
काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा जाने भएको छ । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सातबुँदे सहमति गर्दै बालेनले दलीय राजनीति सुरु गरेका छन् । उनीहरू मिलेर चुनावमा जाने भएपछि वैकल्पिक दाबी गर्दै आएका दल र जेनजी समूहमा उत्साह देखिएको छ । गत निर्वाचनबाट उदाएका यी दुई नेता एकठाउँ उभिए निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ ।
नयाँ शक्तिहरूबीचको एकताले आउँदो चुनावमा वैकल्पिक धार बलियो हुने अड्कलबाजी सुरु भएको छ । जेनजी आन्दोलनका अगुवाले पुराना दलहरूको विकल्प खोजिरहेका बेला भएको सहमतिले वैकल्पिक शक्तिलाई मूलधारमा ल्याउने विश्लेषण पनि गर्न थालिएको छ । केहीले भने पदीय भागबन्डासहित गरिएको सहमतिलाई स्वार्थको रोटी सेकाइ भनेका छन् ।
जेनजी अगुवाहरूको भरपर्दो दल निर्माण नभइरहेका बेला रवि–बालेन एकताले नयाँ पुस्ताको मत पाउने विश्वास रास्वपा नेताहरूको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राज्यसत्तामा उलटफेर आएको थियो । आन्दोलनका क्रममा सत्ता छाडेर भागाभाग भएका पुराना दलका नेता तंग्रिदै गर्दा नयाँ शक्तिबीच ध्रुवीकरण भएको हो । यसले विघटित प्रतिनिधि सभाका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई समेत दबाबमा राख्ने राजनीतिक विश्लेषक बताउँछन् ।
पुराना दलहरूको विकल्पमा रास्वपालगायत नयाँ दलहरू चुनावी रणनीति बनाउँदै छन् । नयाँ शक्तिबीचको ध्रुवीकरणले पुुराना दलमाथि चुनावी नतिजाको त्रास बढाएको देखिन्छ । यद्यपि बहुदलीय पद्धतिमा नयाँ दलहरू आउने कुरालाई सामान्य रूपमा लिनुपर्ने राजनीतिक विश्लेषक पुुरुषोत्तम दाहाल बताउँछन् । ‘बहुदलीय पद्धतिमा नयाँ दलहरू नेतृत्वमा आउने कुरालाई असामान्य रूपमा लिनुहुुँदैन,’ उनले मध्यान्हसँग भने, ‘पहिलेदेखि नै राज्य सत्तामा बसेकाहरू झस्कनुपर्ने कारण छैन । तर उनीहरूले आफूलाई कहाँ उभ्याउँछन् र समयानुुकूल कसरी प्रस्तुुत हुन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
रास्वपा २०७९ को मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा उदाएको थियो । त्यसअघि बालेन नै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लोकप्रिय मतसहित देशकै सबैभन्दा ठुलो महानगरपालिका काठमाडौंको मेयर निर्वाचित भएका हुन् । खासमा बालेनलगायत गैरदलीय उम्मेदवारका रूपमा धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको सफलताबाट प्रेरित भएरै रवि राजनीतिमा आएका हुन् । जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेपछि पाँचवर्षे कार्यकाल पूरा नगरेरै बालेन दलीय राजनीतिमा होमिन लागेका हुन् ।
दुई नेताहरूले आगामी निर्वाचनपछिको राजनीतिक जिम्मेवारीसमेत तोकेर सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार रवि रास्वपाको सभापतिमा कायम रहने र बालेन दोस्रो वरीयताका साथ भावी प्रधानमन्त्रीका लागि निर्वाचनपछि संसदीय दलको नेता बन्ने सहमति भएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले भन्छन्, ‘पार्टीको नेतृत्व रवि र सरकारमा पुगेको खण्डमा बालेनले नेतृत्व गर्ने भन्ने भइसकेपछि पार्टीमा उहाँलाई वरिष्ठ नेताको भूमिकामा राख्नेछौं ।’
रास्वपाको समानुपातिक सूचीमा बालेनको भागमा ४० जना र रास्वपाको कोटामा ७० जना पठाउने सहमति भएको छ । निर्वाचन आयोगमा सोमबारसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ कम्तीमा १० र बढीमा १ सय १० जनाको नाम बुझाउनुपर्छ । दलहरू अहिले समानुपातिक बन्द सूची तयार गर्ने काममा व्यस्त भइरहेका बेला पार्टी एकता भए पनि रास्वपाका तर्फबाट आउने उम्मेदवार छनोट पार्टीको आन्तरिक मतदान प्रक्रियाबाटै हुने भएको छ । तर बालेनका तर्फबाट आएकालाई सूचीमा राख्ने योजना रहेको रास्वपाका उपसभापति एवं संवाद समितिका संयोजक वाग्ले बताउँछन् । ‘रास्वपाका तर्फबाट सिफारिस भएका उम्मेदवारहरू पुरानै विधिबाट छनोट हुन्छ,’ उनले मध्यान्हसँग भने, ‘बालेनका तर्फबाट सिफरिस भएर आउने उम्मेदवारहरूलाई १ सय १० को सूचीमा पार्नेगरी गृहकार्य भइरहेको छ ।’
