–सन्दीप पनेरू
राजनीति कुनै निश्चित उमेर समूहको मात्रै कुरा होइन । समाज परिवर्तनको केन्द्रमा रहेको राजनीति सबै वर्ग र पुस्ताको साझा दायित्व हो । तर, नेपाली सन्दर्भमा राजनीतिमा युवाको सहभागिता भने अझै पनि औपचारिक अवसरभन्दा भावनात्मक प्रयोगमा सीमित देखिन्छ । युवाहरूले परिवर्तनको सपना देख्छन्, नारा दिन्छन् र आन्दोलनमा अग्रसर हुन्छन्, तर निर्णय गर्ने तहमा पुग्न भने उनीहरूलाई अनेकौं अवरोध पार गर्नुपर्छ । त्यसैले आजको आवश्यकताको मूलमन्त्र बनेको छ– राजनीतिमा युवाको सार्थक र निर्णायक सहभागिता ।
नेपालको इतिहास हेर्दा, हरेक ठूला राजनीतिक परिवर्तनमा युवाको भूमिका अग्रणी रहँदै आएको छ । राणा शासनविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलन वा पछिल्ला सडक संघर्षहरूमा समेत युवाहरूले अग्रसर भूमिका खेलेका छन् । तर, विडम्बनापूर्ण पक्ष के छ भने त्यस्ता आन्दोलनपछिका सत्ताहरूमा तिनै युवाहरू निर्णयात्मक भूमिकामा पुग्न सकेनन् । परिवर्तनका लागि युवालाई ढाल बनाउनेहरू परिवर्तनपश्चात् पुराना अनुहारमै केन्द्रित भए । युवा नेतृत्व सिर्जना गर्ने कार्य एक प्रकारको नारामा मात्र सीमित भयो ।
आजको पुस्ता नयाँ सोच, प्रविधिमैत्री व्यवहार, तेज गतिमा निर्णय लिने क्षमता र सिर्जनात्मक सोचले भरिएको छ । तर, तिनै युवालाई पार्टीभित्र भूमिका दिनका सन्दर्भमा पुराना पुस्ता अझै अनिच्छुक देखिन्छन् । कुनै पनि राजनीतिक दलको संरचना हेर्ने हो भने त्यसमा पनि नेतृत्व तहमा युवाको उपस्थिति न्यून नै देखिन्छ । ५० वर्ष नाघेका नेतालाई ‘युवा नेता’ भन्ने चलनले पनि नेपाली राजनीतिमा युवाप्रतिको दृष्टिकोणको स्तर प्रष्ट पार्छ । यस्तो संरचना परिवर्तन नगर्ने हो भने राजनीतिक प्रणाली जनसांख्यिक अनुपातअनुसारको प्रतिनिधित्व गर्न सक्दैन ।
त्यसैले युवालाई मात्र दोष दिन मिल्दैन । कतिपय अवस्थामा युवाहरू आफै पनि राजनीतिलाई ‘फोहोर’ भन्ने भ्रममा फस्छन् । उनीहरू जागिर, पढाइ र विदेश पलायनतिर आकर्षित भइरहन्छन् । फलतः राजनीति केही निश्चित वर्गको कब्जामा सीमित हुन्छ । यस्तो प्रवृत्तिले दीर्घकालीनरूपमा लोकतान्त्रिक अभ्यास र प्रतिनिधिमूलक शासन प्रणालीमै असर पार्न सक्छ । राजनीति परिवर्तनको मूल बाटो हो भन्ने बुझाइ युवामा विकास गर्न जरुरी छ । युवाहरूको राजनीतिमा संलग्नता मात्र पुग्दैन, उनीहरूलाई आवश्यक प्रशिक्षण, अवसर र प्रोत्साहन पनि दिनुपर्छ । विद्यालय र विश्वविद्यालयदेखि नै लोकतन्त्रको व्यवहारिक ज्ञान, नीतिनिर्माण प्रक्रिया, सामाजिक न्याय र नेतृत्व विकासबारे सिकाउन सकिने कार्यक्रमहरू सञ्चालन गरिनु आवश्यक छ । यस्तै, अवसरहरूबाट युवाले राजनीति र जनताबीचको सम्बन्ध बुझ्न सिक्नेछन् । उनीहरूले जिम्मेवार नेतृत्व विकास गर्न सक्नेछन् ।
