२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

वर्ष २०८२ : सर्वाधिक कमाउने १० फिल्म

Nada
दिवाकर अधिकारी
२०८२ चैत ३० गते १३:३५
Shares
वर्ष २०८२ : सर्वाधिक कमाउने १० फिल्म

काठमाडौं : २०८२ साल नेपाली फिल्म उद्योगका लागि ‘हिट र हौसला’को मिश्रित वर्ष बन्यो– जहाँ अंक थोरै झरे पनि उत्साह भने घटेन । घरेलु बक्सअफिसले लगातार दोस्रो वर्ष पनि १ अर्ब रुपैयाँको मनोवैज्ञानिक सीमा पार गर्दै उद्योगको धड्कन अझै मजबुत रहेको सन्देश दियो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चैत १३ सम्म प्रदर्शनमा आएका ५६ नेपाली फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाखभन्दा बढी ग्रस कमाइ गरे । झन्डै ३८ लाख टिकट बिक्री भए, जसले दर्शक हल फर्किएको स्पष्ट संकेत गर्‍यो ।

यद्यपि अघिल्लो वर्षको तुलनामा आम्दानी केही खुम्चिएको छ, तर प्रतिस्पर्धा भने अझ तीव्र बन्यो, विशेषगरी विदेशी फिल्मको दबाबबीच । त्यही दबाबलाई चिर्दै नेपाली फिल्मले आफ्नै दर्शक आधार जोगाउँदै विविध कथावस्तु र स्टार शक्तिको सहारामा बजार तताइरह्यो । वर्षभर २३० फिल्म दर्ता हुनु, ९४ ले सेन्सर पार गर्नु र थप ८ नयाँ हल सञ्चालनमा आउनुले उद्योगको विस्तार र विश्वास दुवै झल्काउँछ ।

परिवारिक ड्रामा, सामाजिक यथार्थ, कमेडीदेखि एडभेन्चरसम्मका कथाले दर्शक ताने । नयाँ पुस्ताका निर्देशकले ऊर्जा थपे भने स्थापित कलाकार र स्टारहरूले व्यापारिक भरोसा जोगाइराखे । समग्रमा २०८२ लाई ‘स्थिर तर प्रतिस्पर्धात्मक’ वर्षका रूपमा परिभाषित गर्न सकिन्छ । प्रस्तुत छ बोर्डको तथ्यांकअनुसार २०८२ सालमा सर्वाधिक कमाइ गर्ने १० नेपाली फिल्म :

१. परान

नेपाली फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको छ । फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाइ गर्न सफल भएको छ । यस फिल्मका ६ लाख ३० हजार ६ सय ९१ टिकट बिक्री भएको तथ्यांक छ ।

‘परान’ एक भावनात्मक सामाजिक पारिवारिक ड्रामा हो । यो फिल्म २०८२ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको थियो । दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनमा बनेको यस फिल्मको कथा स्वयं आचार्यले लेखेका हुन् भने पटकथा याम थापाको रहेको छ । फिल्म रञ्जित आचार्य र शेखर गोल्छाको बिस्कोप सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

फिल्मको कथा वृद्ध बुबा धर्मनाथ (नीरविक्रम शाह) वरिपरि केन्द्रित छ । आफ्ना सन्तानबाट माया, साथ र सम्मानको अपेक्षा गर्ने धर्मनाथको जीवनमार्फत आधुनिक जीवनशैली, व्यक्तिगत महत्वाकांक्षा र वैदेशिक रोजगारीका कारण कमजोर बन्दै गएको पारिवारिक सम्बन्धको यथार्थ चित्रण गरिएको छ । ‘सासले होइन, साथले चल्छ’ भन्ने ट्यागलाइनले फिल्मको मूल सन्देश—भावनात्मक सम्बन्ध र पारिवारिक साथको महत्व—स्पष्ट रूपमा प्रस्तुत गर्छ ।

फिल्मा नीरविक्रम शाह, पूजा चन्द, मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, अन्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ र यशेली योङहाङलगायतका कलाकारको अभिनय रहेको छ । 

