काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरिएकी अतिरिक्त सचिव डा संगिता मिश्राको नियुक्ति रोकिएको छ ।
उनलाई सिफारिस गरेसँगै सामाजिक सञ्जाल र जेनजी अगुवाहरुले भ्रष्टाचारका आरोपीलाई मन्त्री बनाउन नहुने भन्दै विरोध जनाएका थिए । लगत्तै आइतबार राति नै राष्ट्रपति भवन शीतल निवासमा मन्त्री नियुक्ति रोक्न भन्दै फोन गरिएको थियो ।
डा मिश्रामाथि स्वास्थ्य विभागमा हुँदा गरिएको झन्डै ४ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा अनियमितता गरेको आरोप छ । उनले विभागमार्फत खरिद भएका अधिकांश टेन्डरको स्पेसिफिकेसनमा हेरफेर गरेर निश्चित कम्पनीको स्वार्थमा काम गरेकोभन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जनभन्दा धेरै उजुरी छन् ।
तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा मिश्रालाई विभागको महानिर्देशक बनाएका थिए । तत्कालीन स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशकमा डा. श्रवणकुमार थापा, खरिद शाखा प्रमुखमा डा.सुरेन्द्र चौरासिया र बायोमेडिकल इन्जिनियर आशिष् चौहानसमेत मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको आरोप लागेको छ ।
पछिल्लो समय बरियता मिचेर डा विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरिएको भन्दै उनी लामो समयदेखि विवादमा थिइन् । त्यतिबेलै डा मिश्रालाई सचिव बनाउनुपर्नेभन्दै लबिङ पनि गरिएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जर्बजस्ती गरेरै मिश्राको सट्टामा देवकोटा नियुक्त गराएका थिए । त्यसैले उनीप्रति आमरुपमा सद्भाव रहेको बुझाइ र मन्त्रिपरिषद्लाई समावेशी बनाउने गरी प्रधानमन्त्री कार्कीले मन्त्री सिफारिस गरेकी थिइन् ।