२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

राष्ट्र निर्माणमा हातेमालो

shivam cement
मदनकुमार श्रेष्ठ
२०८२ असोज ९ गते १२:२०
राष्ट्र निर्माणमा हातेमालो

जेनजी विद्रोह (२३–२४ भदौ)का क्रममा ज्यान गुमाएका ७४ नागरिकको घरपरिवार र आफन्त गहिरो शोकमा छन् । कैयौं घाइतेहरू अझै पनि अस्पतालमै छन् भने कतिपय डेरा र घरमा । अनि भौतिक संरचना विध्वंशको सिकार भएर खरानी पारिएका छन् । मुलुकलाई यो राष्ट्रिय संकटबाट पार लगाउन बनेको अन्तरिम सरकारले भर्खरै काम सुरु गरेको छ । यस्तो बेला हामी राष्ट्रिय पर्व दशैं मनाउँदै छौं । 

चाडपर्व त्यसै पनि खुसी र उमंग लिएर आउँछ । तर यसपटक नेपाली समुदायको अनुहारमा खुसी र मनमा शान्ति छैन । भर्खरै शान्तिपूर्ण प्रदर्शन भड्किएर काठमाडौंलगायत देशभर फैलिएको हिंसा, आगजनी, तोडफोड र लुटपाटले सबैलाई चिन्तित बनाएको छ । सँगसँगै, राष्ट्रिय राजनीतिमा आएको उथलपुथल र सत्ता उलटफेरले नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ । दशैंतिहारजस्ता चाडपर्वमा हुने पारिवारिक जमघट र भेटघाटमा ती सम्भावनामा पक्कै बहस हुनेछ । हाम्रो शासन व्यवस्थामा आएका बेथिति, विकृति र भ्रष्टाचार, त्यसमा जिम्मेवारी राजनीतिक नेतृत्व, वैकल्पिक शक्ति, नयाँ पुस्ता र आमनागरिकका रूपमा तपाईं हाम्रै भूमिकाबारे पनि विचार–विमर्श हुनेछ । त्यसैले यस वर्षका चाडपर्व एवं सांस्कृतिक जमघट राष्ट्रिय दृष्टिकोण बनाउने ‘डिस्कोर्स–फोरम’ पनि बन्न सक्छन् । 

हामी नेपाली पटकपटक लडेर उठेका छौं । १९९० सालको होस् वा २०७२ सालको महाभूकम्प, हामीले ठुलो भौतिक तथा मानवीय क्षति बेहोर्नुपर्‍यो । तर हामी भत्किएका संरचना ठड्याउँदै हामी उठ्यौं । दशक लामो सशस्त्र द्वन्द्व (२०५२–२०६३) मा पनि हजारौंको ज्यान गयो, भौतिक संरचना ध्वस्त पारिए । द्वन्द्वको त्यो घाउ बिर्सिएर हामी फेरि उठ्यौं । यसपटक युवा पुस्ताको आन्दोलनमा पनि ठुलो मानवीय क्षति बेहोर्नुप‍र्‍यो । राष्ट्रिय सम्पत्ति नष्ट गरियो, निजी क्षेत्रलाई आक्रमणको निशाना बनाइयो र राज्यका संरचना तहसनहस पारिए । घटनामा ज्यान गुमाएका होनाहार युवा नफर्किएलान् तर उनीहरूले देखेको सपना र आन्दोलनको एजेन्डालाई सम्बोधन गर्न सकियो भने ती युवा पनि हाम्रो स्मरणमा सधैं रहनेछन् । यसबेला हामी फेरि एकपटक राष्ट्रलाई उठाउने संकल्प गर्नुपर्छ ।