२. आबाट आमा

२०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको ‘आबाट आमा’ले १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ग्रस कमाइ गरेको छ ।

चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ एक भावनात्मक पारिवारिक ड्रामा हो, जसले व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ । २०८२ सालको माघ १६ गते प्रदर्शनमा आएको यो फिल्मको कथा, पटकथा र निर्देशन स्वयं पन्तले गरेका हुन् भने लेखनमा अभिमन्यु निराभीको पनि योगदान रहेको छ । आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मका प्रमुख निर्मातामा क्षितिज ढुंगाना, प्रकाश कुँवरलगायत रहेका छन् ।

ग्रामीण नेपालको परिवेशमा आधारित कथाले आमाबाबुको त्याग, सन्तानको विदेश यात्रा र आमाको असीम माया तथा भावनात्मक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गर्छ । फिल्मले नेपाली युवाको वैदेशिक यात्रासँग जोडिएको सपना र पीडालाई सशक्त रूपमा उठाएको छ ।

फिल्ममा पल शाह, विपना थापा, भारतीय अभिनेता प्रदीप रावत, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, रवीन्द्र झा र गजित बिष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मले प्रदर्शनपछि दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको थियो  । भावनात्मक गहिराइ र नेपाली समाजको यथार्थ चित्रणका कारण यसलाई पल शाहको करिअरकै सशक्त फिल्ममध्ये एकका रूपमा समेत हेरिएको छ ।

३. जेरी अन टप

२०८२ मा सर्वाधिक कमाउने फिल्मको सूचीको तेस्रो स्थानमा रहेको सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाएको छ ।

२०८२ असोज ३१ मा प्रदर्शनमा आएको ‘जेरी अन टप’ रोमान्टिक एडभेन्चर–ड्रामा विधामा निर्माण गरिएको नेपाली फिल्म हो । ‘सानो मन’ र ‘फर्की फर्की’ का निर्देशक सुयोग गुरुङले निर्देशन गरेको यो फिल्म हेमराज बिसीको कथामा आधारित छ भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन् ।

फिल्मको कथा धनी व्यापारी विजय प्रताप रानाका छोरा जयवीर ‘जेरी’ रानाको वरिपरि केन्द्रित छ । बुबाको अपूर्ण सपना पूरा गर्ने लक्ष्यसहित जेरी सगरमाथा आरोहणको यात्रामा निस्कन्छन् । यस यात्रामा पारिवारिक अहंकार, प्रेम, आत्म–खोज र हिमालयका चुनौतीबीचको संघर्ष प्रस्तुत गरिएको छ । 

फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।

लुक्ला, नाम्चे, स्याङबोचे, मुस्ताङ र एभरेष्ट बेस क्याम्पजस्ता दुर्गम स्थानमा विस्तृत छायांकन गरिएको ‘जेरी अन टप’ नेपाली सिनेमाका लागि दुर्लभ परियोजनामध्ये एक मानिएको छ । 

रोमान्स, ड्रामा र एडभेन्चरको संयोजनमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सगरमाथाको महत्वबारे पनि सन्देश दिन सफल यो फिल्म अनमोल केसीको करिअरमा महत्वपूर्ण कृतिका रूपमा स्थापित भएको छ ।

४. ऊनको स्विटर

नवीन चौहान निर्देशित डेब्यु फिचर फिल्म ‘ऊनको स्विटर’ ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ ग्रस कमाइ गर्दै वर्ष २०८२ को सर्वाधिक कमाउने सूचीको चौथो स्थानमा परेको छ ।
यो सामाजिक ड्रामा फिल्म पूर्वी नेपालको पाँचथर जिल्लाको पहाडी बहुसांस्कृतिक परिवेशमा आधारित छ । फिल्मको लेखन तथा निर्देशन स्वयं नवीन चौहानले गरेका हुन् भने आर्टमाण्डु नेपाल प्रा.लि.ले केन्द्र मोसन पिक्चर्ससँगको सहकार्यमा निर्माण गरेको हो ।

फिल्मको कथा धरानीधर काफ्ले (विपिन कार्की) र फूल गुरुङ (मिरुना मगर) बीचको न्यानो प्रेम सम्बन्ध वरिपरि घुम्छ । परम्परागत ब्राह्मण परिवारका आरक्षित स्वभावका धरानीधर र गुरुङ समुदायकी जीवन्त फूलबीचको प्रेम सामाजिक, जातीय तथा पारिवारिक अवरोधका कारण जटिल बन्दै जान्छ । ‘ऊनको स्विटर’ प्रेम, सम्झना र मानवीय न्यानोपनको प्रतीकका रूपमा प्रस्तुत हुँदै फिल्मलाई भावनात्मक गहिराइ प्रदान गर्छ ।

फिल्ममा विपिन र मिरुनासहित पारिक्ष्या लिम्बु, एलेक्स पारास, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई र प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।

आर्टमाण्डुको डेब्यु फिल्मका रूपमा ‘ऊनको स्विटर’ले नेपाली सिनेमा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको मानिन्छ । हाल फिल्म आर्टमाण्डुको युट्युब च्यानलमार्फत पूर्ण रूपमा हेर्न सकिनेछ । ‘ऊनको स्विटर’ प्रेमको न्यानोपन र सामाजिक यथार्थको सशक्त मिश्रणका रूपमा उभिएको फिल्म हो, जसले दर्शकको मन छुने मात्र होइन, सोच्न समेत बाध्य पार्छ ।

५. जारी २

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २ ः सङ अफ च्याब्रुङ’ मिड–रेन्ज ब्लकबस्टर सावित भएको छ । सर्वाधिक कमाउने सूचीको पाँचौं स्थानमा रहेको यस फिल्मले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ ग्रस कमाइ गरेको छ । २०८० को सुपरहिट ‘जारी’को सिक्वेलका रूपमा आएको यो फिल्मले प्रदर्शनसँगै उल्लेख्य व्यापार गर्न सफल भएको हो ।

सामाजिक ड्रामा विधामा आधारित यस फिल्मले लिम्बू समुदायको संस्कृति, वैवाहिक जीवन, परम्परा र आधुनिक द्वन्द्वलाई गहिराइमा चित्रण गर्छ । अघिल्लो भाग ‘जारी’ले स्थापित गरेको कथा र पात्रलाई निरन्तरता दिँदै सिक्वेलले सामाजिक यथार्थलाई थप विस्तारित ढंगले प्रस्तुत गरेको छ ।

फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् । बासुरी फिल्म्सको ब्यानरमा राम बाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ निर्माता रहेका छन् ।

कथावस्तु नामसाङ (दयाहाङ राई) र हाङमा (मिरुना मगर)को वैवाहिक जीवन वरिपरि घुम्छ । च्याब्रुङ ड्रमको सांस्कृतिक महत्व, लिम्बु परम्परा, सम्बन्धका चुनौती, माओवादी द्वन्द्व, राजनीतिक अस्थिरता तथा धार्मिक रूपान्तरण जस्ता बहुआयामिक विषयलाई समेट्दै फिल्मले समकालीन समाजको जटिलता प्रस्तुत गर्छ । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बाराल, बुद्धि तामाङ, रीचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ । समग्रमा ‘जारी २’लाई लिम्बू संस्कृति र नेपाली समाजको प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा हेरिएको छ ।

६. बलिदान

सर्वाधिक कमाउने सूचीको छैटौं स्थानमा रहेको फिल्म ‘बलिदान’ले ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ ग्रस कमाएको छ ।

सन्तोष सेन निर्देशित ‘बलिदान’ एक एक्सन–ड्रामा फिल्म हो, जसको निर्माण आसुसेन फिल्म्स प्रोडक्सनले ब्राडपोर्ड ग्लोबलको सहकार्यमा गरेको हो । यो फिल्म २०८२ असोज १३ गते प्रदर्शनमा आएको थियो ।

फिल्ममा समीर भट्ट मुख्य भूमिकामा छन् भने सौगात मल्ल, रिचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया र सुनिल क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ । समीर भट्टले फिल्ममा एक्सनसँगै भावनात्मक पक्षलाई समेत समेटिएको भूमिका निर्वाह गरेका छन् ।

कथावस्तु एक छोराको बदलामा केन्द्रित छ, जसले आफ्नो बाबुको हत्या गर्नेहरूसँग प्रतिशोध लिन्छ । गाउँमा फैलिएको डर र त्रासबीच शक्तिशाली ‘बाबा’ को नियन्त्रण रहेको परिवेश र आमाबाबुको बलिदान देखेको बालकको अनुभवबाट कथा अघि बढ्छ । फिल्मले एक्सन, भावना र पारिवारिक बदलाको मिश्रण प्रस्तुत गरेको छ ।

फिल्म ‘बलिदान’ एएमसी थिएटरहरूमा समेत प्रदर्शन गरिएको थियो । ट्रेलर र टिजरमार्फत राम्रो चर्चा पाएको फिल्मले भने अपेक्षाअनुसार व्यावसायिक सफलता हासिल गर्न सकेन । हाल यो फिल्म एमएसएम भिडियोमार्फत स्ट्रिमिङमा उपलब्ध छ । ठुलो स्केल र एक्सन प्रस्तुत गर्ने प्रयास गरिएको ‘बलिदान’ले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।

७. मोहर

सर्वाधिक कमाउने सूचीको सातौं स्थानमा रहेको फिल्म ‘मोहर’ले ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ कमाएको छ । 

‘मोहर’ सामाजिक ड्रामा, थ्रिलर र रोमान्स विधामा निर्माण गरिएको चलचित्र हो । यसको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन् भने निर्माण चुम्बन जंग शाहीले गरेका हुन् । फिल्म साउन २३ मा प्रदर्शनमा आएको थियो ।

फिल्मको कथा नेपालको सुदूरपश्चिम क्षेत्रमा विद्यमान ‘देउकी प्रथा’ जस्तो अघोषित परम्परा र सामाजिक नियममा केन्द्रित छ । सरकर चन्द (अर्जुन जंग शाही)ले आफ्नो सन्तान र भाग्यको नाममा यो प्रथालाई कायम राख्न खोज्दा उसले सामना गर्नुपरेका चुनौती, सामाजिक दबाब र त्यससँग जोडिएको प्रेमकथालाई मुख्य विषयवस्तु बनाइएको छ । यससँगै गरिबी, बालविवाह, परम्परागत अन्धविश्वास, शिक्षा र महिला अधिकारका मुद्दाहरूलाई पनि फिल्मले उठाएको छ । समाजमा अझै कायम रहेको यस्ता कुप्रथाप्रति सचेतना फैलाउने प्रयास फिल्ममा देखिन्छ ।

फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पाबी, सुशील देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा सारा शर्मा पनि देखिएकी छन् ।

सामाजिक मुद्दालाई केन्द्रमा राख्दै बनेको यो फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।

८. हरिबहादुरको जुत्ता

सर्वाधिक कमाउने सूचीको आठौं नम्बरमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ कमाएको छ ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ एक सामाजिक हास्य चलचित्र हो । यसले वर्गीय विभेद, आर्थिक असमानता र सामान्य जनताको दैनिक संघर्षलाई हास्य, व्यंग्य र जीवन्त कथामार्फत प्रस्तुत गरेको छ । लोकप्रिय ‘मदनबहादुर हरिबहादुर’ शृंखलाबाट चर्चित चरित्र हरिबहादुरमा आधारित कथाले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिन्छ ।

फिल्मको कथा तथा पटकथा हरिवंश आचार्यले लेखेका हुन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्य (हरिवंश आचार्यका छोरा)ले निर्माण गरेका छन् ।
फिल्ममा हरिवंश मुख्य भूमिकामा छन् । उनका साथै प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्कीको अभिनय रहेको छ । यसबाहेक दिव्य देव पन्त, हरिहर शर्मा, किरण केसी, रोशनी सापकोटा, मोहितवंश आचार्यलगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

२०८२ असोज १३ गते रिलिज भएको यो फिल्म २ घण्टा २० मिनेट लामो छ । छायांकन मात्र २९ दिनमा सम्पन्न गरिएको थियो । हास्य र सामाजिक व्यंग्यले भरिएको यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

९. माग्ने राजा

सर्वाधिक कमाउने सूचीको नवौं नम्बरमा रहेको फिल्म ‘माग्ने राजा’ले ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ कमाएको छ ।

ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ कमेडी–ड्रामा विधामा निर्माण गरिएको नेपाली फिल्म हो, जसले समाजमा पैसा, लोभ, भ्रष्टाचार र ‘माग्ने’ संस्कृतिमाथि व्यंग्यात्मक प्रस्तुति दिन्छ । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मका निर्माता माधुसुदन शर्मा र प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् भने कथा तथा पटकथा सामिप्य राज तिमल्सेनाले तयार पारेका हुन् ।

फिल्मको कथा ऋणमा डुबेको साधारण नागरिक कुबेर शर्मा उर्फ ‘माग्ने राजा’ वरिपरि घुम्छ । अचानक ठुलो धन प्राप्त भएपछि उनी समाजका विभिन्न तह (साधारणदेखि राजनीतिक वर्गसम्म)बाट उत्पन्न लोभ, धोका र नैतिक द्वन्द्वमा फस्छन् । फिल्मले ‘माग्ने’ प्रवृत्ति केवल गरिबमा मात्र सीमित नभई शक्तिशाली वर्गमा पनि विभिन्न रूपमा विद्यमान रहेको सन्देश दिन्छ । केदार घिमिरेको चर्चित ‘माग्ने बुढा’ पात्रमार्फत पैसाप्रतिको सामाजिक मनोविज्ञानलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्ममा केदार घिमिरे, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, राधिक कन्देल, पवित्रा शंकी (मिस पाबी) र आर्यन सिग्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

केदार घिमिरेको अभिनय र सामाजिक सन्देशले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने यस फिल्मलाई नेपाली सिनेमामा सामान्य कमेडीभन्दा फरक र अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

१०. माइतीघर

सर्वाधिक कमाउने सूचीको दशौं नम्बरमा रहेको फिल्म ‘माइतीघर’ले ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाएको छ ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’ २०८२ असोज १३ मा दशैंको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सामाजिक–रोमान्टिक ड्रामा हो । रोहित अधिकारी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा रविन शेरचन निर्माता रहेका छन् भने धिरज तामाङ मुख्य भूमिकामा छन् ।

तामाङ समुदायको पृष्ठभूमिमा आधारित फिल्मले गाउँकी दयालु केटी मस्र्याङ (पूर्णिमा) र जातविहीन युवक सोनामबीचको प्रेमकथालाई प्रस्तुत गर्छ । उनीहरूको सम्बन्धमा काकाको विरोध र परम्परागत बन्धनमार्फत विवाह गराउने प्रयासले कथा अघि बढ्छ । फिल्मले तामाङ संस्कृति, रिमठिम, महिलाको स्वतन्त्रता र ‘माइतीघर’प्रतिको भावनालाई समेट्ने प्रयास गरेको छ ।

फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, प्रकाश सपूत, केदार घिमिरे, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा र रजनी गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको ट्रेलर र शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ले प्रदर्शनअघि नै दर्शकमाझ उत्साह जगाएको थियो । यद्यपि रिलिजपछि समीक्षकहरूले पटकथा कमजोर रहेको, संवाद परम्परागत ढाँचामा सीमित भएको र सांस्कृतिक प्रस्तुतिमा केही कमी देखिएको टिप्पणी गरेका थिए । तामाङ समुदायको कथा प्रस्तुत गर्ने प्रयासका रूपमा भने फिल्मले नेपाली सिनेमामा नयाँ स्वाद थप्ने चर्चा बटुलेको छ ।

ताजा खबर

सम्बन्धित खबर