काठमाडौं : नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।
पोखरेलले सरकारका सबै सम्बन्धित निकायहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालयहरू र निकायहरूको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक रहेको बताएका छन् ।
एमालेको पार्टी पंक्ति उद्वार तथा राहतको काममा तत्परताका जुट्ने जानकारी दिँदै उनले पार्टी कमिटीहरू, जनप्रतिनिधिहरू र जनवर्गीय संगठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गरेका छन् । उनले अन्य राजनीतिक दलहरूलाई पनि उद्वार कार्यमा परिचालित हुन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारका सबै सम्बन्धित अंगहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालयहरू र निकायहरूको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान पुर्याउन सरकारसँग विशेष आग्रह छ । हाम्रो पार्टी – नेकपा ( एमाले) का पार्टी कमिटीहरू, जनप्रतिन्धिहरू र जनवर्गीय संगठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्दछु ।’
आम नागरिकहरूमा आफ्नो आवतजावतमा समेत विशेष सतर्कता अपनाउन अनुरोध उनले आग्रह गरेका छन् । विपदमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनले बेपत्ताहरूको अविलम्ब खोजी कार्य गर्न, घाइतेहरूको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।