पक्कै हो, राज्य र मुख्य दलहरूप्रति आमनागरिक असन्तुष्ट थिए । जसका कारण युवा पुस्तामा चरम निराशा थियो । अस्थिर सरकार, चुनावदेखि चुनावसम्मको चक्रब्युहमा फसेको राजनीति, बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीका लागि विमानस्थलमा बढिरहेको लाइन, धोकाधडी र गालीगलौंजमा रमाइरहेको शीर्ष नेताहरूको म्युजिकल चेयरजस्तो बनेको प्रधानमन्त्री पद, बेथिति र भ्रष्टाचारले थिलोथिलो भएको सुशासनले आमनागरिक दिक्क थिए । जेनजी विद्रोहको विस्फोट त्यही असन्तुष्टि र आक्रोशको परिणाम थियो । तर अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । संकटकै बिचमा केही आशालाग्दा अनुहारसहित अन्तरिम सरकार बनेको छ । जेनजी आन्दोलनका मूल एजेन्डा सम्बोधन गर्ने र आउँदो फागुन २१ गते आमचुनाव गर्नुपर्ने यो सरकारको प्रस्ट म्यान्डेट छ । यसले थोरै भए पनि आशाको किरण देखिएको छ ।  

ठुलो धनजनको क्षतिपछि निजी क्षेत्रमा सन्नाटा छाएको छ । अर्थतन्त्रमा थोरै भए पनि सुधार आएको र लगानीको वातावरण बन्दै गएको स्थितिमा पुनः त्यो वातावरण बिग्रिएको छ । तर निजी क्षेत्रका अगुवा उच्च मनोबलका साथ यो स्थितिबाट छिट्टै उठ्ने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघदेखि उद्योग परिसंघजस्ता उद्योगी–व्यवसायीका संगठनहरूले अहिलेको क्षतिबाट उठ्न, लगानीको वातावरण बनाउन र आर्थिक क्षेत्रमा सुधार ल्याउन सरकारको साथ मागेका छन् । प्रधानमन्त्री सुशीला कार्की स्वयंले निजी क्षेत्रको होस्टेमा सरकारले हैंसे गरेर साथ दिने बताइसकेकी छन् । ध्वस्त भएका निजी उद्योग र संरचना निर्माण सामग्रीमा ५० प्रतिशतसम्म कर छुटको घोषणा गरिएको छ । यसले पक्कै पनि निजी क्षेत्रलाई फेरि उठ्न केही राहत पुगेको हुनुपर्छ । 

नेपाली समाजको अर्को विशेषता भनेकै विगतका गल्तीबाट पाठ सिक्ने पनि हो । आपसी सद्भाव, सहिष्णुता र एकतामा विश्वास अर्को विशेषता हो । असोज ३ गते शीतल निवासमा जे देखियो, त्यसले पनि हामी आपसी कटुता र द्वन्द्वबाट छिट्टै एकै ठाउँ उभिन सक्छौं भन्ने देखायो । पुराना दलका शीर्ष नेतादेखि जेनजी अगुवा एकै ठाउँ उभिएर संविधान दिवस मनाए । त्यसको अर्थ, जेजस्ता असन्तुष्टि रहे पनि अहिलेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता देखियो । संविधानमा जेजति संशोधन गर्नुछ, त्यो फागुन २१ मा हुने आमचुनावको जनादेशबाटै हुनेछ भन्ने प्रस्ट रोडम्याप पनि बनेको छ । सोही रोड म्यापअनुसार मुलुकलाई अघि बढाउनुको तत्काल अर्को विकल्प छैन । 

भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । अहिलेको संकटबाट निकास खोज्न अन्तरिम सरकार, दलहरू, आन्दोलनकारी शक्ति र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ । राष्ट्रले नयाँ जनादेशमार्फत राजनीतिक निकास खोज्ने संकल्प गरिसकेको छ । यस्तोमा तोकिएको मितिमै आमचुनाव हुने वातावरण बनाउनु नै देशको भलो चाहने हरेकको दायित्व र जिम्मेवारी हो । दशैं तिहारजस्ता चाडपर्वबाट प्राप्त हुने खुसी, उत्साह र ऊर्जालाई समृद्ध राष्ट्र निर्माणमा लगाऔं । सम्पूर्ण नेपालीजनमा मंगलमय शुभकामना ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise