
काठमाडौं : यसपटको चुनावमा हेभिवेट भनिएका अधिकांश नेताहरू पराजित हुन पुगेका छन् ।
केपी शर्मा ओली, माधव कुमार नेपाल, शेखर कोइराला, शंकर पोखरेल, प्रदीप पौडेल, उपेन्द्र यादव, सिके राउत लगायतका नेताहरूले चुनावी हार बेहोरेका हुन् ।
२०४८ साल यताका हरेक चुनावमा उम्मेदवार रहेका एमालेका अध्यक्ष ओलीले राजनीतिक जीवनमा दोस्रोपटक हार बेहोरे । २०६४ सालमा पहिलो हार बेहरेका ओलीलाई यसपटक रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हराइदिए ।
चार पटक मुलुकको नेतृत्व सम्हालिसकेका पूर्वप्रधानमन्त्री ओली आफ्नै गढ झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ४९ हजार ६१४ मतको फराकिलो मतान्तरले पराजित भएका हुन् ।
मतपरिणाम विवरण अनुसार बालेन शाहले ६८ हजार ३४८ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मत मात्रै पाए ।
२०७४ मा २८ हजार र २०७९ मा २८ हजारकै मतान्तरले जितेका ओलीले यसपटक ४९ हजार ६१४ मतान्तरले पराजित भएका हुन् ।
अर्का पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि पराजित भए ।
उनी रौतहट–१ मा उम्मेदवार थिए । तर, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भए । यहाँ नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो हुँदा नेकपाका सहसंयोजक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भए ।
चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकालेका हुन् । एमालेका उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए । गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन् । नेकपाबाट उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरेका छन् । उनी यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका थिए ।
शेखर कोइराला, शंकर पोखरेल, प्रदीप पौडेल, उपेन्द्र यादव, सिके राउत लगायतका नेताहरूले चुनावी हार बेहोरेका हुन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ ६ मा पराजित भए ।
उनले यस क्षेत्रबाट विजयी भएकी रास्वपाकी उम्मेदवार रूविना आचार्यलाई बधाई पनि दिएका छन् ।
आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरे ।
मोरङ– ६ मा स्थापित दलका हेभिवेट नेता क्षेत्रमा रुविनाको उदयले डाक्टर शेखर कोइरालाको राजनीतिक भविष्यलाई चुनौतिपूर्ण बनाएको छ ।
शंकर पोखरेल र प्रदीप पौडेलले पनि चुनाव हारे । काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भए । उनी ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भए ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार एक सय ५९ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा एमालेका ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९ मत पाए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव हारे ।
झापा– ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई हराउँदै रास्वपाका प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याउन सके । पाठकले लिङ्देनलाई २१ हजार ३८० मतले पराजित गरेका हुन् ।
भीमबहादुर रावलले पनि चुनाव हारे । यसपटक अछाम–१ मा पराजित भएका हुन् ।
उनी ५ सय २६ मतको अन्तरमा कांग्रेसका भरतबहादुर स्वाँरसँग हारे । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय २३ मत ल्याए ।