२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

छोरीको खोजीमा अमेरिकामा दुई वर्ष (भिडियो) 

Nada
२०८३ मंसिर ३ गते ११:३५
Shares
छोरीको खोजीमा अमेरिकामा दुई वर्ष (भिडियो) 

काभ्रेकी गीता काफ्लेको जीवनमा छोरी ममता काफ्लेसँगको कुराकानी एउटा नियमित दिनचर्याजस्तै थियो । अमेरिका पुगेकी छोरीसँग नेपालको समयअनुसार बिहान र बेलुका भिडियो कल हुन्थ्यो । कहिले घरपरिवारका कुरा हुन्थे, कहिले कामका, कहिले नातिनीका । हजारौँ किलोमिटरको दूरी भए पनि आमाछोरीबीचको सम्बन्ध मोबाइलको स्क्रिनले नजिकै बनाउँथ्यो । 

ममता अमेरिकामा नर्स थिइन् । आफ्नो पेसा, परिवार र भविष्य बनाउने क्रममा थिइन् । उनी श्रीमान् नरेश भट्ट र सानी छोरी नीमासँग अमेरिकाको भर्जिनियामा बस्दै आएकी थिइन् । आमाका लागि छोरी विदेशमा थिइन्, तर टाढा थिइनन् । दिनमा दुईपटक हुने कुराकानीले त्यो दूरीलाई बिर्साइदिन्थ्यो ।

तर सन् २०२४ जुलाई २९ पछि त्यो नियमित संवाद एकाएक रोकियो ।

त्यो दिन भएको भिडियो कुराकानी नै आमाछोरीबीचको अन्तिम संवाद बन्न पुग्यो । भोलिपल्ट फोन आएन । त्यसपछि पनि आएन । गीता आफैँले फोन गरिन् । मेसेन्जरमा सम्पर्क गर्ने प्रयास गरिन् । तर छोरीसँग कुरा हुन सकेन ।

सुरुमा उनले कामको व्यस्तताले होला भन्ने सोचिन् । तर दिन बित्दै जाँदा चिन्ता बढ्दै गयो । नियमित कुरा गर्ने छोरी यसरी एकाएक सम्पर्कविहीन भएपछि उनले अत्तालिँदै ज्वाइँ नरेशलाई सम्पर्क गरिन् । नरेशले ममता घरबाट निस्किएको र फर्केर नआएको बताएका थिए । उनी कतै साथीहरूसँग गएको हुन सक्ने भनेका थिए । 

तर आमाको मनले त्यो कुरा मानेन ।

काममा जाँदा पनि फोन गर्न नछाड्ने छोरीले आफूलाई खबरै नगरी कतै गएको उनलाई पत्यारै लागेन । अझ सानी छोरीलाई छाडेर ममता यसरी हराउने कुरा उनले सोच्नै सकिनन् ।

दिन बित्दै गए । तर, छोरीको कुनै खबर आएन । उनले नेपालमा बसेर छोरीको खबर पर्खिन सकिनन् ।  छोरी कहाँ छिन्, कस्तो अवस्थामा छिन् भन्ने केही थाहा नपाएपछि उनले आफैँ अमेरिका जाने निर्णय गरिन् ।

यो सामान्य विदेश यात्रा थिएन । गाउँले परिवेशमा रहेकी गीतालाई न अंग्रेजी भाषा आउँथ्यो, न अमेरिकाको कानुनी प्रक्रिया थाहा थियो । अपरिचित देशमा पुगेर कहाँ जाने, कसलाई भेट्ने र कसरी छोरी खोज्ने भन्ने पनि उनलाई थाहा थिएन ।

तर छोरीको चिन्ताले यी सबै कठिनाइलाई सानो बनाइदिएको थियो । 

उनी जेठो छोरा महेश काफ्लेलाई लिएर अमेरिका पुगिन् । छोरी बसेको भर्जिनियाको मनासस पार्क क्षेत्रबाट उनीहरूले खोजी सुरु गरे ।

गीताका लागि अमेरिका नयाँ थियो । मानिसहरूको भाषा बुझ्न कठिन थियो । प्रहरीसँग कुरा गर्न दोभाषेको सहयोग चाहिन्थ्यो । कानुनी प्रक्रिया बुझ्न पनि अरूको भर पर्नुपथ्र्यो । तर उनले छोरी खोज्ने प्रयास छाडिनन् ।

छोरीको साथी को होलान् ? उनी कहाँ गइन् ? अस्पतालमा केही खबर छ कि ? प्रहरीलाई केही थाहा छ कि ? यस्तै प्रश्नको उत्तर खोज्दै उनी दिन बिताइरहेकी थिइन् ।

छोरीको खोजीमा अमेरिका पुगेकी गीता अन्ततः अदालतमा पनि पुगिन् । त्यहाँ उनले दोभाषेमार्फत आफ्नो कुरा राखिन् । 

