
सुर्खेत : सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा संलग्न चार जना बालकलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश दिपक ढकालको एकल इजलासले चारै जना आरोपीलाई अनुसन्धान पूरा नभएसम्म थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो । पीडित पक्षकी अधिवक्ता यम कुमारी डडेलका अनुसार अदालतले ती बालकलाई कारागार नभई बाल सुधार गृहमा पठाउन निर्देशन दिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा थुनामै राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको जानकारी दिए ।
चारै जनाविरुद्ध जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग सम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै आइतबार अभियोगपत्र दर्ता गराएको थियो ।
गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ की इनिशा घर नजिकैको जंगल, वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले इनिशाका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनको बयानका आधारमा थप तीन जना किशोरलाई पनि पक्राउ गरिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउपरेका किशोरहरूले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्रावका कारण उनी बेहोस भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।