२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र शुरु

G Motors
मध्यान्ह
२०८१ कार्तिक १३ गते ११:३२
नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र शुरु

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका-३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ । 

बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे । ट्रयाक खोलिएको करिब २० वर्षपछि शुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे ।

“अहिले विदुर-८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ”, उनले भने, “बाँकी रहने थप छ किमीसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।”

गत जेठ १८ गते भएको सम्झौता अनुसार चार किमी सडक विस्तारका लागि रु. १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

बहु वर्षीय ठेक्का भएकाले चालु आवमा रु. आठ करोड बजेट विनियोजन भएको छ भने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्‍याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए ।

‘राईसिं-हर्कपुर-गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजार भन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

हाल उक्त कच्ची सडकमा यात्रु बाहेक  सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँ गाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्‍याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise