काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी, बिचौलिया र सिन्डिकेट नियन्त्रणका लागि पनि सरकारले कडा कदम चालेको उल्लेख गरे । उनले श्रम तथा रोजगार क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई मन्त्रालयले विशेष प्राथमिकता दिएको पनि बताए ।
हालै ‘श्रम संसार’ एप सार्वजनिक भइसकेको भन्दै मन्त्री भण्डारीले उक्त एपलाई वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धारमा सहज हुने गरी विस्तार गरिएको जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सीप, पुँजी र ज्ञानलाई देशको उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रयोग गर्नेगरी पुनःएकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै मन्त्री भण्डारीले आगामी वर्षदेखि सबै स्थानीय तहबाट सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।
मन्त्री भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने विषयलाई अभियानका रूपमा सञ्चालन गरिने पनि बताए । स्वदेशमा रोजगारी सिर्जना गर्ने कार्यलाई आगामी दशकका लागि अभियानका रूपमा अघि बढाइने भन्दै मन्त्री भण्डारीले रोजगारी र यसको व्यवस्थापन बहुआयामिक विषय भएको बताए ।
उनले आन्तरिक रोजगारीको अवसर सिर्जनामा मन्त्रालय कटिबद्ध रहेको र सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । ‘यो मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्नेविषय पनि हो,’ उनले भने, ‘विकासको परिभाषा केबल भौतिक पूर्वाधारमा सीमित रहेको छैन ।’
मन्त्री भण्डारीले मानव विकास, रोजगारी तथा सामाजिक सुरक्षालाई समेत विकासको अभिन्न अंगका रूपमा लिनुपर्ने बताए । मन्त्रालयले मुलुकको ठूलो बेरोजगार जनसंख्यालाई लक्षित गर्दै गरिबी निवारणमा प्रत्यक्ष प्रभाव पार्ने रोजगारी सिर्जना योजनालाई प्राथमिकता दिएको उनले बताए ।
मन्त्री भण्डारीले मन्त्रालयमा आन्तरिक रोजगार व्यवस्थापन महाशाखा स्थापना भइसकेको बताउँदै आगामी दिनमा वैदेशिक रोजगारीका साथै स्वदेशमा रोजगारी सिर्जना र व्यवस्थापनमा केन्द्रित रहने जानकारी दिए । नीतिगत व्यवस्था तथा कार्ययोजना निर्माण गरेर तीनवटै तहका सरकार र विकास साझेदारलाई साथमा लिएर रोजगार पारिस्थितिक चक्र (इकोसिस्टम) निर्माण गर्ने प्रयास थालिएको उनले उल्लेख गरे ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक मौसमी कामदारका रूपमा भारत जानुपर्ने बाध्यतालाई कम गर्न राष्ट्रिय रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत अल्पकालीन रोजगारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए । श्रम व्यक्तिको पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीपले श्रमिकको उत्पादकत्व वृद्धि र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने धारणा राखे ।