२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

कतारबाट शव बनेर फर्किइन् सिर्जना, परिवारको खुसी खोस्यो क्यान्सरले

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन १० गते १६:३७
Shares
कतारबाट शव बनेर फर्किइन् सिर्जना, परिवारको खुसी खोस्यो क्यान्सरले

दोहा, कतार : घरपरिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर आफ्ना दुई सन्तान र श्रीमानलाई नेपालमै छोडेर वैदेशिक रोजगारीका लागि कतार आएकी ललितपुरकी सिर्जना डंगोल शव बनेर आफ्नै आँगन फर्किएकी छन् । परदेशमा कमाइ गरेर परिवारको दुःख टार्ने उनको सपना स्तन (ब्रेस्ट) क्यान्सरका कारण बीचमै अधुरो रह्यो ।

करिब १७ महिनाअघि कतारको एक निजी स्वास्थ्य संस्थामा रोजगारीका लागि आएकी सिर्जनाको जुलाई ७ मा दोहास्थित हमाद अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कतार आएको करिब एक वर्षपछि उनलाई स्तन क्यान्सर भएको पुष्टि भएको थियो । त्यसपछि उनले सरकारी हमाद अस्पतालमा नियमित उपचार सुरु गरेकी थिइन् । रोगसँग जुध्ने क्रममा उनले चार चरणसम्मको जटिल केमोथेरापीसमेत गराइन् । उपचारका सबै प्रयास भए पनि अन्ततः उनले जीवनको लडाइँ हारिन् ।

सिर्जना बिरामी परेदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारले उपचार, समन्वय तथा आवश्यक सहयोगमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको थियो । सिर्जनाको पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया सम्पन्न गर्न पनि एनसिसी कतारका उपाध्यक्ष तथा श्रम विभाग संयोजक सन्तोष पौडेलले सहजीकरण गरेका हुन् । शनिबार राति शव पठाउन एनसिसीकै उपाध्यक्ष टोकल लामा, रोशन अर्याल र प्रवक्ता दर्शन सुनार सहित मृतकका आफन्त लगायतका प्रतिनिधिहरू हमाद अस्पताल पुगेर शव बुझ्ने तथा नेपाल पठाउने प्रक्रियामा सहभागी भएका थिए ।

कानुनी प्रक्रिया पूरा भएपछि सिर्जनाको पार्थिव शरीर कतार एयरवेजमार्फत उनका श्रीमान् दिनेश डंगोलले नेपाल लिएर गएका छन् । श्रीमतीको निधनको खबर पाएपछि दिनेश नेपालबाट कतार आएका थिए । आफ्नो जीवनसाथीलाई सकुशल घर फर्काउने आशा बोकेर होइन, उनको निर्जीव शरीर लिएर स्वदेश फर्किनुपरेको त्यो क्षण कुनै पनि श्रीमानका लागि कल्पनाभन्दा बाहिरको पीडा रहेको उनले बताए ।  मृतक सिर्जनाका दुई छोरा नेपालमै रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यस दुःखद् घटनापछि एनसिसी कतारले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली श्रमिकलाई आफ्नो श्रम स्वीकृति, स्वास्थ्य बिमा तथा अन्य अत्यावश्यक कागजात समयमै नवीकरण गरी अद्यावधिक राख्न विशेष आग्रह गरेको छ । परदेशमा जुनसुकै बेला गम्भीर स्वास्थ्य समस्या वा अन्य आकस्मिक अवस्था आउन सक्ने भएकाले यस्ता कागजात अद्यावधिक हुँदा उपचार, बिमा दाबी, कानुनी प्रक्रिया तथा उद्धार कार्य छिटो, सहज र प्रभावकारी हुने गर्दछ ।

विदेशमा रहँदा कुनै पनि प्रकारको समस्या, दुर्घटना वा आकस्मिक अवस्थाको सामना गर्नुपरेमा एनआरएनए एनसिसी कतार तथा सम्बन्धित जिल्ला संस्थाहरूसँग समयमै समन्वय गर्न एनसीसीका अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका छन्। समयमै जानकारी र समन्वय भए कानुनी प्रक्रिया छिटो पूरा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सहज हुने उनको भनाइ छ।

ताजा खबर

सम्बन्धित खबर