
काठमाडौँ : जापानमा मस्तिष्कघात भएर ६ महिनादेखि उपचाररत २२ वर्षीया विष्णु कुँवर स्वदेश फर्किएकी छन् । आर्थिक अभावका कारण जापानमा उपचार निरन्तरता दिन कठिन भएपछि उनलाई नेपाल ल्याइएको हो । अहिले काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा उनको निःशुल्क उपचार सुरु गरिएको छ ।
नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा विष्णुलाई सोमबार नेपाल ल्याइएको हो । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रतिबद्धता शर्माले जनाएका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी विष्णुलाई लिन डा. शर्मा विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए । विमानस्थलबाट उनलाई सिधै सिनामंगलस्थित केएमसी शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार विष्णुको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाइएको छ । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा निःशुल्क उपलब्ध गराइने डा. शर्माले बताएका छन् । अस्पतालबाट डिस्चार्ज नहुँदासम्म लाग्ने सम्पूर्ण खर्चसमेत आफूले व्यहोर्ने उनको भनाइ छ ।
नेपाल आइपुगेपछि विष्णुले आफू कहाँ रहेको भन्दै डा. शर्मालाई प्रश्न गरेकी थिइन् । जवाफमा शर्माले उनी आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको बताएपछि विष्णु भावुक बनेकी थिइन् ।
रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनको उपचार सुरु गरिए पनि आर्थिक समस्याका कारण उपचारलाई निरन्तरता दिन र स्वदेश फर्किनसमेत कठिन भएको थियो ।
डा. शर्मा केएमसी र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न छन् । उनले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ ।