२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमालेमा उकुसमुकुस, आत्मसमीक्षा र आरोप-प्रत्यारोपमा नेताहरू

Nada
जीवन शर्मा
२०८२ चैत १ गते ०६:४०
Shares
एमालेमा उकुसमुकुस, आत्मसमीक्षा र आरोप-प्रत्यारोपमा नेताहरू

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्मनाक हार बेहोरेको नेकपा एमाले त्यसको समीक्षामा छ । तर यही बेला एमालेका कतिपय नेताहरू सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

ncell

गत २१ फागुनमा भएको निर्वाचनमा पार्टीका अधिकांश शीर्ष नेताहरूले चुनाव जितेनन् । चुनावी परिणामलाई लिएर  नेताहरूले इतिहासकै गम्भीर धक्का बेहोरेको भन्दै यसको गम्भीर समीक्षा गर्नुपर्ने बहसलाई व्यापक बनाएका छन् । 

प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट पाएको छ । १७५ सिट रहेको प्रतिनिधिसभामा यस पटक एमाले २५ सिटसहित तेस्रो दल बन्न पुगेपछि पार्टीभित्र एकअर्काप्रति दोषारोपण चुलिँदै गएको हो । नेताहरूले यही मौका छोपेर एकले अर्को पक्षलाई पेल्ने प्रयास गरिरहेका छन् । 

एमाले नेता शेरबहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्र समेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताएका छन् ।  पार्टीको ११औं महाधिवेशनमा प्रष्ट दुई समूहमा विभाजन भएर चुनाव लडेका नेताहरूले आम निर्वाचनमा समेत एक अर्का पक्षमा खुलेर सहयोग नगरेको आरोप लगाइरहेका छन् । 

वर्तमान संस्थापन पक्षलाई इतर समूहका नेताहरूले चुनाव हारको कारण नेतृत्व पंक्तिकै कारण भनेको छ भने संस्थापन पक्षधर नेताहरूले चुनावी पराजयको भार सबैले लिनुपर्ने तर्क गर्दै आएका छन् । 

एमालेका नेता प्रदीप ज्ञवालीले अहिलेको चुनावमा इतिहासकै गम्भीर धक्का बेहोरेको भन्दै समग्र परिणामको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनुपर्ने बताए । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका सागर ढकालसँग हारेका ज्ञवालीले कतिपय नीतिगत विषय, कतिपय संरचनागत प्रश्न, शैलीगत कारण, नेतृत्व पंक्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण यस्तो चुनावी परिणाम आएको दाबी गरेका छन् । 

ज्ञवालीले भनेका छन्, ‘चुनावी परिणामका सन्दर्भमा वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । समीक्षा गरिएन, यो यस्तै हो भनियो या अरूलाई मात्रै दोषारोपण गरियो भने संकट झनै गहिरिँदै जानेछ ।’ यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान मार्गदर्शन गर्ने उनले बताए । ज्ञावालीले मात्र नभई एमालेका अधिकांश नेताहरूले चुनावी परिणामलाई गम्भीरताकासाथ समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् । 

पार्टीभित्र कारबाहीको डण्डा चलाउने विषयमा समेत छलफल चलिरहँदा एमालेका  नेता सुरेन्द्र पण्डेले जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग नरहेको टिप्पणी गरेका छन् । 

‘एमालेको पूर्नसंरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ’ उनले भनेका छन, ‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’ 

यसअघि एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वमाथि समेत समीक्षा हुनुपर्ने बताएका थिए । त्यसको प्रतिवाद समेत एमाले पंत्तिबाटै भइरहेको छ । एमाले महासचिव शंकर पोखरेल नै भट्टराईमाथि खनिएपछि आन्तरिक किचलो थप छताछुल्ल भएको छ ।  

तर, एमाले नेता विष्णु रिमालले नेकपा एमालेका लागि यो चुनाव अन्तिम नभएको बताए । उनले भने, ‘पार्टीमा समीक्षा हुनु जायज हो तर, एमालेका लागि यो चुनाव अन्तिम होईन । एउटा लडाईमा भएको हार समग्र युद्धमा हुँदैन् । एमाले फेरि पनि धुलो टकटक्याउँदै दृढताकासाथ उठ्ने छ ।’ चुनावी परिणामको जस वा अपजस एउटा नेताले मात्रै नभई सिंगो एमाले पक्तिले लिनुपर्ने रिमालको भनाई छ ।  

रूपन्देही २ बाट उम्मेदवार रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो गरी आत्मसमीक्षा गर्ने बताए । पौडेलले भने, ‘अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिटै उपयुक्त निर्णय गर्नेछौं ।’ 

पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने उनको तर्क छ । ‘पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प छैन’, पौडेलले भने । 

पौडेलले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरुपमा उठेको समेत संकेत गरेका छन । २०६४ को पहिलो संविधान सभा चुनाव सहित त्यसयताका सबै चुनाव सहजै जित्दै आएका पौडेल यो पटक नमीठो पराजय ब्यहोरेपछि पार्टीमा नयाँ ढंगले अघि बढ्नुपर्ने पक्षमा छन् । उनी पार्टी नेतृत्वले नै विश्राम लिनुपर्ने पक्षमा देखिएका छन् । 

तर, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले भने अहिले नै पार्टी नेतृत्वमाथि सबै खनिने भन्दा आ–आफ्नो निर्वाचन क्षेत्रको मत कसरी जोगाउन सकिएन भन्ने तहबाट समीक्षा जरुरी रहेको बताउँछन् । 

एमाले सचिव महेश बस्नेतले पार्टीको हार अनपेक्षित भएको भन्दै यसको जिम्मेवारी सबै तहका नेता कार्यकर्ताले लिनुपर्ने बताए । उनले भने, ‘एमालेले अहिलेको परिस्थितीमा अनपेक्षित हार ब्यहोरेको छ । यसको जिम्मा सबै तहको नेतृत्वमा रहेका हामी सबैले लिने र सबै कमरेडहरू एकजुट भएर आगामी यात्रामा निस्कनुपर्छ । अहिले पार्टी नेतृत्वकै कारण यो परिणाम आएको हो भन्ने अवस्था छैन् ।’

एमाले नयाँ पुस्ताका नेताहरूलाई पार्टीको एजेण्डामा समेट्न नसकेको बताएका छन् । नेता प्रदीप ज्ञवालीले निर्वाचन अघि एमालेले नयाँ पुस्तासँग संवाद गर्न नसक्नु र उनीहरूलाई पार्टीप्रति विश्वास स्थापित गर्न नसक्नु पार्टी पराजयको कारण भनेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन । यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो । हामीले धैर्य गर्नुपर्छ । तर धैर्य मात्रै गरेर पुग्दैन । सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनु पर्छ । त्यतिञ्जेल हामी अडिइरहन सक्नु पर्छ ।’ 

सामाजिक सञ्जालमा दोहोरी

यसबाहेकका नेताहरू पनि आरोपप्रत्यारोपमा छन् । एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईबीच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जिम्मेवारी नदिइएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । नेता भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी माग्दा नपाएको अभिव्यक्ति प्रति महासचिव पोखरेलले गलत भएको दाबी गरे । ‘मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बास्कोटाले अर्का नेता शेरबहादुर तामाङप्रति कडा कटाक्ष गरेका थिए ।  आफू तामाङजस्तो चरम अवसरवादी पात्र नभएको उनले सामाजिक सञ्जालमै लेखे । बास्कोटाले तामाङलाई आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्रको संज्ञा दिए । 

‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लगेछन्,’ बास्कोटाले लेखेका छन्, ‘म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका ईतिहास हेरौँ न ।’ 

यसअघि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता तामाङले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताएका थिए । 

एमालेले टुंग्यायो समानुपातिक सांसद्

नेकपा एमालेले समानुपातिक सांसदको टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ । 

जसमा जनजाति क्लष्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य गरी ४ जनालाई पठाएको छ । 

खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् । थारु क्लष्टरबाट कृपाराम राणा दलिततर्फ विष्णुमाया वी.के.र नीता घटानीलाई सिफरिस गरेको छ भने मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डललाई पठाएको छ । मुस्लिमतर्फ साजिदा सिद्दीकीलाई सांसद बनाएको छ ।

सम्बन्धित खबर