२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

क्षणिक लाभको चक्र

नेपाली समाजमा तत्काल परिणाम खोज्ने प्रवृत्तिले दीर्घकालीन योजना र विकासको निरन्तरता कमजोर बनाएको छ । यो समस्या सरकार वा नेतृत्वको मात्र होइन, हाम्रो सामाजिक संस्कार र आर्थिक सोचको पनि हो । अब पाँच महिनाको उपलब्धिभन्दा पाँच दशकपछिको भविष्य सोच्ने समय आएको छ ।  

Nada
निरन्जन राजभण्डारी
२०८३ मंसिर ३ गते ०९:२८
Shares
क्षणिक लाभको चक्र

नेपाली समाजमा एउटा प्रवृत्ति निकै खड्किन्छ– हामी हरेक कुराको परिणाम तत्काल खोज्छौं । सरकारको योजना होस्, गाउँको विकास, व्यवसाय वा कृषि, सबैमा छोटो अवधिको उपलब्धिलाई बढी महत्त्व दिइन्छ । आजै परिणाम चाहिन्छ, भोलि नै नाफा चाहिन्छ र तत्कालै परिवर्तन देखिनुपर्छ । तर १०, २० वा ५० वर्षपछि हाम्रो समाज, गाउँ, व्यवसाय र देश कस्तो हुने भन्ने सोच र योजना कति छ ?

सरकार परिवर्तनसँगै योजना र प्राथमिकता फेरिन्छन् । गाउँको नेतृत्व बदलिँदा विकासका प्राथमिकता बदलिन्छन् । व्यवसायमा आजको नाफालाई महत्तव दिइन्छ, तर त्यसलाई आगामी पुस्ताले कसरी निरन्तरता दिने भन्ने सोच कम देखिन्छ । हामी पाँच वर्षपछिको भविष्य सोच्नुभन्दा पाँच महिनाभित्र देखाउन सकिने परिणाममा बढी केन्द्रित छौं ।

आखिर किन यस्तो भइरहेको छ ? दोष कसको हो ? के हाम्रो शिक्षा प्रणालीले दीर्घकालीन सोच विकास गर्न सकेन ? के हाम्रो सामाजिक संस्कार तत्काल परिणाम खोज्ने खालको बन्यो ? वा पुस्तौंसम्म टिक्ने संरचना र संस्था निर्माण गर्न आवश्यक धैर्य हामीमा भएन ?
यो समस्या सरकार वा राजनीतिक नेतृत्वमा मात्र सीमित छैन । सरकारमा पुग्नेहरू पनि यही समाजबाट आएका हुन् । त्यसैले दीर्घकालीन सोचको अभाव राज्य सञ्चालनमा मात्र होइन, हाम्रो सामाजिक चिन्तन र व्यवहारमै छ । यसको जरो शिक्षा प्रणाली, सामाजिक संस्कार, राजनीतिक अभ्यास र आर्थिक सोचमा खोज्नुपर्छ ।

हामीमा तत्काल परिणाम खोज्ने प्रवृत्ति बलियो छ । व्यवसाय सुरु गर्दा छिटो नाफा चाहिन्छ । कृषि गर्दा एकै वर्षमा उत्पादन र आम्दानी खोजिन्छ । राजनीतिमा अर्को चुनावअघि नै उपलब्धि देखाउनुपर्ने दबाब हुन्छ । तर दीर्घकालीन उपलब्धिका लागि तत्कालको लाभभन्दा भविष्यको सम्भावनालाई प्राथमिकता दिन सक्ने धैर्य कम देखिन्छ । विकासका कतिपय कामको परिणाम आउन बर्सौं लाग्छ भन्ने यथार्थ हामीले स्वीकार गर्न सकेका छैनौं ।
हाम्रो शिक्षा प्रणालीले परीक्षा, प्रमाणपत्र र रोजगारीका लागि जनशक्ति तयार गर्नुलाई बढी प्राथमिकता दिएको छ । तर भविष्यको योजना कसरी बनाउने, स्रोतको व्यवस्थापन कसरी गर्ने, जोखिमको मूल्यांकन कसरी गर्ने र पुस्तौंसम्म टिक्ने संरचना कसरी निर्माण गर्ने भन्ने व्यावहारिक सोच विकास गराउने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । शिक्षा व्यक्तिगत सफलता हासिल गर्ने माध्यम मात्र होइन, समाज र राष्ट्रको भविष्य निर्माण गर्ने आधार पनि हो ।

