२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

नेपाल बुढ्यौलीतर्फ, छैन राज्यको तयारी

Nada
भावना पाठक
२०८३ असोज १५ गते ०६:३०
Shares
नेपाल बुढ्यौलीतर्फ, छैन राज्यको तयारी

काठमाडौं : काठमाडौं डल्लुका ७९ वर्षीय राजबहादुर मानन्धर विगत १३ वर्षदेखि काठमाडौंको एक हेल्थ केयरमा बस्दै आएका छन् । उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन् । झन्डै ६० वर्षको उमेरसम्म अध्यापन गरेका मानन्धरले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए । उनकी श्रीमती बाथरोगबाट पीडित थिइन् । श्रीमतीको हेरचाहका लागि उनी हेल्थ केयरमा पुगेका थिए । श्रीमतीको निधन भएपछि पनि उनी त्यहीँ बस्दै आएका छन् ।

ncell

‘छोराछोरी वर्ष दिनजतिमा भेट्न आइरहन्छन् । यता बसेदेखि यतै रमाइलो लाग्छ,’ उनले भने । उमेर बढ्दै गएपछि स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र एक्लै बस्न कठिन हुने भएकाले आफू हेल्थ केयरमा बसिरहेको उनले बताए ।

६८ वर्षीय रामप्रसाद श्रेष्ठको अवस्था पनि उस्तै छ । उनका दुई छोरा अस्ट्रेलियामा छन् । मुटुरोगी श्रेष्ठ हालै शल्यक्रिया गरेपछि नियमित हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन् ।

आफ्नो हेरचाह आफैं गर्न कठिन भएपछि हेल्थ केयरमा आएको उनी बताउँछन् । करिब ४० जना ज्येष्ठ नागरिकसँग बस्दा घरमा हुने एक्लोपन महसुस नहुने उल्लेख गर्दै भन्छन्, ‘यहाँ सबै उमेरका साथीहरू छन् । घरमा एक्लै बस्नुपर्ने अवस्था हुँदैन ।’

मुटुरोगी विनोद श्रेष्ठका छोराहरू पनि अस्ट्रेलियामा छन् । उनले सन्तानसँगै विदेश जान चाहेनन् । घरमा एक्लै बस्न नसक्ने भएपछि भने उनी तीन वर्षअघि हेल्थ केयरमा पुगेका हुन् । बसोबास र खानाका साथै नियमित स्वास्थ्य परीक्षण तथा नर्सको हेरचाहका कारण दैनिक जीवन सहज भएको उनी बताउँछन् । 

यी ज्येष्ठ नागरिकका लागि हेल्थ केयर परिवारको विकल्पजस्तै बनेको छ । अभिभावकसँग बस्न सम्भव नभएका सन्तान वा आफैंले खर्च व्यवस्थापन गर्न सक्ने ज्येष्ठ नागरिकले निश्चित रकम तिरेर यस्ता सेवाको उपयोग गरिरहेका छन् ।

नेपालमा ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहलाई लक्षित गर्दै निजी हेल्थ केयर तथा होम केयर सेवा सञ्चालन हुने क्रम बढेको छ । जसले ज्येष्ठ नागरिकलाई पारिवारिक माहोलमा हेरचाह र उपचार गरिरहेका छन् ।

विगत डेढ दशकदेखि यस्तै सेवा दिँदै आइरहेको सानेपास्थित हेल्थ होम केयर नेपालमा अहिले ४० भन्दा धेरै ज्येष्ठ नागरिक आश्रित छन् । हेल्थ होम केयरकी अध्यक्ष प्रा.डा. लोचना श्रेष्ठका अनुसार संस्थामा बस्ने ज्येष्ठ नागरिकमध्ये करिब आधाका छोराछोरी विदेशमा छन् ।

‘स्वदेशमा राम्रो शिक्षा र रोजगारीको अवसर नपाएर विदेश जाने र उतै बस्ने क्रम बढेको छ । कतिपय अवस्थामा छोराछोरीले बाबुआमालाई विदेश लैजान सक्दैनन् । बाबुआमालाई पनि विदेशमा बस्न सहज हुँदैन,’ उनले भनिन्, ‘त्यसैले नेपालमै बाबुआमाको हेरचाह गर्ने व्यवस्थाको आवश्यकता बढेको छ ।’

आर्थिक रूपमा सबल ज्येष्ठ नागरिकका लागि निजी केयर सेन्टरले राम्रो सेवा दिँदै आइरहेका छन् । यसमा सीमित ज्येष्ठ नागरिकले मात्र सेवा पाइरहेका छन् । न्यून आर्थिक अवस्था भएका ज्येष्ठ नागरिक भने अहिले पनि दयनीय अवस्थामा छन् ।

