सिरहा : सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिका–२, बालन खोलाको कासघारी क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलीले ९ बोरा गाँजा (२१९.४ किलोग्राम) बरामद गरेको हो ।
शुक्रबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द राज राईको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, इनर्वा सिरहाको ७ जनाको मोबाइल गस्ती टोलीले उक्त गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एक अधिकारीले भने, “हामी सीमाक्षेत्रलाई लागुऔषध र अवैध तस्करीमुक्त बनाउन दृढ संकल्पका साथ निरन्तर खटिरहेका छौं ।”