, खेती कमाइ, उब्जाउ जग्गाजमिन आदिका लागि मानिसहरू तराई ओइरिए ।

राजा महेन्द्रले भूमिसुधार लागु गरे । बिर्ता, मौजा, कामत आदिका अधिकार पाएका जमिनदारहरूले आम किसानउपर शोषण, जालझेल, थिचोमिचो गर्दथे र विभिन्न निहुँमा किसानका जग्गा हडपेर जति पनि जग्गा राख्थे । जमिनदारहरूले साना पाथीले दिने र ठूला पाथीले लिने गर्दथे । जमिनको कर उठाउन जिम्मा पाएका जमिनदारहरू सामन्त र छोटेराजा भएका थिए । किसानहरूउपर जुलुम अन्याय गरेकाले जग्गाको हदबन्दीसहित भूमिसुधार कार्यक्रम लागू गरियो । शनिश्चरेका पुराना बासिन्दा भूमिसुधारमा काम गरेका लवकुश गिरीको बयान अनुसार भूमिसुधारले जमिन माथिको एकल स्वामित्वमा परिवर्तन ल्याइदियो । मेहनत गर्ने किसानले फाइदा लिन पाए । यो नीति अघि एउटै जमिनदारसँग सयौँ विगाह जमिन, दर्जनौँ मौजा र कामत हुन्थे । भूमिसुधारपछि शोषणरहित समाज निर्माणमा सघाउ पुग्यो ।  त्यसबेला झापामा किसानहरूले सामन्त विरोधी आन्दोलन गरे । जमिन कमाउँदा पच्चिस प्रतिशत जमिन अनिवार्य पाइने भयो । यस्तो नीतिले मोहीहरूका अवस्थामा सुधार आएको थियो ।

अन्य आयामहरू

पुस्तकमा, जिमदारी प्रथा र अन्त्य, शनिश्चरे, बिर्तामोड, भद्रपुर, बिर्ता बजार, दमक लगायतका पुराना ठाउँको इतिहास, दक्षिणी झापा, मेचीपुलको कथा, क्रान्तिको जग, इतिहास साक्षी, रक्सीमा जग्गा साट्ने, पहाडेहरू मान्छे होइनन्, सात सालमा लिम्बूहरूको उपद्रो, आठमौजा, बिर्ताप्रथा, झोडा, क्रान्ति, शिक्षा, विकासक्रम र अरू थुप्रै विषयमा विस्तृत रूपमा लेख, बयान र तथ्यहरू मसिनो गरी केलाएर समेटिएका छन् । जसले झापा चिनाए लेख अनुसार जसले यो माटोमा पहिलो पाइला राखे, सुख्खा जमिनमा फरुवा चलाए अनि औलो, बिफर, कलेरा जस्ता घातक रोगहरूसँग पौँठेजोरी खेले बाघ, भालु, चितुवासँग, शासकहरू, सामन्तहरू र जमिनदारहरूसँग लडे, भिडे । यो भूमिलाई मान्छे बस्न लायक बनाए । बजार खोले, बाटो खने, पुल बनाए, स्कुल खोले । पानीको मूल फुटाए, धान फलाए, पाटा गोडे, आलु रोपे, मकै उमारे, कोदो फलाए । रस्ती रसाए, बस्ती बसाए, चलन चलाए ।

ती महान् व्यक्तिहरू हुन् भनेर कृतिकार सिग्देलले लेखेका छन् । झापा चिनाउने धेरै जनाको नामावली पुस्तकमा उल्लेख छन् । २००७, २०१९ र २०४८ सालका घटना अघि र पछि राजनीतिक परिवर्तनको माध्यमबाट झापाको विभिन्न आयाममा सक्रिय भएका दर्जनौँका नामावली र योगदान पुस्तकमा उल्लेख गरिएका छन् ।

रोचक प्रसंगहरू

उबेला धर्मढिकुटीमा किसानहरूले धान बचत राख्ने राम्रो चलन थियो । तराइकाले पहाडबाट आएकाहरूलाई मान्छे नै ठान्दैन थिए, कुमान्छे भन्दथे । २०१४ सालमा धुलाबारीतिर सात सयमै एक बिघा खेत पाइन्थ्यो । गाउँ पञ्चायतका निर्वाचित जनप्रतिनिधिहरूले सरकारी काममा कतै जाँदा सरकारी पैसाले चियासम्म पनि पिउँदैन थिए, स्वयंसेवी परम्परा थियो । राजगढ कोचबिहारकी राजकुमारीलाई प्रताप मल्लले विवाह गरेको ठाउँ हो । जहाँ–जहाँ ठाउँका नाममा बाडी शब्द आउँछ ती ठाउँहरू राजवंशीहरूका थिए ।

राणाहरू र राजाहरूले आफन्तलाई जग्गा बिर्ता दिएकाले बिर्ता (बिर्ता बजार) नाम रहन गएको हो । भारतका नक्सलवादीहरूको प्रभाव झापामा पनि परेको थियो । परिणामतः झापामा को–को काटिए, मारिए ? को–को जेल परे ? झापा विद्रोह र क्रान्ति आदिका घटनावली पुस्तकमा विस्तृत चर्चा गरिएका छन् । 

दरपलाल राजवंशीको बयान अनुसार झापामा पहिला रुखको पातमा रसिद, तमसुक लेख्ने चलन थियो । चन्द्रकला न्यौपानेका अनुसार २००१ सालतिर एक तोला सुन १६ रुपैयाँमै पाइन्थ्यो । अरू कैयन घतलाग्दा घटना र प्रसङ्गहरूको संग्रह छ पुस्तकभरी । यस पुस्तक पढ्नुको आनन्द नै अर्कै हुन्छ । आठ वटा पुस्तक सिर्जना गरिसकेका लेखक तीर्थ सिग्देलको यस नवीनतम कृति झापाको अधिकांश इतिहासको कथा बताउन सफल छ । स्कुल, कलेज, विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, स्वअध्ययनशील, योजना तथा विकास निकाय, तीनै तहका सरकार, झापाका स्थानीय निकाय र देश–विदेश पुगेकाहरूलाई झापाबारे ज्ञानका लिनका लागि भरपर्दो अध्ययन सामग्रीको रूपमा उदाएको छ । पुस्तकले झापासँग सिमाना जोडिएका जिल्लाहरू र भारतको आसामसम्मको इतिहास बताउँदछ । यो कृति देशकै ऐतिहासिक गहनाको रूपमा सिर्जना भएको छ ।

uae

सम्बन्धित खबर