परम्परागत रूपमा नेपालमा ज्येष्ठ नागरिकको हेरचाह परिवारका सदस्यले नै गर्ने चलन छ । संयुक्त परिवारमा बाबुआमा, छोराछोरी र नातिनातिना एउटै घरमा बस्ने भएकाले ज्येष्ठ सदस्यको हेरचाह परिवारबाटै हुने गरेको थियो । तर पछिल्लो समय परिवारको संरचना परिवर्तन हुँदै गएको छ । शिक्षा र रोजगारीका लागि आन्तरिक तथा बाह्य बसाइँसराइ बढेसँगै युवा पुस्ता लामो समय विदेशमा बस्न थालेपछि नेपालमा रहेका बाबुआमा एक्लै बस्नुपर्ने अवस्था बढेको छ ।

विशेषगरी अध्ययनका लागि विदेश गएका युवा उतै रोजगारीमा लाग्ने र स्थायी बसोबासको अनुमति लिएर बस्ने क्रम बढेपछि बाबुआमाको हेरचाहमा कठिनाइ बढ्दै गएको छ । विदेशमा रहेका छोराछोरीले आर्थिक सहयोग गरे पनि अस्पताल लैजाने, औषधि खुवाउने, खाना तथा दैनिक काममा सहयोग गर्नेजस्ता कामका लागि उनीहरू नेपालमा उपस्थित हुन सक्दैनन् । यस्तो अवस्थामा परिवारमा आधारित हेरचाह प्रणाली मात्र पर्याप्त नहुने विज्ञहरू बताउँछन् । 

बढ्दै छ ज्येष्ठ नागरिकको जनसंख्या 

नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढिरहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ६० वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या २९ लाख ७७ हजार ३१८ छ । यो कुल जनसंख्याको १०.२१ प्रतिशत हो । एक दशकअघि २०६८ को जनगणनामा ज्येष्ठ नागरिकको संख्या ८.१ प्रतिशत थियो ।

नेपालको कानुनले ६० वर्षको उमेरलाई ज्येष्ठ नागरिक मानेको छ । जनगणनाअनुसार २००८ सालमा ६० वर्षमाथिको जनसंख्या कुल जनसंख्याको पाँच प्रतिशत थियो । २०४८ सालमा ५.८ प्रतिशत, २०५८ सालमा ६.५ प्रतिशत रहेको ज्येष्ठ नागरिक संख्या दुई दशकमा १०.२ प्रतिशत पुगेको हो । दुई दशकमा ज्येष्ठ नागरिकको जनसंख्या ३.७ प्रतिशत विन्दुले बढेको छ ।

यससँगै युवाको विदेश पलायनले पनि नेपालमा रहेका ज्येष्ठ नागरिकको सामाजिक अवस्थालाई प्रभावित गरिरहेको छ । २०७८ सालको जनगणनाअनुसार विदेशमा बस्ने जनसंख्या ७.५ प्रतिशत थियो । राष्ट्रिय तथ्यांक कार्यालयले युवा जनसंख्या विदेशमा रहने क्रम बढ्दा नेपालमा रहेका ज्येष्ठ नागरिकमा एक्लोपन तथा सामाजिक र स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने उल्लेख गरेको छ ।

विश्वभरि नै ज्येष्ठ नागरिकको संख्यामा उल्लेख्य वृद्धि हुँदै गइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२३ मा विश्वमा ६० वर्ष वा सोभन्दा माथिका करिब १.१ अर्ब मानिस थिए । यो संख्या सन् २०३० सम्म १.४ अर्ब र सन् २०५० सम्म २.१ अर्ब पुग्ने अनुमान छ ।

डब्लुएचओका अनुसार सन् २०३० सम्म विश्वका प्रत्येक छ जनामध्ये एकजना ६० वर्ष वा सोभन्दा माथिको हुनेछन् । सन् २०५० सम्म विश्व जनसंख्यामा ६० वर्षमाथिको हिस्सा करिब २२ प्रतिशत पुग्ने अनुमान छ ।

वृद्ध जनसंख्या बढ्ने क्रम विकसित मुलुकमा मात्र सीमित छैन । सन् २०५० सम्म विश्वका ६० वर्षमाथिका करिब ८० प्रतिशत मानिस निम्न तथा मध्यम आय भएका देशमा बस्ने डब्लुएचओको अनुमान छ ।

मानिसको औसत आयु बढ्दै जानु र जन्मदर घट्नु ज्येष्ठ नागरिकको संख्या बढ्नुका प्रमुख कारण हुन् । स्वास्थ्य सेवा, पोषण, सरसफाइ तथा रोग नियन्त्रणमा भएको सुधारले मानिसको आयु बढाएको छ । अर्कोतर्फ धेरै देशमा जन्मदर घट्दै जाँदा बालबालिका तथा युवा जनसंख्याको हिस्सा घटिरहेको छ ।

