
पर्सा : पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आवश्यक जनशक्तिको अभाव हुँदा सेवा प्रभावित बनेको छ । विशेषगरी अनमीको कमीका कारण नियमित रूपमा सेवा सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरूले सास्ती भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार स्वास्थ्य चौकीमा विगत दुई वर्षदेखि एक मात्र अनमी कार्यरत रहेकाले बर्थिङ सेन्टर कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ । कर्मचारी अभावका कारण महिनामा करिब २० दिनसम्म सेवा अवरुद्ध हुने गरेको उनीहरूको भनाइ छ । सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थामा २४ सै घण्टा बर्थिङ सेवा सञ्चालन गर्न निर्देशन दिए पनि लंगडीमा भने सो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
सेवा अवरुद्ध हुँदा यस क्षेत्रका गर्भवती महिलाहरू प्रसूति गराउन वीरगञ्जलगायत टाढाका अस्पताल जान बाध्य छन् । यसले आर्थिक तथा स्वास्थ्य दुवै दृष्टिले जोखिम बढाएको स्थानीयको भनाइ छ ।
स्वास्थ्य चौकी प्रमुख जयन्त पटेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त बर्थिङ सेन्टरमा १७ जना शिशुको जन्म भएको छ । 'म २०८१/८२ मा यहाँ आएको थिएँ, त्यो वर्ष ४७ जना महिलाले सुरक्षित प्रसूति गराएका थिए,' उनले भने, 'तर अहिले जनशक्ति अभावकै कारण सेवा प्रभावित भएको छ ।'

उनका अनुसार पहिले स्वास्थ्य चौकीमा २ जना अहेब र ३ जना अनमी कार्यरत थिए । पर्याप्त जनशक्ति हुँदा सेवा प्रवाह प्रभावकारी थियो । तर गाउँपालिकाले एकै पटक १५ जना करारका स्वास्थ्यकर्मी हटाएपछि अहिले सेवा सञ्चालनमा समस्या देखिएको छ ।
लंगडी बर्थिङ सेन्टरको कार्यक्षेत्र ठुलो रहेकाले कम्तीमा ३ देखि ४ जना अनमी आवश्यक पर्ने भए पनि हाल एक जनामात्र हुँदा नियमित सेवा दिन कठिन भइरहेको छ ।
जनशक्ति अभावको विषयमा गाउँपालिका अध्यक्ष मदन चौहान, प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडा र स्वास्थ्य प्रमुख केबिन्द्र यादवलाई पटक-पटक जानकारी गराउँदा पनि हालसम्म ठोस पहल नभएको स्वास्थ्य चौकीले जनाएको छ ।