साउदी अरब : साउदी अरबको राजधानी रियादमा शुक्रवार गायक रोम लामाको एकल सांगीतिक कार्यक्रम २०२५ भव्यताका साथ सम्पन्न भएको छ ।
एक दशकभन्दा बढी समयदेखि साउदी अरबमा बसेर नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै आएका गायक लामाले यस कार्यक्रममार्फत आफ्नो गायन क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी एक सफल गायक मात्र नभई सामाजिक अभियानहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्ने एक सामाजिक अभियन्ता पनि हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा साउदी अरबका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको उपस्थिति थियो । यसका साथै, विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी र समुदायका अग्रज व्यक्तिहरूको पनि उल्लेख्य सहभागिता थियो ।
गायक लामासँगै अन्य कलाकारहरूले पनि कार्यक्रमलाई थप रोचक बनाएका थिए । चर्चित गायक-गायिकाहरू बिज्ञान राई, रविन गिरी, डिबी लामा, रामप्रसाद बस्याल, तेम्बा वाइबा तामाङ, बिबेक केसी र बाँसुरी वादक राज यात्रीले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
त्यसैगरी, रोहन परियार, पूजा लामा, मुस्कान शर्मा, कामना थापा मगर र स्वस्तिका थापा मगरको नृत्यले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्यो ।
कार्यक्रमको सञ्चालन गरेका नगेश तामाङले गायक रोम लामा, आयोजक, दर्शक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा भएका कुनै पनि कमीकमजोरीका लागि क्षमा मागे । यस्ता कार्यक्रमहरूले आगामी दिनमा थप हौसला र प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाली गीत-संगीतलाई प्रवासमा पनि जीवन्त राख्न निरन्तर लागिरहेका गायक लामाको यो प्रस्तुति अत्यन्तै सफल रह्यो ।