२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

एमालेको स्वीकार,  जनतासँग संवाद टुट्दा पराजय

१४ सांगठनिक समस्या पहिचान, स्थानीय चुनाव जित्न १३ रणनीतिक प्रस्ताव

Nada
२०८३ मंसिर ३ गते ०८:१२
Shares
एमालेको स्वीकार,  जनतासँग संवाद टुट्दा पराजय

काठमाडौं : नेकपा एमालेले जनतासँगको संवाद टुट्नु, बदलिएको जनमनोविज्ञान बुझ्न नसक्नु र सांगठनिक गतिविधि औपचारिकतामा सीमित हुनुलाई पार्टी कमजोर हुनुका मुख्य कारण औंल्याएको छ । विगतका अभियानले जनतासँगको सम्बन्ध विस्तार गर्न नसकेको स्वीकार गर्दै एमालेले स्थानीय निर्वाचनमा जनाधार फर्काउन संगठन सुधारदेखि उम्मेदवार छनोटसम्मका रणनीति अघि सारेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आफ्नो प्रतिवेदनमा वडाकेन्द्रित अभियान, जरा अभियान र ग्रासरुट अभियान सञ्चालन भए पनि ती अभियानमा जनतासँगको संवाद निकै कम भएको उल्लेख गरेका छन् । ‘जबसम्म हामी जनतासँग संवाद गर्न सक्दैनौं, तबसम्म जनआधार फिर्ता गर्न सकिँदैन । जनतामा नजाने, हामी बलिया छौं र बलियो हुन्छौं भनेर मात्र पार्टी बलियो हुन सक्दैन,’ पोखरेलले प्रतिवेदनमा भनेका छन्, ‘पार्टी बलियो बनाउने हो भने जनतामा जानैपर्छ, संवाद गर्नैपर्छ, समस्याको पहिचान र समाधानको नेतृत्व गर्नैपर्छ ।’

उनले विगतका अभियानमा जनताको बदलिएको मनोविज्ञान बुझ्न नसकिएको स्वीकार गरेका छन् । गत निर्वाचनमा अगुवा नेताहरूले २०७९ को भन्दा राम्रो नतिजा आउने केन्द्रमा रिपोर्टिङ गरिएको उल्लेख गर्दै उनले भने, ‘ती सम्झिँदा अहिले मजाकजस्तो लाग्छ ।’ 

महासचिव पोखरेलले एक ढंगले सोचिरहेको जनतालाई अर्कै ढंगले बुझ्ने काम गरेको टिप्पणी पनि गरेका छन् । ‘हाम्रो जनतासँगको संवाद टुटिसकेको रहेछ । हाम्रा अभियान गतिविधि फगत औपचारिकता र देखावाका रूपमा हुन थालेका रहेछन्,’ उनले भनेका छन् ।

गुटबन्दी र निष्क्रियता मुख्य समस्या
पोखरेलको प्रतिवेदनमा एमालेका १४ सांगठनिक समस्या पहिचान गरिएको छ । जनतासँगको सम्बन्ध कमजोर हुनु, युवाका मुद्दामा पर्याप्त संवाद नहुनु, सूचना तथा सञ्चार प्रणाली कमजोर हुनु र डिजिटल माध्यममा प्रभावकारी उपस्थिति नहुनुलाई उनले प्रमुख समस्याका रूपमा औंल्याएका छन् ।

त्यस्तै, कमिटीको जिम्मेवारी स्पष्ट नहुनु, माथिल्लो तहबाट अनावश्यक हस्तक्षेप हुनु, कमिटीहरू ठुलो तर निष्क्रिय बन्नु र नेतृत्व तथा अवसर बाँडफाँटमा निष्पक्षता नहुनुलाई पनि उनले कमजोरी मानेका छन् । आन्तरिक लोकतन्त्र कमजोर हुनु, आलोचना र आत्मालोचनालाई सहज रूपमा लिन नसक्नु, गुटबन्दी र अनुशासनहीनता बढ्नु तथा निर्वाचनमा अन्तर्घात हुने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उनको निष्कर्ष छ । उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस र जनस्वीकार्यतालाई बेवास्ता गर्नु, जनप्रतिनिधिको जवाफदेहिता कमजोर हुनु, जनसंगठन प्रभावकारी नहुनु र नयाँ सामाजिक तथा आर्थिक मुद्दामा वैचारिक हस्तक्षेप गर्न नसक्नुलाई पनि उनले समस्याका रूपमा उल्लेख गरेका छन् ।

