
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै सुरु गर्न माग गरेका छन ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षणपत्र दर्ता गाराउँदै उनीहरूले सो माग गरेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने भनिए पनि खड्काको अनुपस्थितिमा पार्टी कार्यालयमा दर्ता गरिएको हो । १५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य रहेको नेता जबराले बताए ।
उनले आफूहरूले कांग्रेसमा यो वा त्यो गुट भनेर नहेरेको बरु कांग्रेसलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताए । कांग्रेसभित्र परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उनले बताए । कांग्रेसले विशेष महाधिवेशन गर्न नहुने उनले बताए । पुसको अन्तिमसम्म विशेष महाधिवेशन गर्नुपर्ने समय रहेपनि मंसिरसम्म नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने उनको भनाइ छ ।
उनले मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न माग गरे । वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने उनले माग गरे ।
हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको गुनासो गर्दै अविलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनुपर्ने, आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने माग नेता जबराको छ ।
उनले अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउने विषय प्राथमिकतामा राख्न माग गरे ।
उनले संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्न पनि माग गरे ।