
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जन्म नै रवि लामिछानेको सक्रियताबाट भएको हो । मिडियाबाट आएका, जनताको असन्तोषलाई भाषामा उतार्न सक्ने र परम्परागत दलहरूको सीमित सोचभन्दा परको पात्रका रूपमा उनी उदाए । तर तीन वर्षको अवधिमा रास्वपाको रूपान्तरण हेर्दा स्पष्ट हुन्छ—यो नवोदित दल अहिले पनि रविमाथि लागेका अपराधजन्य आरोपको बचाउमै समय खर्चिरहेको छ । जसले वैकल्पिक राजनीतिलाई अर्थपूर्ण ढंगले अगाडि बढाउन सकेको छैन ।
रास्वपाले ४ मंसिर २०७९ को निर्वाचनमा असाधारण सफलता हात पार्दा जनतामा आशा थियो— अब नयाँ पुस्ताले पुरानो राजनीतिक संस्कार तोड्नेछ । तर सो आशा लामो समय टिक्न पाएन । कारण थियो, पार्टीको सबै निर्णय, प्रचार र ऊर्जा सभापति लामिछानेकै वरिपरि सीमित रहनु । संसद्देखि सडकसम्मका सबै कार्यक्रम उनकै नाममा परिचालित भए । जसरी रास्वपा रवि लामिछानेको वरिपरि घुमिरह्यो, उसैगरी उनीमाथि सार्वजनिक रूपमा प्रश्न घुमिरहे । कतिपय प्रश्न उनको व्यवहारजन्य थियो भने कतिपय आचरणजन्य छन् ।
संसद्को चौथो ठुलो दलका रूपमा उदाएलगत्तै उनी उपप्रधान तथा गृहमन्त्री बने । तर त्यो लामो समय टिक्न पाएन, कारण नागरिकता विवाद । सर्वोच्चको आदेशबाट उनले प्राप्त सबै पद गुमाए । उनको नागरिकतामा प्रक्रियागत त्रुटि थियो, त्यसैले लगत्तैको उपनिर्वाचनबाट उनी भारी मतका साथ संसद्मा फर्किए । नागरिकताभन्दा गम्भीर त्रुटि पासपोर्टमा थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो मुद्दा फिर्ता लिएपछि अर्को मुद्दा आइलाग्यो, सहकारी ठगी । संसदीय छानबिन समितिले नै उनको संलग्नता देखाउँदै अनुसन्धान गर्न निर्देशन दियो । सरकार फेरिनासाथ सहकारी ठगीको आरोपमा उनीविरुद्ध विभिन्न जिल्लामा मुद्दा चले, जसलाई रास्वपाले राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै आएको छ । रास्वपाले देशभर हस्ताक्षर अभियान र सभा ग¥यो । यसले रास्वपालाई तत्कालीक ऊर्जा त दियो तर पार्टीको संस्थागत छवि कमजोर बनायो । जनअपेक्षा थियो, रास्वपाले अब नीति, प्रणाली र सुशासनका मुद्दा उठाओस् । तर पार्टीले त्यसको साटो सभापतिको बचाउमा सारा ध्यान केन्द्रित गर्यो ।
यथार्थमा भने लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जेलमा छन् । यस्तो अवस्थामा पार्टीको अस्तित्व र विश्वसनीयता गम्भीर प्रश्नमा परेको छ । सभापतिको कानुनी अवस्थाले पार्टीको नीति–निर्णय प्रक्रियालाई नै ठप्प पारेको छ । नेता अभावका कारण संगठनात्मक विस्तार र नीति बहस दुवै सुस्त छन् । प्रश्न उठ्छ— के यस्तो संरचनामा रास्वपा पुराना राजनीतिक दलको विकल्प बन्न सक्छ ?