उम्मेदवार छनोटमा जनमत लिने 
स्थानीय निर्वाचन जित्न पोखरेलले उम्मेदवार छनोट प्रक्रियालाई विशेष महत्त्व दिएका छन् । निर्वाचनको पर्याप्त समयअघि नै सम्भावित उम्मेदवार पहिचान गरी उनीहरूको जनसम्पर्क, प्रतिष्ठा, क्षमता र स्वीकार्यताको मूल्यांकन गर्नुपर्ने उनको प्रस्ताव छ ।

पार्टीप्रतिको निष्ठा, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि, स्थानीय मुद्दाको ज्ञान र जनस्वीकार्यतालाई उम्मेदवार छनोटको मुख्य मापदण्ड बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

वडा, पालिका र जिल्ला कमिटीको सिफारिसलाई प्राथमिकता दिँदै आन्तरिक सर्वेक्षण र कार्यकर्ता परामर्शबाट उम्मेदवार टुंग्याउनुपर्ने पोखरेलको सुझाव छ । पहुँच, आर्थिक लेनदेन र गुटगत प्रभावका आधारमा उम्मेदवार चयन गर्ने तथा अन्तिम समयमा मनोमानी ढंगले निर्णय बदल्ने प्रवृत्ति रोक्नुपर्ने उनले बताएका छन् ।

स्थानीय निर्वाचनको तयारीका लागि टोलदेखि केन्द्रसम्म संगठन परिचालन, सदस्य तथा मतदाताको अभिलेख अद्यावधिक र स्थानीय राजनीतिक अवस्थाको विश्लेषण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । जनमत सर्वेक्षण, घरदैलो अभियान र स्थानीय आवश्यकता तथा समस्यामा आधारित घोषणापत्र निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

त्यस्तै, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहमा निर्वाचन परिचालन समिति गठन गर्ने तथा पालिका र वडा तहमा निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गरिएको छ । डिजिटल प्रचार, गलत सूचनाको प्रतिवाद, विपक्षी दलको कामको तथ्यपरक समीक्षा, सुरक्षा तथा कानुनी सहयोग, मतदान प्रतिनिधि परिचालन र मतगणनाको तयारीलाई पनि १३ रणनीतिमा समेटिएको छ ।

पोखरेलले संगठनका निष्क्रिय कमिटी सक्रिय बनाउने, सदस्यता अभिलेख व्यवस्थित गर्ने, नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटमा सुधार गर्ने तथा पार्टीका गतिविधिलाई जनताको वास्तविक समस्यासँग जोड्नुपर्ने बताएका छन् ।

एमालेले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई आगामी निर्वाचनमा जनाधार फर्काउने आधार मानेको छ । प्रतिवेदनले कमजोरी स्वीकार गर्दै सुधारका उपाय प्रस्ताव गरे पनि ती व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्नेले नै पार्टीको चुनावी सम्भावना तय गर्नेछ ।

कार्यकर्तालाई फेरि उठ्ने सन्देश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि उठ्ने विश्वास दिलाउँदै सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् । देशभरबाट आएका तीन हजार पाँच सयभन्दा बढी नेता–कार्यकर्ताको भेलामा उनले निर्वाचनको धक्काबाट निरास नहुन आग्रह गर्दै एमाले फेरि राष्ट्रिय राजनीतिको नेतृत्वमा फर्कने दाबी गरे । ‘कतिले एमाले मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान्,’ ओलीले भने, ‘हेर्दाहेर्दै एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’
विगतमा पनि एमालेलाई कमजोर बनाउने प्रयास असफल भएको उल्लेख गर्दै उनले पार्टी देशको भविष्य भएको बताए । जेनजी आन्दोलनपछिको प्रतिकूल वातावरणमा निर्वाचन गराइएको र त्यसले एमालेलाई क्षति पुगेको उनको विश्लेषण थियो ।

सम्बोधनको अधिकांश समय ओलीले सरकारका गतिविधि र आफूहरूमाथि भइरहेको भनिएको प्रतिशोधको आलोचनामा खर्चिए । जेनजी आन्दोलन दमनको आरोपमा भएको गिरफ्तारीलाई उनले राजनीतिक प्रतिशोधको संज्ञा दिए । सरकारले पुनः गिरफ्तारीको प्रयास गरे लाखौं कार्यकर्ता सडकमा उतार्ने चेतावनीसमेत दिए । ‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ,’ उनले भने ।

नवनियुक्त प्रहरी महानिरीक्षकले आफू, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने अभिव्यक्ति दिएको ओलीको दाबी थियो । उनले प्रहरी नेतृत्वको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजनीतिक नेताहरूलाई मजाकको पात्र नबनाउन चेतावनी दिए । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर