केही दशकअघिसम्म सभ्य, शान्त र सुरक्षित भनेर चिनिएको नेपाल आज अस्तव्यस्त, असुरक्षित र दिशाविहीन अवस्थामा गुज्रिरहेको छ । यस्तो अवस्था एकै दिनमा सिर्जना भएको होइन । तर प्रश्न उठ्छ– देश यस्तो किन र कसरी बन्यो ? यसका पछाडि कोको थिए ? कुनकुन बाह्य वा आन्तरिक तत्वहरूको हात थियो ? यी प्रश्नहरूको साँचो जवाफ अझै जनतासामु आउन बाँकी छ । सत्य के हो भन्ने कुरा थाहा पाउन केही समय कुर्नुपर्नेछ । यस घटनालाई लिएर बुद्धिजीवी, कानुन व्यवसायी, सबै दलका भ्रातृसंघ तथा तिनका समर्थकहरूले आआफ्ना दृष्टिकोण सार्वजनिक गर्नेछन् ।
कतिपयले ‘जेनजी’ पुस्ताको यो आक्रोशपूर्ण प्रदर्शनलाई विदेशी शक्तिको उक्साहट भने पनि आफूले गरेका कुकृत्यको बचाउ गर्न बौद्धिक र भौतिक शक्ति खर्च गरेका छन् । भ्रष्टाचार, अन्याय, महँगीलगायतका समस्याले प्रताडित नागरिकको नजरबाट हेर्दा यो प्रदर्शन राजनीतिक आडमा हुने आर्थिक शोषण र सम्पूर्ण अन्यायको विरोधमा उठेको स्वाभाविक र इमानदार आवाज थियो । यी दुवै पक्षमा सरकारको नियन्त्रण नहुँदा देशले आजको दिन देख्नुपरेको हो । जेनजी पुस्ता यत्तिको रमाइलोका लागि सडकमा ओर्लिएका होइनन् ।
आजको पुस्ता (जेनजी) न त बेमतलबका विषयमा अल्झिने हो, न खोक्रा आदर्शको पछाडि लाग्ने । उनीहरू सबै निकायहरूबाट तथ्यपरक, परिणाममुखी र मर्यादित व्यवहारको अपेक्षा गर्छन् । उनीहरूलाई खाली आश्वासन, घमण्डपूर्ण अभिव्यक्ति र हेपाहा शैली किमार्थ स्वीकार्य छैन । जन्मदेखि मोबाइल, कम्प्युटर, ल्यापटप र इन्टरनेटसँगै हुर्केका यी युवा प्रविधिको प्रयोगबाट दुनियाँभरका सूचना सजिलै पाउँछन् र त्यसको आधारमा धारणा बनाउँछन् । देशमा भ्रष्टाचार, नातावाद, पदको लिलामी, विदेशी शक्तिप्रतिको अनावश्यक समर्पण र अत्यधिक राजनीतिकरण नै समस्याका जड हुन् भन्ने बुझ्ने युवा पुस्ता आज विद्रोही बनेको हो । शान्तिपूर्ण प्रदर्शनमा सरकारले गोलि चलाउने आदेश दिएपछि, राष्ट्रको भविष्य बोकेको पुस्तामाथि नृशंस हत्या भयो । त्यसपछि देश हिंसा, आगजनी, तोडफोड र अराजकतातर्फ उन्मुख भयो ।
यी प्रदर्शनकारीका माग कुनै नौला थिएनन् । तिनीहरू भ्रष्टाचार नियन्त्रण, सुशासन, दलीय भागबन्डाको अन्त्य, कानुनी जवाफदेहिता जस्ता माग थिए, जुन माग नेपाली जनताले विगतदेखि नै उठाउँदै आएका थिए । यिनै समस्याले दैनिक जीवनमा दुःख भोगिरहेका आमनागरिकका सन्तान, नाति–नातिनीहरू सडकमा ओर्लिएर आवाज उठाए ।
पछिल्लो तीन दशकमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका कार्यकर्ता, आसेपासे र प्रभावशाली भनिने बिचौलियाहरूले राज्यका स्रोत र साधन कब्जा गरेर देशलाई कंगाल बनाएका छन् । राजनीतिक दलभित्र इमानदार, विवेकशील र निःस्वार्थ कार्यकर्ता हराउँदै गएका छन् । आज चाकरी, चापलुसी र अनुशासनविहीन तत्व मौलाएका छन् । यस्तो प्रवृत्तिले नै दलहरूलाई नैतिकताविहीन बनाउँदै लगेको छ ।
भाद्र २३ को प्रदर्शनपछिका घटनाले लेखकलाई प्लेटोको प्रसिद्ध कृति ‘द रिपब्लिका’ को सम्झना दिलाउँछ । प्लेटो भन्छन्– लोकतन्त्रमा भीडको बोलबाला हुन्छ, जसको मान्यता भ्रान्तिपूर्ण हुन्छ । नैतिक मूल्य लोप हुन्छन्, घृणित व्यवहारलाई जागरुकता भनिन्छ, उच्छृंखलता स्वतन्त्रता ठानिन्छ र लाजको कमीलाई साहस मानिन्छ । अर्कोतर्फ, ‘जहाँ कानुन शक्तिहीन हुन्छ र व्यक्तिविशेषको दास बन्छ, त्यस्तो राज्यको पतन अवश्यम्भावी हुन्छ ।’ नेपालमा भएका आन्दोलनहरू २००७, २०३६, २०४६ र २०६२÷६३ ले अपेक्षित सफलता नपाउनुको कारण यही हो कि हामीले । जसको गहिरो विश्लेषण र फलदायी संवाद गर्न सकेनौं ।
२७ घन्टाको पछिल्लो जनप्रदर्शनले मनपरीतन्त्रको प्रतीक सरकारको पतन गरायो । देशले नयाँ अनुहारहरू मन्त्रिपरिषद्मा देखेको छ । यी नयाँ अनुहारहरूबाट जनताले विवेकपूर्ण निर्णय, स्वच्छ आचरण र परिणाममुखी नेतृत्वको अपेक्षा गरेका छन् । जसले देशलाई संकटबाट उकास्न सकून् भन्ने शुभेच्छा व्यक्त गर्न सकिन्छ ।