राजनीतिक नेतृत्व र योजनाको निरन्तरतामा देखिएको समस्या अर्को प्रमुख कारण हो । एउटा सरकारले सुरु गरेको योजना अर्को सरकारले निरन्तरता दिन्छ कि दिँदैन भन्ने अनिश्चितता छ । सरकार फेरिँदा प्राथमिकता बदलिने र अघिल्लो नेतृत्वका योजनालाई स्वामित्व नलिने प्रवृत्तिले दीर्घकालीन विकासलाई कमजोर बनाउँछ । विकासका योजना कुनै दल वा नेताका निजी उपलब्धि होइनन्, राज्यका साझा प्रतिबद्धता हुन् भन्ने मान्यता स्थापित हुन सकेको छैन ।

त्यस्तै, समाज र व्यवसायमा पुस्तान्तरणको सोच पनि कमजोर छ । हामी आफूले कति कमाउने, कति बनाउने र कति उपभोग गर्ने भन्नेमा बढी केन्द्रित छौं । आफूले सुरु गरेको काम आगामी पुस्ताले कसरी अघि बढाउने, आफूले बनाएको संरचनाले उनीहरूलाई के लाभ दिन्छ र आफूपछि समाजलाई के छाडेर जाने भन्ने प्रश्नमा पर्याप्त ध्यान दिँदैनौं । कुनै पनि व्यवसाय, संस्था वा सामाजिक अभियानको सफलता त्यसको संस्थापकसँगै समाप्त नहुनुमा हुन्छ ।
यो हाम्रो हावापानी वा भौगोलिक अवस्थाको मात्र समस्या होइन । हामीजस्तै चुनौती भएका देशहरूले पनि पुस्तौंसम्मका पूर्वाधार, कृषि, उद्योग र सहरी विकासका योजना बनाएका छन् । त्यसका लागि स्पष्ट दृष्टिकोण, बलिया संस्था, सक्षम नेतृत्व र योजनालाई निरन्तरता दिने राजनीतिक तथा सामाजिक संस्कार आवश्यक हुन्छ ।

विकासको गति मात्र पर्याप्त हुँदैन, त्यसको दिशा र निरन्तरता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । आजको पुस्ताले बनाउने योजना आजकै पुस्ताका लागि मात्र हुनु हुँदैन । त्यसले भोलिका पुस्तालाई अवसर, सम्भावना र बलियो आधार दिन सक्नुपर्छ । देश निर्माण भनेको पाँच वर्षको उपलब्धि वा एउटा कार्यकालको सफलता होइन, पुस्तौंसम्म हस्तान्तरण गर्न सकिने भविष्य निर्माण गर्नु हो ।

हामी आफ्नो जीवनकालमा कति कमाउने र कति बनाउने भन्ने सोचिरहेका छौं । तर हामीपछि आउने पुस्ताका लागि के छाडेर जाने ? यो प्रश्न व्यक्ति, समाज, व्यवसाय र राजनीतिक नेतृत्व सबैले आफैंलाई सोध्नुपर्छ ।

त्यसैले अबको बहस सरकार वा सत्ता परिवर्तनमा मात्र सीमित हुनु हुँदैन । बदल्नुपर्ने हाम्रो सोच, प्राथमिकता र संस्कार हो । तत्काल परिणाम खोज्ने प्रवृत्तिबाट बाहिर निस्केर दीर्घकालीन योजना बनाउने, त्यसलाई निरन्तरता दिने र भविष्यका पुस्ताप्रति जिम्मेवार हुने संस्कार विकास गर्न सके मात्र दिगो विकास सम्भव हुन्छ । हामीलाई पाँच महिनाको उपलब्धि होइन, पुस्तौंसम्म टिक्ने भविष्य निर्माण गर्ने सोच चाहिएको छ ।

(लेखक युवा व्यवसायी हुन् ।) 

laxmi recruitement

सम्बन्धित खबर