२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

सर्पको भय : बर्सेनि एक सयले गुमाउँछन् ज्यान

shivam cement
प्रदीप मगर
२०८२ साउन १८ गते ०६:३५
सर्पको भय : बर्सेनि एक सयले गुमाउँछन् ज्यान

सल्यान : गर्मीका कारण सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पदंशका बिरामी बढेपछि अस्पतालमा समेत चाप पर्न थालेको छ । 

पछिल्लो समय जिल्ला अस्पताल सल्यानमा दैनिक तीन जनादेखि पाँच जनासम्म सर्पदंशका बिरामी आउने गरेको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जीवन पुनले जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचारका लागि पुग्नेमध्ये कुनै गम्भीर प्रकृतिका समेत रहेका हुन्छन् । 

जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने गरेको चिकित्सकहरू बताउँछन् । जिल्ला अस्पताल सल्यानका आकस्मिक विभाग प्रमुख पुनका अनुसार अस्पतालमा प्राय हरियो सर्प, गोमन र करेत, आदी सर्पको टोकाइपछि उपचारका लागि पुग्ने गरेका छन् । 

अस्पताल आएका बिरामीमध्ये केही अस्पतालमा भर्ना गरेर उपचार आवश्यक पर्ने अवस्थामा हुन्छन् । उनी भन्छन्, ‘केही महिनादेखि अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । अस्पतालमा आएका केही बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौं ।’

अस्पतालमा आउने अधिकांश बिरामी जिल्लाभित्रका आउने गरेको उनले बताए । उनले थपे, ‘धेरै जसो जिल्ला भित्रका बढी बिरामी आउने गर्छन् ।’

सल्यानमा गत आर्थिक वर्ष २०८०/८१ मा ४७ जना महिला, २२ जना पुरुष घाईते भएका थिए ।  १ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष २०८१/०८२ मा १० जना महिला र ११ जना पुरुष गरी २१ जना घाईते भएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल ९ हजार १२० जनालाई सर्पले टोकेको थियो । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार नेपालमा वार्षिक करिब सय जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको छ । 

जिल्ला अस्पताल सल्यानका डा. बुद्धिनाथ शाह सर्पले डसेका बिरामीका लागि आवश्यक खोप जिल्ला अस्पतालसहित अन्य सामुदायिक अस्पतालहरूमा उपलब्ध रहेको बताउँछन् । उनी जडिबुटी वा धामीझाँक्रीमा भर नपरी बिरामीलाई सकेसम्म चाँडो अस्पताल ल्याउन अभिभावकहरूलाई आग्रह गर्छन । किनकि ढिलाइका कारण ज्यानसमेत गुम्ने जोखिम रहन्छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्री पनि गाउँघरमा अझै पनि धेरैले जडिबुटी तथा धामीझाँक्रीको भर पर्ने र ढिलासुस्तीका कारण गम्भीर अवस्था सिर्जना हुने गरेको बताउँछन् । यस्ता परम्परागत विधिबाट टाढा रहन र चाँडै अस्पताल जान उनको सुझाव छ । 

चिकित्सकहरूका अनुसार विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुन्निने, घाउ हुने, घाउ पाकेर चिलाउनेजस्ता सामान्य समस्या देखिन्छ । जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरका अनुसार विषालु सर्प पनि दुई प्रकारका हुन्छन् । एउटा रगत पातलो बनाउने र अर्को नसा र मांसपेशीमा असर गर्ने सर्प हुने डा. बुढाले बताए । सल्यान अस्पतालमा भर्ना भएका सर्पदंशका बिरामीमा रगत जम्ने समस्या देखिने गरेको डा. बुढाले बताए । घरेलु उपचार गरी बिरामी ढिलागरी अस्पताल पुग्ने उनको भनाइ छ । अस्पतालमा भाइपर सर्पले टोकेर रगत पातलो हुने, टोकेको ठाउँमा सुन्निने, रातो हुने, रगत बग्ने, दुख्नेजस्ता लक्षण देखिने गर्छ ।

गोमन र करेत सर्पले टोकेकोमा स्नायु प्रणाली असर पारी सुरुवाती चरणमा वान्ता हुने वाकवाकी लाग्ने, अचेत अवस्था हुँदै जाने, बिस्तारै आँखाको परेली माथि हेर्न नसक्ने, श्वासप्रश्वास बन्द हुनेजस्ता लक्षण लिएर सर्पदंशका बिरामी आउने गरेको डा. बुढाको भनाइ छ ।

चिकित्सकहरूका अनुसार सर्पले खतरा महसुस गरेपछि मात्र प्रतिरक्षा गर्ने गर्दछ । सर्पलाई नचलाएर टाढै बसेमा टोक्दैन । तर खाना खोज्न बाहिर निस्कँदा छोइएमा आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्दा टोक्ने गर्दछ । 

ADV

सम्बन्धित खबर

Advertise