काठमाडौँ : अदालतको अवहेलना ठहर भएर जेल गएका सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । असोज १३ गते जेल चलान भएका ढुंगाना र कँडेलले माफी मागेपछि थुनामुक्त भएका हुन् ।
'सिधा कुरा' डटकममा 'डार्क फाइल' भनेर प्रसारण-प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो । 'फेक अडियो' बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन-प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई ३-३ महिना कैद सजाय सुनाएको थियो ।
लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरे तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेलले लिखित माफी मागेर थुनामुक्त भएका हुन् ।