२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

असभ्यताको बढ्दो रोग

shivam cement
२०८१ साउन २२ गते ०६:३०
असभ्यताको बढ्दो रोग

–युवराज संग्रौला

नेपाली सामाजिक सञ्जालमा अभद्र, फोहोरी र असभ्य पोस्ट लेख्ने र कमेन्ट गर्नेको जगजगी छ । यो जमात सद्दे जमात होइन । रोग हो समाजको । विचार, प्रतिक्रिया, आलोचना र समालोचना मर्दैछ, नेपाली समाजमा । यो नेपालले भोग्ने सबैभन्दा डरलाग्दो चुनौती हो ।

निर्वाचनताका एउटा भर्खरै उम्रीएको नयाँ पार्टीमा लागेका मान्छेहरू आफूबाहेक सबैलाई फोहरी मान्छे ठान्थे । उनीहरूका लेखाइ पढ्न सकिने खालका हुँदैनथे । अहिले राजतन्त्रको पुनर्स्थापना चाहनेको प्रवृत्ति यस्तै देखिन्छ । यिनीहरू अरु जोसुकै जो अन्य राजनीतिक आस्था राख्दछन्, तीमाथि फोहोरी गाली गर्छन् । उनीहरूको राजतन्त्र माग्ने अधिकार लोकतन्त्र हो । राजतन्त्र सबैले चाहेमा आउन पनि सक्छ । तर, राजतन्त्रको पुनर्बहाली भनेको असभ्यताको खेती गर्ने अधिकार कसैलाई छैन ।  हिजो पञ्चायतमा बहुदल माग्ने अधिकार थिएन, तर पनि मानिसले मागे । तर, सभ्यतापूर्वक मागे । तर मन्डले त्यसको विरुद्धमा हिंसामा उत्रे । आज यस्तै अर्को वर्ग जन्मिन लागेको देखिन्छ ।

हिजो खुलेको नयाँ दललाई यस्तै मानिसले अलोकप्रिय बनाए । हिजो ठुला पार्टीका कार्यकर्ताका यस्तै व्यवहार उनीहरूलाई अलोकप्रिय बनाउँदै छन् । 

पुर्वराजा र राजाको पुनर्बहालीको दृष्टिकोण राख्ने दल र नेतालाई पङ्क्तिकारको सन्देश छ, मति भ्रष्ट भएका बागीहरूलाई कार्यकर्ता बनाएर, अरूलाई गाली र अलोकप्रिय बनाएर पुनर्बहालीको रणनीति बनाउनु भयो भने त्यसले तपाईँहरूलाई घात गर्छ भन्ने बुझ्नु राम्रो हुन्छ ।

राजनीतिमा नयाँ विचारको निर्माण र समाजको परिवर्तन सकारात्मक सोच र समतापूर्ण मान्यताबाट मात्र प्राप्त गर्न सकिन्छ । देशमा अनेक समस्या छन् र जनताको जीवन पीडादायी छ । अतः राष्ट्र समृद्धिको बाटोमा जानुपर्छ । भोटतन्त्रले निर्देश गरेको लोकतन्त्रलाई नागरिकतन्त्रमा रूपान्तरण गर्नु आवश्यक छ । देशमा आ–आफ्ना विचारधारा सहितको एउटा एकता निर्माण गर्नु आवश्यक छ । हामीले विविधताको सम्मान गर्ने देशभक्ति, सबै धर्मको सम्मान गर्ने देशभक्ति, नागरिकको स्वतन्त्रताको सम्मान गर्ने देशभक्ति, छिमेकी देशहरूप्रति सद्भाव राख्ने देशभक्ति, संसारका दमनका सिकार भएका मानिसप्रति समर्थन गर्ने देशभक्तिको प्रवर्द्धन गर्नु आवश्यक छ । नेपाली समाजमा घर समाज स्कुल कलेज पार्टी सबैतिर अराजक प्रवृत्ति मौलाएको छ । हाम्रा अभिव्यक्ति फोहोर बनेका छन् । गाली गरेर मानिस खुसी भएको देखाउँछ तर, उसले आफूलाई समाप्त पारेको देख्दैन । 

सबै राजनीतिक पक्षले यस्ता मानिसलाई आफूभित्र स्थान नदिनुहोस् । यिनले तपाईँलाई नै सिध्याउने छन् । तिनले तपाईँको समर्थनको बहानामा आफ्नो स्वार्थको मलजल गरिरहेका छन् । वैदिक सनातन मान्ने मानिस सम्यक् सोच र व्यवहारको पूजक हुन्छ । उसमा अहङ्कार हुन्न । उसमा हिंसाको सोच हुन्न । तर, यो धर्मको पक्षपाती समर्थ र आस्थावानका नाममा सामाजिक सञ्जालमा अहङ्कारी हिंस्रक मानिसका जमात देखिन्छन् । यिनीहरूका यिनै प्रवृत्ति देखाएर एक थरी धर्म परिवर्तन गरिरहेका छन् । एकातिर केही संस्था र मानिस वैदिक र बौद्ध धर्ममाथि आक्रमण गरिरहेका छन्, अर्कातिर हिन्दु धर्ममा नाममा हरेकलाई गाली गर्ने स्वार्थी र उद्दण्ड मानिसको जमात छ, सामाजिक सञ्जालमा । अल्प ज्ञान, राष्ट्र धर्म दुबैमाथि चुनौती बनिरहेको छ ।

जसले जे भनोस्, तर नेपाल एउटा जात वा जातिको मात्र यो देश होइन । यो देश विविधताको देश हो । अनेक राजा, अनेक प्रधानमन्त्री, अनेक सिपाही, किसान, बौद्धिक, बिचार, भाषा, र संस्कृतिको मुहान हो नेपाल । अश्लीलता र असभ्यता हाम्रो प्रवृत्ति होइन । तर, हाम्रो एउटा ठुलो जमात नकारात्मकताको भाइरसबाट ग्रस्त छ ।

ADV

सम्बन्धित खबर

Advertise