
काठमाडौं : बैंक तथा वित्तिय संस्थामा रहेको लगानी योग्य रकम थप्रिदै गइरहको छ । लगानीकर्ताले सस्तो ब्याजदर हुदाँ समेत ऋण लिन आउनेको संख्या कम हुदाँ अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले कात्तिकमा भन्दा मसिंरको लागि ब्याजदर घटाएका हुन् । बैंकमा लगानीयोग्य रकम थुप्रिदै गएको छ तर कर्जा प्रवाह सुस्त हुदाँ बैंकले व्याजदर घटाइरहेका छन् । पछिल्लो समय बैंकका निक्षेप बढ्ने तर कर्जाको माग नहुदाँ बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् ।
मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गर्दा बैंक व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल आएको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दुले घटेर ३.९०६ प्रतिशतमा झरेको हो । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट ०.०१२५ प्रतिशतविन्दुले घटेर २.९९०५ प्रतिशतमा झरेको छ । मंसिर महिनामा ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाए भने १४ वटा बैंकले कात्तिककै दर नै राखेका छन् ।
पछिल्लो समय स्थिर सरकार बनेपछि लगानीको वातावरण बन्न नसक्दा कर्जा प्रवाहको गति निकै नै सुस्त भएको व्यवसायी बताउछन् । कर्जा लिएर लगानी र उद्यमशिलताको बिकासमा भइरहेको छैन । केही वर्ष अघिसम्म एकल अंकको ब्याजदर माग गर्दै अर्थमन्त्रालय र राष्ट्र बैंक पुग्ने निजि क्षेत्र अहिले कर्जा लिन नै खोजिरहेका छैनन् । अर्थविद् डा. चन्द्रमणी अधिकारीका अनुसार सरकारले लगानीकर्ताको मनोवल उठाउन नसक्दा त्यसको असर अर्थतन्त्रमा देखिदै गएको बताउछन् । उनले भने ‘बैंक तथा बित्तिय संस्थासंग भएको रकम बजारमा आउने वातावरण नबसेसम्म आर्थिक गतिविधी समेत बढ्दैन् । आर्थिक गतिविधी नबढे लगानी गर्न कसैले खोज्दैन । लगानी गर्ने अहिले डराइरहेको अवस्थाले समेत कर्जा प्रवाहको गति नबढ्दै बैंकले समेत ब्याजदर मै घटाउन तर्फ लागिरहेको देखिन्छ ।’
वाणिज्य बैकहरुले सबै भन्दा धेरै माछापुच्छ्रे बैंकले १ प्रतिशत व्यक्तिगत मुद्दती निक्षेपमा कटौती गरेको छ । माछापुच्छ्रे बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशतमा झारेको छ । यस्तै कृषि विकास बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेकोमा मंसिरमा ०.५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत राखेको छ ।
मंसिरको लागि लक्ष्मी सनराइज बैंकले ३.७५ प्रतिशत, कुमारी बैंकले ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
सानिमा बैंकले सबै भन्दा बढी ४.५ प्रतिशत ब्याजदर राखेको । प्रभु, नेपाल ४.२५ प्रतिशत, हिमालयन ४ प्रतिशत , एनआईसी एसिया ४ प्रतिशत , राष्ट्रिय वाणिज्य ४ प्रतिशत, नेपाल एसबिआई ४ प्रतिशत , प्राइम कमर्सियल ४ प्रतिशत र ग्लोबल आइएमई बैंक ४ प्रतिशत ब्याजदर नै स्थिर राखेका छन् । अधिक तरलताका कारण बैंकहरुले निक्षेपको ब्याजदर समेत घटाइरहेका छन् । तीन वर्ष अघि बैक तथा बित्तिय संस्थामा निक्षेपको औसत ब्याजदर दोहोरो अंक रहेको थियो ।