
काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले कामदारको नयाँ मागपत्र प्रमाणीकरणका लागि पेस हुने कागजात कडाइका साथ हेर्ने जनाएको छ । दूतावासमा मागपत्र प्रमाणीकरणका लागि आउने रोजगारदाताले नेपाली श्रमिकको पासपोर्टको अवस्था, बैंकमार्फत तलब भुक्तानी भएको पे–स्लिप, साप्ताहिक बिदाको पालना, आवास प्रमाणीकरण तथा नेपालस्थित म्यानपावर एजेन्सीलाई सेवाशुल्क तिरेको प्रमाणलगायतका विषय अनिवार्य रूपमा स्पष्ट गरेपछि मात्र मागपत्र प्रमाणीकरण गरी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
नेपाली दूतावास मलेसियाका काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालले मलेसियामा कार्यरत करिब ७५ हजार नेपाली सुरक्षागार्डले वर्षौंदेखि श्रम शोषण भोग्दै आएको गुनासो व्यापक भएपछि त्यसमा सुधार गर्न कडाइ गर्नुपरेको मध्यान्ह दैनिकलाई बताए । उनले सुरक्षागार्ड र अन्य सबै क्षेत्रका मागपत्र प्रमाणीकरणमा दूतावासको मापदण्ड एउटै रहेको पनि बताए ।
नेपालमा विभिन्न तहमा चर्को लगानी गरेर मलेसिया गएका सुरक्षागार्डले महिनाको ३० दिन दैनिक १२ घण्टा काम गर्दा पनि सोअनुसारको तलब नपाउने अवस्था रहेकाले नेपाली दूतावासमाथि सुरक्षागार्डको समस्या समाधान गर्न मुख्य दबाब रहेको छ ।
काउन्सिलर (श्रम) भुसालले दूतावासले कडाइ गर्न सुरु गरेपछि दूतावासमा उपस्थित हुने रोजगारदाताले विगतका कमजोरी सच्याएर शून्य लागतमा नै सुरक्षागार्ड ल्याउने प्रतिबद्धता जनाउन थालेको बताए । शून्य लागतमा कामदार ल्याएको अवस्थामा तलबसम्बन्धी गुनासो पनि कम हुँदै जाने कतिपय मलेसियन रोजगारदाताले नेपाली दूतावासलाई बताएको भुसालको भनाइ छ ।
उनले पे–स्लिप पेस नगर्ने कतिपय कम्पनीको मागपत्र प्रमाणीकरण नगरिएको समेत बताए । साथै, ओभरटाइमको तलबबारे पनि मागपत्र प्रमाणीकरण गर्ने समयमै सुनिश्चित गर्ने विषयमा रोजगारदाता कम्पनीसँग छलफल भइरहेको उनले जानकारी दिए ।
मलेसियामा कामको प्रकृतिको तुलनामा अन्य क्षेत्रका कामदारभन्दा सुरक्षागार्डको तलब कम देखिएको धेरै अघिदेखिकै विषय हो । मलेसियाले करिब १८ महिनाअघि, सन् २०२५ को फेब्रुअरीदेखि स्वदेशी तथा विदेशी कामदारको न्यूनतम तलब १ हजार ७ सय रिंगेट पुर्याएको थियो । सैद्धान्तिक रूपमा नेपाली सुरक्षा गार्डको तलब १ हजार ७ सय रिंगेटभन्दा कम छैन ।
तर मलेसियामा महिनाको २६ दिन दैनिक ८ घण्टाका दरले काम गर्दा मासिक २०८ घण्टा काम गर्नुपर्छ, जसका लागि न्यूनतम तलब १ हजार ७०० रिंगेट तोकिएको छ । तर सुरक्षागार्डले भने दैनिक १२ घण्टा र अधिकांशले महिनाको ३० दिन नै ड्युटी गर्ने गरेका छन् । यसरी न्यूनतम १ हजार ७ सय रिंगेटका लागि सुरक्षागार्डले मासिक ३६० घण्टासम्म काम गर्नुपर्ने गुनासो रहेको छ ।