उनको भनाइको सार एउटै थियो– मेरी छोरी हराएकी छिन् । म उनलाई खोज्न यहाँ आएकी हुँ ।

अमेरिकामा दुई वर्षभन्दा बढी बस्नुको एउटै उद्देश्य थियो, छोरीको सत्य पत्ता लगाउनु ।

ममता सम्पर्कविहीन भएपछि परिवार र साथीहरूसँग भएका कुराकानीले उनको वैवाहिक जीवन सहज नरहेको तथ्य विस्तारै बाहिर ल्यायो ।

ममता र नरेशको विवाह सन् २०२० डिसेम्बरमा भएको थियो । विवाहपछि उनी अमेरिका पुगेकी थिइन् । नर्सिङ पेसामा काम गर्दै आफ्नो भविष्य बनाइरहेकी थिइन् । सन् २०२३ अगस्टमा छोरी नीमा जन्मिइन् । तर घरभित्रको सम्बन्धमा समस्या बढ्दै गएको रहेछ ।

ममताका साथीहरूले अदालतमा दिएको बयानअनुसार उनले श्रीमान्बाट दुव्र्यवहार भोगिरहेको बताएकी थिइन् । एकपटक अनुहारमा चोट लागेको तस्बिर पनि साथीलाई देखाएकी थिइन् । सम्बन्धमा तनाव बढेपछि उनी केही समय साथीको घरमा बसेकी थिइन् ।

भाइ महेशलाई पनि बहिनीले आफू सुरक्षित नभएको बताएकी थिइन् । सन् २०२४ फेब्रुअरीमा उनले अनुहारमा चोट देखिने तस्बिर पठाउँदै सुरक्षित राखिदिन आग्रह गरेकी थिइन् ।

फेब्रुअरी १४ मा ममताले नरेशले आफ्ना परिचयपत्रसम्बन्धी कागजात नियन्त्रणमा लिएको भन्दै प्रहरीलाई समेत सम्पर्क गरेकी थिइन् । त्यही दिन उनले आफ्नै नाममा बैंक खाता पनि खोलेकी थिइन् ।

यी विवरण अदालतमा सुनिँदै गर्दा परिवारले ममताको जीवनमा लुकेका पीडाबारे थप कुरा थाहा पायो । 

ममता नियमित काममा नआएपछि उनका सहकर्मीले खोजी गर्न थालेका थिए । अस्पतालमा उनी अनुपस्थित भएपछि कार्यस्थलका मानिसले प्रहरीलाई खबर गरे ।

प्रहरीले अगस्ट २ मा ममता बसेको घरमा पुगेर सोधपुछ गरेको थियो । नरेशले उनीहरूबीच सम्बन्धविच्छेदको कुरा चलिरहेको र ममता कतै गएको हुन सक्ने बताएका थिए । अगस्ट ५ मा उनले औपचारिक रूपमा ममता हराएको जानकारी प्रहरीलाई दिए ।

तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीको शंका नरेशतर्फ केन्द्रित हुँदै गयो ।

अगस्ट २१ मा घरमा गरिएको खानतलासी र त्यसपछि प्राप्त भएका फरेन्सिक प्रमाणले अनुसन्धानलाई नयाँ मोड दियो । घरको शयनकक्ष र बाथरुममा रगतका सम्भावित दाग भेटिए । अनुसन्धानकर्ताले घरभित्रका प्रमाण, विद्युतीय विवरण र निगरानी क्यामेराका दृश्यको अध्ययन गरे ।

नरेश अगस्ट २२ मा पक्राउ परे । सुरुमा शव लुकाएको अभियोग लगाइयो । अनुसन्धान अघि बढ्दै जाँदा प्रथम श्रेणीको हत्या र शवको अपमान गरेको अभियोग पनि थपियो । तर ममताको शव भने फेला परेन ।

यता गीता र महेशका लागि हरेक दिन नयाँ खबरको प्रतीक्षा थियो । कहिले प्रहरीको खबर आउँथ्यो, कहिले अनुसन्धानको प्रगति बुझ्नुपर्ने हुन्थ्यो । कहिले अदालतको सुनुवाइको प्रतीक्षा गर्नुपथ्र्यो ।

छोरी भेटिने आशा क्रमशः कमजोर हुँदै गइरहेको थियो । तर सत्य थाहा नपाई नेपाल फर्कन उनीहरूलाई सम्भव थिएन ।

सन् २०२६ अक्टोबर ५ बाट नरेशविरुद्धको मुद्दाको सुनुवाइ सुरु भयो । करिब छ सातासम्म चलेको सुनुवाइमा दर्जनौँ साक्षी र प्रमाण प्रस्तुत गरिए ।

ममताका साथी, सहकर्मी, अनुसन्धानकर्ता र परिवारका सदस्य अदालतमा उपस्थित भए ।

त्यही क्रममा गीता काफ्लेको पनि बयान लिने पालो आयो ।

उनले दोभाषेमार्फत अदालतमा आफ्नो कुरा राखिन् । ममता कसरी हुर्किइन्, कसरी पढिन्, कसरी विवाह गरेर अमेरिका पुगिन् भन्ने कुरा सुनाइन् । त्यसपछि आमाछोरीबीचको नियमित सम्पर्कबारे बताइन् ।

