२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अपराध नियन्त्रणमा रुकुम पश्चिम प्रहरी : २०० मुद्दा दर्ता, ७८ फरार प्रतिवादी पक्राउ

Nada
प्रचण्ड खत्री
२०८३ साउन १७ गते १३:४८
Shares
अपराध नियन्त्रणमा रुकुम पश्चिम प्रहरी : २०० मुद्दा दर्ता, ७८ फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिम : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका गतिविधि तथा अपराधसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यालयले अपराध दर्ता, फैसला कार्यान्वयन, लागुऔषध नियन्त्रण, घरेलु हिंसा, ठाडो उजुरीलगायतका विषयमा विवरण सार्वजनिक गरेको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा कुल २०० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ११७ वटा मुद्दाको किनारा लागिसकेको छ भने ८३ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन् ।

अपराधको प्रकृतिअनुसार सामान्य तथा गम्भीर अपराधका ४१ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २३ वटा र अन्य १४९ वटा मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा चालु मुद्दाका १०१ जना प्रतिवादी पक्राउ परेका छन् । यस्तै फैसला कार्यान्वयनतर्फ ७८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ८ महिना ४ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा १ लाख ६० हजार ४ सय ५० रुपैयाँ १६ पैसा राजस्व संकलन गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी झकेन्द्र परियारले जानकारी दिए ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा ८ वटा मुद्दा दर्ता भई १७ जना पक्राउ परेका छन् । यस अवधिमा प्रहरीले १३ दशमलव ०६० ग्राम ब्राउन सुगर, २९.८४ ग्राम चरेस, १० केजी १६० ग्राम गाँजा, १ केजी अफिम तथा २१० वटा ट्याब्लेट बरामद गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयले एक वर्षको कार्यप्रगति विवरण पनि सार्वजनिक गरेको थियो। कार्यालयका अनुसार आर्थिक वर्षभर घरेलु हिंसासम्बन्धी ५९ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २६ वटा मिलापत्र गराइएको छ भने १३ वटा सम्बन्धित अन्य निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी कार्यालयमा १७८ वटा ठाडो उजुरी परेको र ती सबै उजुरीको आवश्यक कानुनी प्रक्रिया तथा किनारा लगाइसकिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सम्बन्धित खबर