२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैन : सरकार

Nada
२०८३ साउन १९ गते १६:२२
Shares
सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैन : सरकार

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव नरहेको दाबी गरेकी छन् ।

ncell

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् । उनले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन् ।

उनले स्वास्थ्य सेवा विभागको मंगलबारको तथ्यांकअनुसार केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी उक्त परिमाणमा एन्टिभेनम उपलब्ध रहेको बताइन् ।

उनकाअनुसार हाल मौज्दात रहेको १ हजार २ सय ६० भायल एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिव ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ ।

मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक १३ हजार २ सय भायल एन्टिस्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् ।

उनले तत्काल एन्टिभेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन् । उनले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गरिन् ।

मन्त्री मेहताले रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्तिको समेत समस्या नरहेको बताइन् । उनले हाल स्वास्थ्य विभागले २ लाख ७४ हजार भायल एमआरभि खरिदका सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताइन् ।

उनले १ लाख ९० लाख एमआरभि गत हप्ता आपूर्ति भइसकेको जानकारी दिइन् । उनले देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

ताजा खबर

सम्बन्धित खबर