२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

कथा : सजिलो छैन युरोप

shivam cement
२०८२ साउन १७ गते ०६:१०
कथा : सजिलो छैन युरोप

–खगेन्द्र पौडेल

पोखराको शान्त र हरियाली बस्तीमा हुर्केको धीरजमा सानैदेखि परदेश जाने सपना थियो । ऊ सधैं बुवाले सुनाएका कथाहरूबाट प्रभावित हुन्थ्यो— जहाँ विदेश गएका युवाहरूको जिन्दगी झिलिमिली बन्थ्यो, घरमा डलर बग्थ्यो र गाउँलेहरूका नजरमा उनीहरू ‘ठुला मान्छे’ भइदिन्थे । ती कथाहरूले उसलाई पनि लोभ्यायो । उसले सोचेको थियो– म पनि जानुपर्छ युरोप, जीवन फेर्नुपर्छ । तर धीरजले अनुमान गर्न सकेन, युरोपको जीवनमा डलरभन्दा अघि पसिना र पीडा आउँछ ।

सुरुमा ऊ काठमाडौं आयो । एक जना चिनजानको साहुका साथमा, जसको काठमाडौंमा म्यानपावर कम्पनी थियो । धीरजसँग धेरै पैसा थिएन तर साहुले काम खोजिदिन्छु भन्दै केही रकम अगाडि मागे । गाउँमा घरको कान्छो छोरा भएकाले आमाले ऋण गरेर पठाइदिइन् । धीरजले सोचेको थियो— अब मेरो भाग्य खुल्छ ।

साहुले भनेजस्तै ऊ युरोपको पोर्चुगल पुग्यो । तर, पोर्चुगलको सुरुवाती जीवन निकै कठिन भयो । उसले सोंचेजस्तो काम पाएन । यद्यपि उसलाई युरोपको कार्ड बनाउन पोर्चुगलमै बस्नुपर्ने बाध्यता थियो । उसले भेटाएसम्मको जे पनि काम गर्‍यो । घरमा लाडप्यारको हुर्किएको धिरज युरोपमा भाँडा माझ्ने, सरसफाइ गर्ने जस्ता काम गर्न थाल्यो । 

थाहै नपाई उसको चारवर्ष पोर्चुगलमा बितेछ । पोर्चुगलको नागरिकता पनि पायो । तर, पोर्चुगलको नागरिकता पाएपछि ऊ अन्य मुलुकतर्फ हिँड्यो । उसको पहिलो रोजाइ थियो, बेल्जियम ।

बेल्जियममा पनि उसले पोर्चुगलको जस्तै काम पायो । यद्यपि, त्यहाँ पनि सजिलो थिएन । मात्रै, केही पैसा बढी हुन्थ्यो । कहिले भाषाको समस्या, अनि कहिले काममा जानकार नहुनुले ऊ निकै हैरानीमा पथ्र्यो ।

तर, संघर्ष त्यत्तिमा मात्र थिएन । अरूको मुलुक, अपमानजनक व्यवहार, श्रममा विभेद, खर्चिलो बसाइँलगायतबाट ऊ निकै आत्तिएको थियो । यता, बेलाबखत कमाएको केही हिस्सा घरमा पनि पठाउनुपथ्र्यो । किनकि ऊ युरोप जाँदा ऋण थपिएको थियो ।

बेलाबेला युरोपमा हुँदा उसलाई सपना झल्झली आउँथ्यो— पोखराको फेवाताल, घाम लाग्ने दिउँसोको माछापुच्छ्रे अनि छेउको चिया पसलमा साथीहरूसँगको गफ । त्यो सम्झना आँखा रसाउने बनाउँथ्यो । तर यथार्थ भने चिसो भान्साको भुइँमा बर्तन माझ्दै, आफ्नै छायासँग गफ गर्ने जिन्दगी थियो ।

धीरज युरोपमा संघर्षरत अन्य नेपालीहरूसँग पनि भेट्थ्यो । कोही निर्माण मजदुर, कोही सफा गर्ने, कोही वृद्धहरू हेरचाह गर्ने काममा थिए । सबैको अनुहारमा एउटै कथा हुन्थ्यो— यहाँ रमाइलो छैन, काम मात्र छ तर फर्कन पनि सक्दैनौं किनभने आँखाले देखाइसकेको सपना त्याग्न सकिन्न ।

त्यहीबीच, धीरजले एक जना नेपाली युवती सुष्मासँग चिनजान ग¥यो । उनी डेनमार्कमा नर्सिङ पढ्दै थिइन् । फेसबुकबाट सुरु भएको संवाद भेटघाटसम्म पुग्यो । जीवनमा पहिलोचोटि उसले सोचेको थियो— अब केही स्थायित्व आउनेछ । तर युरोपको प्रेम पनि सजिलो थिएन । दूरी, कागजी समस्या अनि भविष्यको अनिश्चितताले त्यो सम्बन्धलाई पनि असहज बनायो । अन्ततः उनीहरू छुट्टिए ।

बेल्जियमको बाक्लो जाडो, कठ्यांग्र्रिने हात, चर्किएको छाला तर पनि उसले हिम्मत हारेन । उसले सोचेको थियो— गरे के हुन्न ? यत्रो टाढा आउन सक्यो भने, अझै केही गर्न सकिन्छ ।

एक दिन उसले गाउँबाट फोन पायो— बुबाको स्वास्थ्य निकै बिग्रिएको छ । त्यो खबरले ऊ चिप्लिएको भुइँबाट तल खस्यो । त्यही दिन उसले पहिलोचोटि आफैंसँग सोध्यो, मैले के पाएको छु ? न त घर बनाउने पैसा थियो, न त जिन्दगीको स्पष्ट योजना । फगत केही सय युरो, थाकेका हड्डी र ओइलाउँदै गएको उमेर ।

तर, फर्कन पनि सक्दैनथ्यो किनभने यथार्थ यस्तो थियो— नेपाल फर्किएपछि ‘विदेश घुमेर आएको’ धीरजले गर्ने काम गाउँमा सीमित हुन्थ्यो, नजर फेरिए पनि जिन्दगी फेरिन सक्दैनथ्यो ।

समयले उसलाई विस्तारै परिवर्तन ग¥यो । अब ऊ पहिलेजस्तो हतारिएर बोल्दैनथ्यो, रमाइलो कुरा हुँदा पनि हाँसोको आवाज गहिरो हुन्थ्यो— मानौं उसको हाँसोले पनि थकाइ लुकाइरहेको होस् । तर, त्यसबीचमा उसले नयाँ एउटा सिप सिक्यो— टाइल्स राख्ने काम । त्यो कामले केही स्थायित्व ल्यायो । उसले केही युरो बचाउन थाल्यो अनि भाइलाई नेपालमै व्यापार गर्न पठायो ।

धीरजका लागि युरोप अब सपना मात्र थिएन, त्यो उसको दोस्रो जीवन बनेको थियो— जहाँ प्रत्येक दिन जिन्दगी जिउनु काम हो अनि आस गर्नु, कुनै दिन आफ्नै घरमा, आफ्नै देशमा, शान्ति पाएला भन्ने ।

तर कहिलेकाहीँ, राति अबेर काम सकेर कोठामा फर्किंदा, ऊ अझै फेवातालको पानी सम्झन्छ । अनि एक्लै भन्छ— सजिलो छैन युरोप तर फर्किन पनि सजिलो छैन ।

ADV

सम्बन्धित खबर

Advertise