बाहिरिन थाले विकल्प खोज्ने
रास्वपा पुराना राजनीतिक दलहरूको विकल्प बन्न सक्छ र यसका लागि नेतृत्वको समेत विकल्प खोज्नुपर्छ भन्नेहरू पार्टीबाटै बाहिरिन थालेका छन् ।
अर्थात् रास्वपाले जेलमा रहेका सभापतिको वैकल्पिक नेतृत्व खोज्ने प्रयास गरेको देखिँदैन । हालै चितवनमा सम्पन्न विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा स्पष्ट भनिएको छ– ‘पार्टीको नेतृत्व आयात गर्न सकिँदैन ।’ यो कथन पार्टीको आन्तरिक धारणा मात्र होइन, यसको वैचारिक निर्भरता पनि हो । कुलमान घिसिङजस्ता चर्चित व्यक्तित्वलाई ल्याएर नयाँ नेतृत्व बनाउन सकिन्छ कि भन्ने छलफल तत्कालै अस्वीकृत गरियो । यसको अर्थ, रास्वपाले आफैं स्वीकार गरेको छ कि अहिले पनि यसको अस्तित्व र पहिचान लामिछानेकै वरिपरि केन्द्रित छ ।
परिणाममा रास्वपाका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम नै बढेको छ । शुक्रबार मात्रै रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडे ।
यस सन्दर्भमा सामाजिक सञ्जालमार्फत रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भनेका छन्, ‘समस्या छन्, समाधान खोजौं । जानेलाई लगाउने आरोप होइन, छोड्नुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौं ।’
यसअघि रास्वपा केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छाडेकी थिइन् । ‘सन्तोषले दोस्रोपटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त किन छोडिन् ?,’ कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?’
अर्थात् रास्वपामा रविकै विकल्पसमेत खोजिन थालेको छ । विकल्प खोज्नेहरू विस्तारै पाखा लाग्न थालेका छन् ।
यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा नेतृत्व परिवर्तनको विषय बहसमा आएको थियो । तर त्यसले निर्णायक रूप लिन सकेन । परिणाममा नेताहरूले पार्टी छाड्ने क्रम बढेको हो ।
वैचारिक प्रस्टताको खोजी
रास्वपा पुराना दलहरूको विकल्पमा अगाडि देखिन नसक्नुको अर्को कारण हो– वैचारिक प्रस्टता । नेपालको वर्तमान संविधानमा के कस्तो सुधार गर्ने ? प्रदेश संरचना के गर्ने, आगामी राजनीतिक यात्रा कसरी अगाडि बढाउने, आर्थिक नीति के हो ? सामाजिक नीति के हो ? जस्ता प्रश्नमा रास्वपाका प्रतिवेदन मौन रहे । जसले पार्टीलाई वैचारिक प्रस्टता दिएन ।
शुक्रबार मात्रै पार्टी छाडेका नेता सन्तोष परियार पार्टी छाड्नुको कारणमा नेपाली समाजको चरित्रअनुसार पार्टी निर्माण गर्न नसकिएको स्वीकार गर्छन् ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीका रूपमा लिएको छु ।’
रास्वपाको सदस्य भइरहँदा आफूले पार्टी र देशको हितमा इमानदार प्रयत्न गरेको बताउँदै उनी थप्छन्, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’
२३ र २४ भदौको जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिँदा समेत रास्वपा वैचारिक प्रस्टताबिना अगाडि बढ्न सक्ने कुरा स्वाभाविक छैन । यसकारण पुराना र नयाँ राजनीतिक दलमा रहेका हरेक व्यक्तिले आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको छ । नेपाली राजनीतिक आन्दोलनको पुनर्संंरचना, अवधारणाको पुनः परिभाषा र संगठनको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ । बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै बदलिँदो नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई सक्नुपर्छ । किनभने वैकल्पिक राजनीति केवल ‘नयाँ अनुहार’ होइन, त्यो प्रणाली सुधार्ने सोच, सामूहिक नेतृत्व र संस्थागत संस्कारको विकास हो । रास्वपाले सुरुमा त्यही आशा जगाएको थियो तर व्यवहारमा त्यो सम्भावना घट्दै गएको छ । पार्टीले व्यक्तिवादलाई संस्थाभन्दा अगाडि राख्दा नयाँ पुस्ताको उत्साह रास्वपाप्रति घटेको हो ।