प्रविधि र सामाजिक सञ्जालको प्रसारसँगै आजको युवा पुस्ता सजग, सचेत र चनाखो छ । उनीहरू राजनीति मात्र होइन, समाजको हरेक क्षेत्रमा परिवर्तन ल्याउन सक्षम छन् । तर त्यसका लागि उनीहरूलाई ‘मौकाको राजनीति’ होइन, ‘मूल्यको राजनीति’ सिकाउनु आवश्यक छ । राजनीतिक पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र विचारको सम्मान कायम नभएसम्म युवा पुस्ताले पनि राजनीति प्रतिको विश्वास गुमाउँछन् ।
आज समय यस्तो छ जहाँ परम्परागत सोचले मात्र देश हाँक्न सकिँदैन । विज्ञान, प्रविधि, जलवायु परिवर्तन, लैङ्गिक समानता, उद्यमशिलता, शिक्षाको आधुनिकरणजस्ता विषयमा सक्रिय संवाद गर्न सक्ने नेतृत्वको खाँचो छ । यस्तो नेतृत्वको आशा अहिलेको युवा पुस्ताबाट गर्न सकिन्छ । उनीहरूलाई संसद् र सरकारसम्म पुर्याउने संरचनात्मक ढोका खोल्न जरुरी छ ।
अहिले पनि धेरैजसो दलहरूमा ‘युवा संगठन’ नामका मातहत निकाय छन्, तर ती संगठनहरू आफैं पुराना अनुहारकै कब्जामा छन् । युवाको नाममा संगठन, तर सञ्चालनमा जेष्ठ नेताहरूको नियन्त्रण– यस्तो विसंगति अन्त्य नगरेसम्म नयाँ नेतृत्वको उदय सम्भव देखिँदैन । युवालाई अवसर दिनु भनेको केवल उमेर हेरेर होइन, सोच, दृष्टिकोण र कार्यशैलीको आधारमा मूल्यांकन गर्नु हो ।
युवा राजनीतिमा आएमा समाज र प्रणालीमा नयाँ ऊर्जा, ताजगी र विश्वास जन्मिन्छ । उनीहरूले आर्थिक विकास, समावेशिता, सामाजिक न्याय र डिजिटल प्रविधिमा आधारित शासन प्रणाली स्थापना गर्न मद्दत गर्छन् । तर, त्यसका लागि राजनीतिमा ‘युवा उमेर’ मात्र होइन, ‘युवा सोच’ पनि आवश्यक पर्छ । केही दलमा नयाँ पुस्ताका नेताहरू देखा पर्न थालेका छन्, जुन आशाको संकेत हो । ती प्रयासहरूलाई संस्थागत बनाउनुपर्ने आवश्यकता छ ।
अन्त्यमा, राजनीतिमा युवा पुस्ताको सहभागिता विकल्प होइन, आवश्यकता हो । यो सहभागिता नारामा सीमित होस् कि नीतिमा, त्यो निर्णायक बनोस् भन्ने अपेक्षा हो । युवाले राजनीति गर्न हिचकिचाउनु हुँदैन र राजनीतिक दलले युवालाई अवसर दिन हिचकिचाउनु हुँदैन । किनभने यही पुस्ताबाट भविष्य निर्माण हुन्छ । सच्चा लोकतन्त्रको जग त्यही बेला बलियो हुन्छ, जब युवा पुस्ताले नेतृत्व गर्न पाउँछ । यस्तो नेतृत्वले मात्रै समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्न सक्छ ।