औसत आयु बढ्नु आफैंमा सकारात्मक कुरा भए पनि ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा राज्यले कस्तो पहल गरिरहेको छ भन्ने मुख्य प्रश्न भएको ज्येष्ठ नागरिकविज्ञ डा. होमनाथ चालिसे बताउँछन् । ‘आजभन्दा ५० वर्ष अघि हाम्रो औसत आयु छुट्टै थियो, अहिले ७१ वर्ष बढी छ,’ उनी भन्छन्, ‘अझ बढ्नेवाला छ । राज्यले दिइरहेको आधारभूत सेवा सुविधा पनि अपर्याप्त हुन सक्छ ।’ 

राज्यले दिएको मासिक भत्ताले मात्र ज्येष्ठ नागरिकको सम्मान भएको मानिँदैन । ‘विकसित देशमा पनि एउटा निश्चित उमेर भएदेखि बुढेसकालको लागि भनेर राज्यकोषमा रकम जम्मा गर्ने प्रचलन छ । नेपालमा राज्यले एकोहोरो सेवा दिइरहेको छ । राज्यले यस्तो प्रणाली कतिसम्म धान्न सक्छ भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ,’  उनले भने । 

महिनाको चार हजारले निम्न आय भएकाको व्यवहार धानिएको उनको बुझाइ छ । ‘यस्तो सेवा आवश्यकता भएकाले मात्र पाउने हो भने अझ राम्रो हुन्थ्यो,’ चालिसे भन्छन् । यस्तो अवस्था पहिचान गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने उनी बताउँछन् ।

अहिले ज्येष्ठ नागरिकका लागि नर्सिङ होम सेवा सुरु हुनुपर्ने आवाज तीव्र उठेको छ । ‘विकसित देशहरूमा भएको अभ्यासलाई नेपालले पनि केही हदसम्म चलाउने प्रयास गरेको देखिन्छ,’ उनी भन्छन्, ‘निजी क्षेत्रबाट यस्ता सेवा सुचारु भएका पनि छन्, तर यसले समग्र प्रणालीलाई समेट्न सक्दैन ।’ यस्ता कुरामा सरकारले निश्चित मापदण्ड बनाएर समुदायलाई नै परिचालन गर्नुपर्ने उनी बताउँछन् ।

ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिको तुलनामा राज्यले उनीहरूको सुखद उत्तरार्धकालका लागि आवश्यक तयारी गरेको भने देखिँदैन । अब सार्वजनिक सवारी, आवास भवन, सार्वजनिक स्थलहरू ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेछ । जीवनभर राज्यलाई योगदान गरेका आफ्ना नागरिकको जीवनका उत्तरार्धलाई सुखद बनाउन राज्यले प्रस्ट नीति र आवश्यक तयारी गर्नुपर्ने डा. चालिसे बताउँछन् । 

भत्तादेखि स्वास्थ्य र संरक्षणसम्म

ज्येष्ठ नागरिकको हक, हित र संरक्षणका लागि नेपाल सरकारले कानुनी, सामाजिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी विभिन्न व्यवस्था गरेको छ ।

नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने सुनिश्चित गरेको छ । यही व्यवस्थालाई कार्यान्वयन गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू गरिएको हो ।

ऐनले ज्येष्ठ नागरिकको संरक्षण तथा सामाजिक सुरक्षा गर्ने, उनीहरूको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने तथा उनीहरूप्रति श्रद्धा, आदर र सद्भाव अभिवृद्धि गर्ने व्यवस्था गरेको छ ।

सरकारको ज्येष्ठ नागरिकलक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो । हाल ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । साविक कर्णालीका ६० वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक दुई हजार ६६० रुपैयाँ भत्ताको व्यवस्था छ ।

नेपालमा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात २०५१ सालमा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको थियो । त्यतिबेला ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता दिने व्यवस्था गरिएको थियो । त्यसपछिका सरकारले पनि कार्यक्रमलाई निरन्तरता दिँदै भत्ताको रकम र लाभग्राहीको दायरा क्रमशः बढाउँदै लगे । हरेक निर्वाचनमा वृद्धभत्ता चुनावी नारा बन्ने गर्दछ । 

तर ज्येष्ठ नागरिकको आवश्यकता भत्तामा मात्र सीमित छैन । ऐनअनुसार सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नुपर्ने र भाडामा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ । स्वास्थ्य संस्थामा उपचारका क्रममा प्राथमिकता तथा तोकिएको सेवामा छुटको व्यवस्थासमेत गरिएको छ ।

नयाँ नीतिको मस्यौदामा के छ ? 

सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३ को मस्यौदासमेत अघि बढाएको छ । मस्यौदामा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, सार्वजनिक यातायात तथा सेवा विकास गर्ने, जोखिममा रहेका ज्येष्ठ नागरिकलाई विशेष संरक्षण दिने र तीनै तहका सरकारमा ज्येष्ठ नागरिकसम्बन्धी प्रणाली विकास गर्ने प्रस्ताव गरिएको छ ।

स्थानीय तहमा ज्येष्ठ नागरिक स्रोत तथा सूचना केन्द्र, घुम्ती सेवा, दिवा सेवा तथा हेरचाह केन्द्र सञ्चालनको अवधारणासमेत मस्यौदामा अघि सारिएको छ । प्रविधि सिकाइ, सहुलियतपूर्ण ऋण तथा स्थानीय तहमा ज्येष्ठ नागरिकलाई सल्लाहकार वा विज्ञका रूपमा सहभागी गराउने विषय पनि समेटिएका छन् ।

अशक्त, असहाय, एकल, बेवारिसे तथा हिंसा वा उपेक्षामा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षणको व्यवस्था गर्ने प्रस्ताव पनि मस्यौदामा छ ।

यी व्यवस्थाले ज्येष्ठ नागरिकको आवश्यकता सामाजिक सुरक्षा भत्ताभन्दा धेरै फराकिलो रहेको देखाउँछन् । उमेर बढ्दै जाँदा नियमित स्वास्थ्य परीक्षण, औषधि, उपचार, सुरक्षित आवास र दैनिक हेरचाहको आवश्यकता बढ्छ । विशेषगरी छोराछोरी विदेशमा रहेका वा परिवारको नियमित साथ नपाएका ज्येष्ठ नागरिकका लागि यस्तो सेवा अझ महत्त्वपूर्ण हुन्छ ।

नेपालमा वैदेशिक रोजगारी दर उच्च छ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्र नेपालबाट करिब ७ लाख ९२ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसको मतलव काम गर्न सक्ने युवा बिदेसिनु हो । जसले पारिवारिक संरचनामै दख्खल पार्ने विज्ञहरूको बुझाइ छ ।  जसको मारमा नेपालका ज्येष्ठ नागरिक पर्ने गरेका छन् । 

६ मध्ये एक ज्येष्ठ नागरिकमाथि हुन्छ दुर्व्यवहार

ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा उनीहरूको सुरक्षा र सम्मानको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने ६० वर्षमाथिका करिब ६ मध्ये एक ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन् । यसमा शारीरिक तथा मानसिक हिंसा, आर्थिक शोषण, उपेक्षा, परित्याग र भावनात्मक दुर्व्यवहारसमेत पर्छ ।

उपलब्ध अध्ययनमा मनोवैज्ञानिक दुर्व्यवहार सबैभन्दा बढी देखिएको डब्लुुएचओले जनाएको छ । आर्थिक शोषण, उपेक्षा र शारीरिक हिंसाका घटनासमेत उल्लेख्य छन् ।

ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा यस्तो दुर्व्यवहारको जोखिममा पर्ने नागरिकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । यति संख्यामा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार हुने गरेको छ भन्ने तथ्यांक नेपालसँग छैन । यद्यपि नेपालका विभिन्न ठाउँमा सन्चालनमा रहेका वृद्ध आश्रमलाई हेर्ने हो भने त्यहाँ रहेका अधिकांश ज्येष्ठ नागरिक पारिवारिक दुर्व्यवहारमा परेका छन् । आफ्नै सन्तानले हेरचाह गर्न इन्कार गरेका अभिभावक त्यहाँ देख्न सकिन्छ । 

सबै ज्येष्ठ नागरिकलाई एकै ठाउँमा राखेर हेर्दा अन्याय हुने ज्येष्ठ नागरिकविज्ञ डा. चालिसे बताउँछन् । राज्यले दिने आधारभूत सुविधा सबै ज्येष्ठ नागरिकको अधिकार हो तर विशेष सुविधा कसलाई आवश्यक छ यसमा राज्यले अध्ययन गर्नुपर्ने उनको तर्क छ । नेपालका लागि यो विषय अझ महत्त्वपूर्ण छ । परिवारको संरचना बदलिँदै छ, युवा पुस्ताको ठुलो हिस्सा रोजगारी वा अध्ययनका लागि विदेशमा छ र वृद्ध हुँदै गएका बाबुआमा नेपालमै छन् । यस्तो अवस्थामा आर्थिक सहयोग मात्र पर्याप्त नहुन सक्छ ।

सम्बन्धित खबर