
काठमाडौं : अत्यन्त प्रतिकुल निर्वाचन परिणाम आएपछि भदौ २३ अघि मुुलुकको सत्ता सञ्चालन गरिरहेका राजनीतिक दलहरु गम्भिर आत्मसमीक्षा गर्ने तर्फ लागेका छन् ।
प्रारम्भिक परिणाम, रुझान र समानुपातिक तर्फको मतले समेत मतदाताहरु पुराना दल प्रति अत्यन्त विकर्षित रहेको देखाएको छ । यसले दलहरुलाई गम्भिर आत्मसमिक्षा गर्न बाध्य पारेको नेताहरु बताउँछन् ।
मध्यान्नसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले छिटै केन्द्रीय कार्यसमितिको बैठक बसेर चुनावी परिणाम बारे समीक्षा गर्ने र आगामी वैशाखमा हुने विशेष महाधिवेशनमा त्यसबारे निकर्षात्मक छलफल गरिने बताए ।
अहिलेको चुनावी परिणामको संकेत २०७९ सालको स्थानीय चुनाव, त्यसपछिको आम निर्वाचनले नै गरिसकेको बताउँदै त्यसलाई चिन्न र बुुझ्न नसक्दा दलहरुले यस्तो परिणाम भोग्नु परेको भनाई उनको छ । त्यसलाई थप गति दिने काम भदौ २३ का घटनाले गरेको बताउँदै महामन्त्री शर्माले त्यसपछि पनि दलहरुले सम्हालिने समय गुमाएको बताए । पार्टी सभापति गगन थापा र आफूहरुले त्यसलाई सच्चाउने प्रयास गरेका पनि समय कम भएकाले चुनावमा त्यसले काम नगरेको भनाई पनि उनको थियो ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले चुनावको परिणाम र पार्टीको प्रस्तुतीबारे वस्तुनिष्ठ समीक्षा गरिने बताउँदै परिवर्तनको पक्षमा चलेको लहरले यस्तो परिणाम ल्याएको बताए ।
अब जनताले परिवर्तन के के कुरामा गरिन्छ, रास्वपाले चाहेको नीतगत परिवर्तन हो वा शैलीगत परिवर्तन भन्ने कुरा नियाँल्ने भनाई उनको थियो । ‘रास्वपाले जन अपेक्षा अनुरुप र राष्ट्रिय स्वाभिमान रक्षा गर्दै सरकार चलाओस् भन्ने चाहान्छौं । हामी भने गम्भिर आत्मसमिक्षा गर्दै अघि बढने छौं’, ज्ञवालीको भनाई थियो ।
नेपाली कम्युुष्टि पार्टीकी नेतृ पम्फा भुुषाल परिणामका लागि अरु तिर औंला तेस्र्याउनु भन्दा आफैं तिर फर्किएर हेर्नु पर्ने अवस्था आएको बताउँछिन् । ‘हामीले व्यवस्था परिवर्तन गर्यौं, अब सत्तामा जानेहरुलाई अवस्था परिवर्तन गर्न दिऔं र हामी आत्म समीक्षातर्फ लाऔं’, उनले भनिन्।
राप्रपा नेता भूवन पाठकले जनताको आक्रोश राप्रपातर्फ नभए पनि ठूला दलप्रतिको आक्रोशको घानमा परेको बताए । यद्यपी आफ्नो पार्टीले समेत अप्रत्यासित धक्का खाएकोले यसको कारण र समधानका उपायबारे निर्मम समीक्षा गरिने बताए ।