पुराना राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूले समेत यो मिलनलाई सकारात्मक टिप्पणी गरेका छन् । कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रमा राजनीति दल वा समूहबीचको मिलनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले मध्यान्हसँग भने, ‘मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा डो¥याउन राजनीतिक दल वा संगठित शक्ति मिल्नुु लोकतन्त्रमा स्वागतयोग्य नै हुन्छ । तर त्यसले राजनीतिक वैचारिक धार समाउन सकेन वा सिद्धान्तमा प्रस्टता भएन भने त्यो केवल स्वार्थको मिलन मात्रै हुन्छन् ।’ कांग्रेसलगायत स्थापित दलहरूले पनि सच्चिएर मुलुक र जनताको हितमा मिल्न सक्नुपर्ने उनको भनाइ छ ।
नेपालको राजनीतिक इतिहासमा यस्ता अनेकौं सहमति कागजमै सीमित भएका उदाहरण छन् । त्यसैले वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएका रवि र बालेनबीचको सहमति यसअघि पुराना दलका नेताबीच भएका सहमतिजस्तै ‘कागजमै सीमित’ हुने त होइन भन्ने प्रश्नसमेत उब्जिएको छ । रवि र बालेनबीच भएको सहमतिलाई कतिपयले २०७४ मा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिकै ‘फोटोकपी’का रूपमा पनि टिप्पणी गरेका छन् । ओली र प्रचण्डले पार्टी एकतासहित भावी प्रधानमन्त्रीका लागि गरेको सहमतिकै शैलीमा अहिले रवि र बालेनबीच सहमति भएको राजनीतिक विश्लेषक मुमाराम खनालले बताए । चुनावी गठबन्धनपछि पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल आधाआधा बाँड्ने ओली–प्रचण्ड सहमति थियो । तर ओलीले आनाकानी गरेपछि प्रचण्डले कार्यकारी अध्यक्ष बन्नेगरी अर्को सहमति गरे । त्यो भूमिका पनि नपाएपछि नेकपामा कलह निम्तिएको थियो । सोही कारण नेकपा विभाजन हुन पुगेको थियो ।
‘नेपालको राजनीतिक इतिहासमा यस्ता सहमति बारम्बार भइरहेको छ,’ विश्लेषक खनालले मध्यान्हसँग भने, ‘राजनीतिक एजेन्डाका सहमति के हुन् ? भन्ने थाहा नहुँदासम्म स्वार्थका सहमतिहरूले देशलाई निकास दिने सामथ्र्य राख्दैनन् । पुराना दलहरूलाई विस्थापित गर्न नयाँहरूको बिचमा सहमति भयो भन्नुले राजनीति रूपमा एउटा अर्थ लाग्ला तर यथार्थमा त्यसले राजनीतिक एजेन्डाको तहमा खासै काम गर्ला भन्ने लाग्दैन ।’
जेनजी आन्दोलनपछि नवयुुवालाई समेट्नुपर्छ र वैकल्पिक सुसंस्कृत राजनीति गर्ने अभियान्तासमेत समेटेर विश्वसनीय विकल्प दिनुपर्छ भन्ने लामो पहलपछि एकता सम्भव भएको सभापति वाग्लेले बताए । उनले भने, ‘विगत एक महिनामा विवेकशील साझा पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहको टिमलाई रास्वापमा समायोजन गरेर दुईवटा महत्वपूर्ण सफलता हासिल गरेका छौं, यसले निकै सकारात्मक सन्देश दिएको छ ।’ कुलमान घिसिङले पार्टीको कार्यकारी भूमिका नै खोजेपछि कुरा मिल्न नसकेको उनको दाबी छ । ‘रवि लामिछानेले बडो दुखका साथ पार्टी निर्माण गरेर यहाँसम्मको उचाइमा पुर्याउनुभएकाले उहाँलाई अहिले मानमर्दन गर्नुहुँदैन भन्ने पार्टीपंक्तिको निर्णयअनुसार अघि बढेका हौं,’ वाग्लेले भने ।
नयाँ शक्तिहरूको एकतासँगै पुुराना दलका शीर्ष नेताहरूमा उकुसमुकुसको अवस्थामा पुगेका छन् । कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरू पनि आगामी निर्वाचनबारे नयाँ रणनीतिको गृहकार्य गरिरहेका छन् । कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल, हर्क साम्पाङको श्रम संस्कृति पार्टी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाललगायत एकता र नयाँ ध्रुवीकरणकै प्रक्रियामा छन् । रवि–बालेनसँगको एकता प्रयासमा कुरा नमिलेका उज्यालो नेपालका कुलमान र बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि छलफल जारी रहेको प्रलोपाका केन्द्रीय सदस्य राजमान तामाङले बताए ।