बिहान र बेलुका हुने भिडियो कल उनका लागि कति महत्वपूर्ण थियो भन्ने कुरा पनि उनले सुनाइन् ।

जुलाई २९ को अन्तिम भिडियो कलपछि छोरीसँग सम्पर्क हुन नसकेको उनले बताइन् । छोरी आफूलाई नभनी कतै जाने स्वभावकी नभएको उनको भनाइ थियो । उनले छोरीले आफूलाई कहिल्यै आत्महत्याबारे कुरा नगरेको पनि बताइन् ।

अदालतमा बयान दिइरहँदा उनको परिचय ममताकी आमा भन्नेमा मात्र सीमित थिएन । उनी दुई वर्षअघि छोरीको खोजीमा अमेरिका पुगेकी एउटी आमा थिइन् । छोरीको अवस्था पत्ता लगाउन प्रहरी र अदालतका ढोका ढकढक्याइरहेकी आमा ।

उनको बयानले मुद्दामा एउटा महत्वपूर्ण मानवीय पक्ष थप्यो । छोरी हराएको दिनदेखि अदालतसम्म आइपुग्दाको उनको प्रतीक्षा र पीडा त्यहाँ सुनियो ।

महेशले पनि अदालतमा बहिनीबारे बयान दिए । बहिनीले आफू असुरक्षित भएको बताएको, चोट लागेको तस्बिर पठाएको र सम्बन्धमा समस्या रहेको कुरा उनले सुनाए ।
परिवारका लागि यो कानुनी लडाइँ मात्र थिएन । दुई वर्षदेखि मनमा थुप्रिएका प्रश्नको उत्तर खोज्ने प्रयास पनि थियो ।

मुद्दाको सुनुवाइका क्रममा नरेश भट्ट आफैँ पनि अदालतमा साक्षीका रूपमा उभिए ।

उनले जुलाई ३०, २०२४ मा ममता शयनकक्षको भुइँमा अचेत अवस्थामा भेटिएको र आफूले बचाउने प्रयास गर्दा पनि नसकेको दाबी गरे । आफू डराएको र दोषी ठहरिने भयले प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो ।

उनले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरे । तर हत्या गरेको आरोप अस्वीकार गर्दै ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरे ।
यो दाबीलाई अभियोजन पक्षले अस्वीकार ग¥यो ।

अभियोजन पक्षले ममताको रगतसँग मेल खाने डीएनए पावर समा भेटिएको, घरको कार्पेटमा रगतका प्रमाण रहेको, फोहोरका झोला र सरसफाइका सामग्री किनेको दृश्य तथा फोन र गाडीको विवरण प्रस्तुत ग¥यो ।

ममताको शव फेला नपरे पनि यी प्रमाणको शृङ्खलाले हत्या भएको पुष्टि गर्ने अभियोजन पक्षको तर्क थियो ।

अन्ततः नोभेम्बर १० मा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर ग¥यो ।

दुई वर्षभन्दा लामो प्रतीक्षापछि आएको फैसलाले परिवारलाई न्यायको एउटा महत्वपूर्ण अनुभूति दिलायो ।

भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । शवसम्बन्धी अन्य दुई अभियोगमा थप सजाय हुन सक्ने व्यवस्था छ । आगामी सन् २०२७ मार्च १२ मा सजाय निर्धारणको सुनुवाइ तय भएको छ ।

तर त्यो क्षणमा पनि आमाको हात खाली नै थियो ।

छोरीको मृत्युको सत्य अदालतले स्थापित गरिदियो । तर छोरी कहाँ छिन् भन्ने प्रश्नको उत्तर परिवारले पाएको छैन ।

ममता हराउँदा उनकी छोरी नीमा एक वर्ष पुग्न लागेकी थिइन् । अहिले उनी तीन वर्षकी भइसकेकी छन् ।

जुन उमेरमा बालबालिकाले आमाको काख खोज्छन्, त्यही उमेरमा निमा आमाविहीन भएर हुर्किरहेकी छन् । अहिले उनको हेरचाह हजुरआमा गीता र मामा महेशसहित परिवारका सदस्यले गरिरहेका छन् ।

ममताले आफ्नी छोरीका लागि देखेका सपना अब परिवारको जिम्मेवारी बनेका छन् । उनको शिक्षा, स्वास्थ्य, पालनपोषण र सुरक्षित भविष्यका लागि परिवारले प्रयास गरिरहेको छ । ममताको स्मृतिमा स्थापित सहयोग कोषमार्फत पनि बालिकाको भविष्यका लागि सहयोग जुटाउने पहल भइरहेको छ ।

छोरीको खोजीमा अमेरिका पुगेकी एउटी आमाले न्याय त पाइन्, तर छोरीलाई अन्तिम बिदाइ गर्न पाएकी छैनन् ।
 


laxmi recruitement

सम्बन्धित खबर