२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

राप्ती सोनारीमा वर्षाले धानबालीमा क्षति

मध्यान्ह
२०८१ असोज २० गते १५:०९
राप्ती सोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके : राप्ती सोनारी गाउँपालिकामा गए राति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावाहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी-३ की बजारी थारुले बताए । “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भने । 

करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुसी व्यक्त गरे । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिए । 

राप्ती सोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पाइन्थ्यो कि ? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?”, उनले प्रश्न गरे । 

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरे । राप्तीसोनारी-३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए । वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण संकलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर