
काठमाडौं : झन्डै एक वर्षदेखि पार्टीविहिनजस्तै बनेका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल अन्ततः नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
पार्टी हितविपरीत निरन्तर अभिव्यक्ति दिएको भन्दै एमालेबाट निष्कासित रावल आफैं नयाँ दल बनाउने तयारीमा थिए । मातृभूमि जागरण अभियान गठन गरेर सुदूरपश्चिमका जिल्लाजिल्लामा अभियान पनि चलाए । तर एमालेको अन्तरविरोधमा आफूलाई साथ दिएकै नेताहरूले पनि साथ नदिएपछि उनी रोकिएका थिए । बुधबार एमाले केन्द्रीय सदस्य प्रकाशबहादुर शाहसहित रावलको समूह पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपामा समाहित भएको हो ।
दुई पार्टीको एकतापत्रमा हस्ताक्षर गर्दै उनले नेकपाकालीन पार्टी विभाजनलाई स्मरण गरेका छन् । बुधबारको एकताले विछोडको घाउमा मलम लागेझैं भएको उनले बताए । ‘जुनबेला नेकपालाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो’ उनले भने, ‘फर्केर आज तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।’
राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा भने मुख्य नेताहरूको मन्तव्यको केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए । नेकपा संयोजक प्रचण्डले ओलीले हावा कुरा गर्दै हिँडेको टिप्पणी गर्दै एमाले नेताहरू आफ्नो पार्टीमा आउने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेको प्रसंगलाई पनि उनले महत्व दिएर उठाए । ‘‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ प्रचण्डले भने, ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन ।’
आफ्नो पार्टीलाई वृद्धाश्रम भनिएकोप्रति पनि उनको आपत्ति थियो । सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताले ओलीको सातो गएको टिप्पणी गरेका छन् ।
‘पार्टी एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ,’ उनले भने, ‘होसहवास गुमेको हुनुपर्छ । होस गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गर्नुस् ।’
नेकपामा समाहित भएका नेता रावलले पनि एमाले अध्यक्ष ओलीको आलोचनामै धेरै समय खर्चिए । ओलीले एकातर्फ घर फर्क भन्ने अर्कोतर्फ पार्टी छाडेर गए हुन्छ भनेर दोहोरो चरित्र देखाएको उल्लेख गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई पार्टीबाट निस्केर जान दबाब दिइरहेका छन् ।’
ओलीले दुई तिहाईको नेकपाको जम्बो जेट चलाउने वाचा गरेर धोका र गद्दारी गरेको रावलको आरोप थियो । ‘नेकपा विभाजन गर्न विदेशीसँग मिलेर उहाँले सकुनीको भूमिका निर्वाह गर्नुभयो । विभिन्न बहाना बनाएर मलाई समेत धोका दिनुभयो,’ उनले भने । ओलीले सुखानीको जंगलमा सहिदले बगाएको रगतलाई अलकत्रा बनाएको आरोप लगाउँदै अब नेकपाले अलकत्रा पखाल्ने दाबी गरे ।