२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

कर्णालीमा एक महिनामा दुई लाख बढी बिरुवा रोपियो

shivam cement
प्रदीप मगर
२०८२ साउन १७ गते १४:५०
कर्णालीमा एक महिनामा दुई लाख बढी बिरुवा रोपियो

सल्यान : कर्णाली प्रदेशमा एक महिनाको अवधिमा दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ । असार १४ गतेदेखि साउन १५ गतेसम्म सञ्चालित सगरमाथा वृक्षारोपण महाअभियानअन्तर्गत १२७.९२८ हेक्टर क्षेत्रफलमा २ लाख ४ हजार ६८४ गोटा विभिन्न जातका विरुवा रोपिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखा प्रमुख महेश नेपालीका अनुसार महाअभियानमा सल्यानमा ४८ हजार ३ सय, कालिकोटमा २७ हजार २ सय, डोल्पामा १ हजार ६१६, दैलेखमा १६ हजार १६०, हुम्लामा ५ सय ७६, जाजरकोटमा २८ हजार ४३२, सुर्खेतमा ३६ हजार ३२०, जुम्लामा ३८ हजार ८०, रुकुम पश्चिममा ६ हजार ४सय र मुगुमा १ हजार ६ सय वटा बिरुवा रोपिएको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले वृक्षारोपणभन्दा बढी आवश्यक विषय संरक्षण रहेको बताए । उनले भने, “हरेक वर्ष वृक्षारोपण कार्य गरिन्छ, तर रोपिएका विरुवा संरक्षण गरेर हुर्काउनु अझै महत्वपूर्ण छ ।”

सल्यान खलंगास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा पार्कमा वृक्षारोपण सहित आयोजीत अभियानको समापन कार्यक्रममा मन्त्री अधिकारीले समुदायको सक्रिय सहभागिता बिना वन क्षेत्रको दीगो संरक्षण सम्भव नहुने उल्लेख गर्दै भने, “राजनीतिक, आर्थिक र सामाजिक क्रान्ति सम्पन्न भइसकेका छन्, अब हामीलाई चाहिएको हो- हरित क्रान्ति ।” उनले सम्पूर्ण राजनीतिक दल, स्थानीय तह र नागरिक समाजलाई हरित क्रान्तिमा सहभागी हुन आग्रह गरे ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले वृक्षारोपणलाई आय आर्जनमा जोड्ने गरी सञ्चालन गरिनुपर्ने बताए ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार वृक्षारोपण महाअभियान सकिए पनि जिल्लामा वृक्षारोपण कार्यलाई निरन्तरता दिइनेछ । उनले सामुदायिक र राष्ट्रिय वन क्षेत्रलाई लक्ष्य गरी वृक्षारोपण कार्य अघि बढाइने जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise