२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

नेपथ्यको क्यानडा यात्रा सम्पन्न, ओन्टारियो कन्सर्टमा आत्मीय बिदाइ

Nada
२०८३ वैशाख ९ गते २०:००
Shares
नेपथ्यको क्यानडा यात्रा सम्पन्न, ओन्टारियो कन्सर्टमा आत्मीय बिदाइ

लन्डन, ओन्टारियो : नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले दुई साता लामो क्यानडा सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । शृंखलाबद्ध कार्यक्रमअन्तर्गत अन्तिम प्रस्तुति शनिबार ओन्टारियो प्रान्तको लन्डनस्थित ‘लन्डन म्युजिक हल’मा गरिएको थियो, जहाँ दर्शकको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई उत्सवमय बनाएको आयोजकले जनाएको छ ।

साँझ ७ बजे ढोका खुला गरिएको कन्सर्ट हल प्रारम्भमै दर्शकले भरिएको थियो । कार्यक्रम सुरु हुनेबित्तिकै पर्दामा ‘सा कर्णाली’ गुन्जिएसँगै हलमा उपस्थित दर्शकको उत्साह उच्च देखिन्थ्यो, जुन कार्यक्रमभर निरन्तर कायम रह्यो ।

लन्डन मात्र नभई टाढाटाढाबाट समेत दर्शक कन्सर्ट अवलोकनका लागि पुगेका थिए । ओटावाबाट करिब सात घण्टाको यात्रा तय गर्दै पुगेका सुदन गुरुङ परिवारसहित कार्यक्रममा सहभागी भएका थिए । झापा दमकबाट क्यानडा पुगेका उनी विगत १५ वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका छन् । नेपथ्यको प्रस्तुति पहिलोपटक प्रत्यक्ष हेर्ने अवसर पाएको भन्दै उनले यसलाई पारिवारिक उत्सवसरह अनुभव भएको बताए ।

कार्यक्रमभर गायक अमृत गुरुङले विदेशमा रहेका नेपालीलाई एकताबद्ध रहन र स्वदेशसँगको सम्बन्ध नटुटाउन आग्रह गरेका थिए । दर्शकमध्येका मधुसूदन थापाले नेपथ्यको प्रस्तुति क्यानडामा बसेर पनि घरको अनुभूति दिलाउने बताउँदै यसलाई आफ्नो बसाइकै सम्झनलायक क्षणका रूपमा चित्रण गरे ।

कन्सर्टमा गैरनेपाली दर्शकको पनि सहभागिता देखिएको थियो । स्ट्राटफोर्डबाट आएका एरिक प्राउडलभले नेपाली सहकर्मीमार्फत जानकारी पाएपछि कार्यक्रममा सहभागी भएको बताए । उनले संगीत, दर्शकको ऊर्जा र मञ्च प्रस्तुतिको समन्वय प्रभावशाली लागेको प्रतिक्रिया दिए ।

हालका वर्षहरूमा नेपथ्यका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भुटानबाट पुनर्वास गरिएका नेपालीभाषी समुदायको उपस्थिति उल्लेख्य देखिन्छ । ७७ वर्षीया धनमाया तामाङले जीवनमै पहिलोपटक रक कन्सर्ट अनुभव गरेको बताउँदै कार्यक्रमले पुराना सम्झना ताजा गराएको सुनाइन् । यस्तै, ७५ वर्षीय चित्र प्रधानले गीतसँगै प्रस्तुत सन्देशले दर्शकलाई एकतामा जोड्ने प्रभाव पारेको टिप्पणी गरे ।

कन्सर्टमा अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी सहभागी थिए ।

स्थानीय आयोजक दीक्षान्त खड्गीले सानो सहरमा नेपथ्यलाई प्रस्तुत गराउन पाउनु उपलब्धिमूलक रहेको उल्लेख गर्दै दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साह थपेको बताए ।

यस वर्ष नेपथ्यको क्यानडा यात्रा सदबरीबाट सुरु भई टोरन्टो हुँदै लन्डनमा सम्पन्न भएको हो । अन्तिम प्रस्तुति सकिएसँगै कलाकार, प्राविधिक र व्यवस्थापनसहित १४ सदस्यीय टोली स्वदेश फर्किएको छ । क्यानडा भ्रमणपछि नेपथ्यले आगामी महिना न्युजिल्यान्डमा प्रस्तुति दिने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर