काठमाडौंः बंगलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेंगु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो ।
हालसम्म डेंगुबाट मृत्यु हुनेहरूको कुल सङ्ख्या १७९ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेपछि यस वर्ष डेंगुका कुल सङ्क्रमितहरूको सङ्ख्या ४१ हजार ८३१ पुगेको छ ।
डेंगु रोग मुख्यतः वर्षायाम अर्थात् जुनदेखि सेप्टेम्बरसम्म बंगलादेशमा व्यापक रूपमा फैलिने गर्दछ । मच्छरजन्य रोगहरूका लागि संवेदनशील मानिने यस देशमा यस रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
सरकारले डेंगु नियन्त्रण र रोकथाममा जनचेतना अभिवृद्धि गर्न विशेष पहल गर्ने जनाएको छ । एजेन्सी