२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कथा : हरियो रुमाल

Nada
खगेन्द्र पौडेल
२०८२ मंसिर १३ गते ०६:१०
Shares
कथा : हरियो रुमाल

काठमाडौंको बिहान– भीड, धुलो, हर्नको आवाज र अधुरो सपना बोकेका मानिसहरू । रचना बिहानै उठी बालकोटको किराना पसलमा काम गर्न निस्किई । हातमा हरियो रुमाल थियो – त्यही रुमालले पसिना पुछ्थी, कहिले आँसु ।

ncell

रचनाको जीवन साधारण थिएन । बुबा मरेर गए, आमा पिरलो र ऋणले थिचिएकी । सानैदेखि अरूका घरमा भाँडा माझ्ने, बालबालिकाको हेरचाह गर्ने अनि अहिले यो सानो किरानामा काम गर्ने – यही उसका दिनचर्या थिए । पढाइ आठ कक्षा पार गर्न नपाउँदै विद्यालय छोड्नुपरेको, उसको पीडा हरेक बिहान चिया उम्लँदा सँगै उम्लिन्थ्यो ।

दैनिक कामको बिचमा ऊ कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्थी, सहरको भीडमा कतै आफ्नो ‘स्वतन्त्रता’ हराएको महसुस गर्थी । ऊ चाहन्थी, एक दिन आफ्नै पसल खोल्ने, आफ्नै मेहनतको परिणाम खाने ।

त्यो दिन बिहान, पसलमा नयाँ ग्राहक आयो– सुमन । ऊ नजिकैको इन्जिनियरिङ कम्पनीमा काम गथ्र्यो । सुमनका कुरा विनम्र, मुस्कान नम्र र नजर स्थिर थिए । केही दिनमै उनीहरूबिच बोलचाल बढ्यो । सुमनले प्रस्ताव राख्यो, ‘रचना, म तिमी जस्तो इमानदार र मेहनती केटी खोज्दै थिएँ, मसँग विवाह गर्न तयार छ्यौ ?’

रचनाले धेरै सोचिन, ऊ थकित जीवनबाट नयाँ आशाको ढोका खोल्न चाहन्थी । आमा पनि खुसी भइन्, ‘छोरीको भाग्य खुलेछ’ भनिन् । केही महिनामै उनीहरू विवाह बन्धनमा बाँधिए ।

तर विवाहको सुरुको मिठास लामो टिकेन । सुमनको घरका कुरा रचनाको कल्पनाभन्दा फरक थिए । सासूले ‘तँ कामदार केटी, हाम्रा नाममा धब्बा लगाउन आइकी’ भनी दिनदिनै टोक्थिन् । सुमन पनि अब पहिलेको जस्तो बोल्दैनथ्यो । उसका सपनाहरू, भावनाहरू, सबै घरको कोलाहलमा हराए ।

रचनाले सोची, ‘सायद समय लाग्ला, म राम्रो गरे भने सब ठिक हुन्छ’ । त्यसपछि उसले बिहानदेखि बेलुकीसम्म घरको सबै काम सम्हाली – खाना पकाउने, कपडा धुने, बगैँचा सर्ने, अनि बेलुकी सुमनको ‘थकान’ बुझ्ने । तर उसका आफ्नै थकानका कुरा सुन्ने कोही थिएन ।

एक दिन सुमनले भन्यो, ‘अनि तिम्रो त्यो काम त अब छोड्ने नि ? म कमाउँछु, तिमी घरमै बस ।’

रचनाले उत्तर दिइन, तर उसको मनमा डर पलायो । उसले सोची, ‘काम छोडेपछि म को बन्छु ? म को हुँ यहाँ ?’

केही महिना बिते । सुमनले लोनको कुरा सुरु ग¥यो, ‘बैंकले पाँच लाखसम्म सजिलै दिन्छ, तिम्रो नाममा खाता छ नि ? तिम्रो खाता प्रयोग गरौँ न ।’

रचनाले मनमनै सर्त राखी, ‘ठिक छ, तर रकम मेरो नाममै रहोस्, किनभने यो हाम्रो भविष्यको लागि हो ।’

त्यो रात सुमन चुपचाप रह्यो । अर्को बिहान ऊ अस्वाभाविक रिसले भरिएको थियो । उसले भन्यो, ‘तिमी मलाई विश्वास गर्दैनौ ? म तिमीलाई बिहे गरेर गल्ती गरेछु ।’ अनि हात उठायो ।

पहिलो पटक रचनाले आघातको पीडा मात्रै होइन, अपमानको जलन पनि महसुस गरिन् । शरीर दुख्थ्यो, तर मन चर्किएको थियो । रातभर ओछ्यानमा आँसु टप्काउँदै ऊ सोची – ‘यही हो मेरो घर ? यही हो मेरो जीवन ?’

भोलिपल्ट बिहान, आकाशमा हल्का कुहिरो थियो । ऊ चुपचाप उठी, हरियो रुमालले आँसु पुछी, झोलामा थोरै कपडा र केही नोट राखी ढोका पार गरी हिँडी । सुमन सुतिरहेको थियो ।

ऊ सहरका गल्ली पार गर्दै बसपार्क पुगिन् । ट्याक्सी चालकले सोध्यो, ‘कहाँ जाने दिदी ?’

रचनाले उत्तर दिइन, केवल मुस्कुराई, ‘जहाँ म आफूलाई हराउन नपरोस्, त्यहाँ ।’

बसमा बसेर ऊ पोखरातिर लागी । खिड्कीबाहिर हेरिरहँदा बिस्तारै मन हलुका भयो । त्यो क्षणमा ऊ कुनैको पत्नी होइन, कुनैको दासी होइन, ऊ केवल रचना थिई ।

पोखरामा ऊ एउटा सानो होटेलमा काम गर्न थाली । मिहिनेत, इमानदारी र मुस्कानले मालिकको मन जिती । केही महिनापछि होटेलले ऊलाई क्यास काउन्टरको जिम्मा दियो । ऊ अब आफ्नो कमाइबाट आमा र आफैँलाई सघाउन थाली ।

एक साँझ होटेलको छतमाथि उभिँदै ऊ फेवातालमा परावर्तित सूर्यास्त हेर्दैथिइ । हरियो रुमाल हावामा फरफराइरहेको थियो, अब त्यो आँसु पुछ्ने रुमाल होइन, उसको स्वतन्त्रताको झन्डा थियो ।

रचनाले आँखा बन्द गरी सोची, ‘कसैले दिएको घर होइन, आफ्नै पसिनाले बनाएको घर नै घर हो । म पराई होइन, म आफ्नी हुँ, आफैँकी ।’

त्यस रात पोखराको आकाशमा हल्का वर्षा प¥यो । तर रचनाको मनमा शान्ति थियो । ऊ आफूभित्र पहिलो पटक घर फेला पारेकी थिई ।

सम्बन्धित खबर