
के कविता लेख्नु हुन्छ महाशय ?
कवितै बिक्दैन
नपत्याए जानु
आफ्नै कविताको किताब कुन बुक स्टोरमा छ ?
खोज्नुस् भेट्नु हुन्छ ?
आफैले आफ्नो किताब किन्न खोज्दा पनि पाउनु हुन्न महाशय
के कविता लेख्नु हुन्छ महाशय
कवितै बिक्दैन ।
कसका लागि लेख्नुहुन्छ कविता
यो देश, यो समाज कि ती व्यक्ति
जसले बुझेर पनि बुझ्न खोज्दैन
जसले बुझेर पनि बुझ पचाइदिन्छन्
नत्र त महाशय हजुरभन्दा अग्रज ती कविले लेखेनन् कविता ?
खै त के बुझे ?
के परिवर्तन भयो ?
के पढे ?
कविता अब कविता रहँदैन महाशय
यसको पनि अब लाग्छ संग्रहालय बनाउनुपर्छ
तर आज हेर्नुस् कहाँ छ कविता ?
किन लेख्नु हुन्छ कविता
कवितै बिक्दैन
आफै लगानी गरेर
आफ्नै किताब आफै बेचेर
कति उत्थान गर्नु हुन्छ खै
छाप्न जानुस् त कविता कवितै बिक्दैन भन्छन्
आख्यान लेख्नुहुन्न भन्नुहुन्छ
कथा लेख्नुहुन्न भन्छन्
लेख्यो भने एक पन्नामा सकिन्छ थियो होला
मानु दुई पन्ना हुन्थ्यो होला
तर, त्यही कुरालाई
हेर्नुस् महाशय उपन्यास बनिसक्छ
चक्र पथको बाटो के घुमाउरो होला त्यति बनाइदिन्छ
त्यही नि कविता मात्र लेख्नुहुन्छ ? भन्नुहुन्छ ।
तर के गर्ने महाशय यो कवि तपाईँ कवि
कविता मात्र लेख्न जान्ने पर्नु भयो
तपाईँ व्यापारी पर्नु भएन
बजारमा के चल्छ त्यो बेच्दै हिँड्नलाई ।।