
काठमाडौं : ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समीक्षा २०८२’ सम्पन्न भएको छ । वर्ष २०८१ मा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समग्र मूल्यांकन गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट स्रष्टा तथा कृतिहरूलाई सम्मान गरिएको हो ।
अवार्डमा यस वर्षका उत्कृष्ट कलाकार तथा सर्जकको रूपमा अभिनेता विपिन कार्की वर्ष नायक घोषित भए भने अभिनेत्री मिरुना मगर वर्ष नायिका घोषित भइन् । त्यसैगरी नवीन चौहान वर्ष निर्देशक, महेश त्रिपाठी वर्ष नव अभिनेता, उषा उप्रेती वर्ष नव नायिका तथा दीपक आचार्य वर्ष नव निर्देशक घोषित भए ।
वर्ष अभिनेता छनोटमा विपिन कार्कीले ‘ऊनको स्विटर’ चलचित्रमार्फत व्यावसायिक तथा अभिनय दुवै पक्षमा उल्लेखनीय सफलता हासिल गर्दै ‘जेरी अन टप’का अनमोल केसी, ‘जारी २’का दयाहाङ राई तथा ‘आ बाट आमा’का पल शाहलाई पछि पारेका हुन् । ‘ऊनको स्विटर’ चलचित्रले देश तथा विदेशमा उल्लेखनीय व्यापार गर्दै वर्षकै चर्चित चलचित्र बन्न सफल भएको थियो ।
त्यस्तै, अभिनेत्री मिरुना मगरले पनि ‘ऊनको स्विटर’मार्फत सशक्त अभिनय र बक्स अफिस सफलताका आधारमा जसिता गुरुङ, स्वस्तिमा खड्का र वर्षा शिवाकोटीलाई उछिन्दै वर्ष अभिनेत्रीको उपाधि हात पारिन् ।
नव अभिनेता विधामा ‘परान’ चलचित्रका महेश त्रिपाठी उत्कृष्ट घोषित भए भने नव नायिकातर्फ उषा उप्रेतीलाई सम्मान गरिएको छ । निर्देशकतर्फ नवीन चौहानले ‘उनको स्वीटर’बाट दर्शक र बजार दुवैमा प्रभाव जमाउँदै वर्ष निर्देशक बन्न सफल भए ।
बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा विगत दुई दशकदेखि नियमित आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज कलाकारहरूलाई पनि रजत जयन्ती सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरूमा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिष्मा मानन्धर र मिथिला शर्मा रहेका छन् । टेलिचलचित्रतर्फ सुशील पोखरेल, रमा थपलिया, किरण केसी, आरपी पन्त र रवी गिरीलाई सम्मान गरिएको छ भने संगीत क्षेत्रबाट मदनकृष्ण श्रेष्ठ, सुक्मित गुरुङ, मीरा राणा, कुमार बस्नेत र संगीतकार राजु सिंहलाई सम्मान गरिएको ग्रुपका अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन तथा निर्माता संघका अध्यक्ष उदय सुब्बालगायतले वर्ष समीक्षा प्रस्तुत गरेका थिए ।
यसै अवसरमा विभिन्न विधामा उत्कृष्ट १० मनोनयन पनि सार्वजनिक गरिएको छ । वर्षका उत्कृष्ट १० चलचित्रमा ‘उनको स्वीटर’, ‘जेरी वान टप’, ‘परान’, ‘माग्ने राजा’, ‘हरिबहादुरको जुत्ता’, ‘माईतीघर’, ‘पिताम्बर’, ‘बलिदान’, ‘आ बाट आमा’ र ‘जारी २’ परेका छन् ।
उत्कृष्ट निर्देशकको सूचीमा दीपेन्द्र के खनाल (हरिबहादुरको जुत्ता), नवीन चौहान (ऊनको स्विटर), ऋषि लामिछाने (माग्ने राजा), मिलन तामाङ (माइतीघर), दिनेश राउत (कुमारी), दीपक आचार्य (परान), उपेन्द्र सुब्बा (जारी २), क्रिशा चौलागाईं (पिताम्बर), चन्द्र पन्त (आ बाट आमा) र सुयोग गुरुङ (जेरी अन टप) रहेका छन् ।
त्यस्तै, उत्कृष्ट अभिनेता विधामा दयाहाङ राई (जारी २), अनमोल केसी (जेरी अन टप), हरिवंश आचार्य (हरिबहादुरको जुत्ता), विपिन कार्की (ऊनको स्विटर), सौगात मल्ल (सिटामोल), प्रदीप खड्का (पिताम्बर), समिल भट्ट (बलिदान), धिरज मगर (मैजारो), पल शाह (आ बाट आमा) र प्रकाश सपुत (माइतीघर) मनोनयनमा परेका छन् ।
उत्कृष्ट अभिनेत्री विधामा जसिता गुरुङ (जेरी अन टप), वर्षा शिवाकोटी (माग्ने राजा), मिरुना मगर (ऊनको स्विटर), बेनिशा हमाल (सिटामोल), उपसना सिंह ठकुरी (माइतीघर), प्रियंका कार्की (हरिबहादुरको जुत्ता), नीति शाह (नरसिंह), अञ्जली बराइली (परान), वर्षा राउत (ह्रस्व दीर्घ) र स्वस्तिमा खड्का (हरिबहादुरको जुत्ता) रहेका छन् ।
यसैगरी, प्रोडक्सन डिजाइन, पोस्टर डिजाइन, स्टुडियो, वितरक, सिनेमा हल, म्युजिक भिडियो, वेब सिरिज, टेलिफिल्म, सिने उपकरण तथा सक्रिय सिने पत्रकारलगायतका विभिन्न विधामा पनि उत्कृष्ट १० सूची सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।
अवार्ड समितिका अनुसार नेपाली चलचित्र उद्योगको समग्र मूल्यांकन, बजार प्रवृत्ति र सर्जनात्मक उपलब्धिलाई आधार मानेर विजेता छनोट गरिएको हो । हरेक वर्षझैं पुरानो वर्षको समीक्षा गर्दै नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नेपाली चलचित्र क्षेत्रकै एक महत्वपूर्ण अवार्डका रूपमा स्थापित हुँदै गएको छ ।