
काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रवार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । संघका सभापति शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागि गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानको समाधानका लागि आयोगलाई सुझाव दिइएको बताए । उनले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई समेत मतदानमा सहभागि गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताए।
उनले भने, ‘अगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीको कार्यप्रगतिको विषयमा र कसरी बढीभन्दा बढी युवाहरुलाई मतदानमा सहभागि गराउन सकिन्छ र मतदाता नामावलीमा नाम दर्ता गर्द देखिएका समस्याहरुको समाधानका लागि आयोगको ध्यानाकर्षण गराएका छौं । आम चासोको रुपमा देखिएको विदेशी नागरिकहरुलाई कसरी मतदानमा सहभागि गराउने भन्ने विषयमा के भइरहेको छ भनेर त्यसको कार्यप्रगति के भइरहेको छ भन्ने विषयमा बुझेका छौं । स्वच्छ, निष्पक्ष र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्न नेविसंघ सधैं आयोगको साथमा रहेको पनि भनेका छौं ।’
सरकारले अगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।