२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

नेपाल प्रहरीको मनोबल बढाऊ

shivam cement
२०८२ भदौ ३१ गते ०६:१०
नेपाल प्रहरीको मनोबल बढाऊ

जेनजी विद्रोह (२३–२४ भदौं)पछि जनजीवन सामान्य बन्दै छ । तर आन्दोलन भड्किँदा पीडित र आमनागरिकले आक्रोश पोखेको नेपाल प्रहरीको मनोबल नराम्ररी गिरेको छ । २४ भदौमा नेपाल प्रहरीसँग आमनागरिकको आक्रोश त छँदै थियो । त्यसैमा अराजक समूहहरू थपिएका थिए । संसद् भवन सुरक्षार्थ खटिएका प्रहरीको अस्वाभाविक बल प्रयोगको रिस उनीहरूले देशभरका प्रहरी कार्यालयमा पोखिरहेका थिए । सयौं प्रहरी त्यसको मारमा परे । ठाउँठाउँमा उनीहरूको बर्दी मात्र उतारिएनन्, निर्मम र अमानवीय ढंगले हत्यासमेत गरियो । पोसाक र बुट मात्र होइन, प्रहरीका हतियारसमेत खोसेर प्रदर्शन गरिए । त्यो कठिन परिस्थितिमा नेपाल प्रहरीले न अन्य सुरक्षा फौजको साथ पाए, न त आमनागरिक प्रहरीको पक्षमा उभिए । सर्वसाधारणसँग सबैभन्दा नजिकको सुरक्षाकर्मीमाथि जुन ढंगले आक्रमण गरियो, त्यसबाट सयौं प्रहरीचौकी आक्रमण, लुटपाट र आगजनीको सिकार बने । जसका कारण हजारौं प्रहरी कार्यालयविहीन हुन पुगेका छन् । विनाबर्दी ड्युटीमा खटिएका दृश्यहरू राजधानी काठमाडौंमा देखिएको छ । 

शान्तिपूर्ण भनिएको जेनजी आन्दोलन भड्किएर बल प्रयोग गर्ने स्थिति आउनु पक्कै पनि सुखद थिएन । स्कुल, कलेजका कलिला किशोरकिशोरीसमेत सहभागी आन्दोलनमा जसरी बर्बर दमन गरियो, त्यो सबैभन्दा ठुलो दुर्भाग्य थियो । त्यो परिस्थिति आउनुमा को–कति जिम्मेवार रहे भन्ने समीक्षा इतिहासले गर्ला । त्यसभन्दा पहिले अन्तरिम सरकारले सोमबार न्यायिक छानबिन गर्ने नीतिगत निर्णय गरिसकेको छ । तर अहिले नै प्रहरी कार्यालय पुनर्स्थापना र सेवा सञ्चालनका कठिनाइ उत्पन्न भइसकेको छ । दशक लामो सशस्त्र द्वन्द्वपछि गाउँगाउँ र टोलटोलमा पुगेको प्रहरी सेवा नराम्ररी प्रभावित भएको छ । अराजक हिंसापछि टोलमा चोरी र लुटपाट बढ्न थालेपछि सर्वसाधारण आफैंले गस्ती गर्न थालेका छन् । आफ्नै टोलबस्तीमा अकारण प्रहरीचौकीमाथि आक्रमण हुँदा गुहार दिनसमेत नसकेकामा स्थानीय बासिन्दामा ठुलो पछुतो देखिन्छ । त्यसैले उठेका चौकी फर्काउन डेलिगेसन जाने र भताभुंगचौकी सरसफाइ र मर्मतमा सहयोग गर्न थालेका छन् ।  

विधिको शासन र कानुनीराज कागजमा भएर मात्र हुँदैन । त्यसलाई कार्यान्वयन गर्न र आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्न सुरक्षाका अंगहरू व्यवस्थित ढंगले परिचालन हुनुपर्छ । राज्यका ती निकायहरूले उच्च मनोबलका साथ सेवा दिनुपर्छ । त्यसका लागि अहिले नेपाल प्रहरीको मनोबल बढाउनुपर्ने खाँचो छ । नेपाल सरकारले प्रहरीचौकी मर्मत र अस्थायी बन्दोबस्त मिलाएर भए पनि आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने वातावरण बनाउनुपर्छ । जनआक्रोश र अराजक समूहको आक्रमणमा परी घाइते भएका प्रहरीको उपचारको उचित प्रबन्ध मिलाउनुपर्छ । प्रहरीको मनोबल बढाउन सरकार मात्र होइन, निजी क्षेत्र तथा आमनागरिकले पनि आवश्यक सहयोग गर्नुपर्छ । तब मात्र शान्ति सुरक्षा र अमनचयनका लागि ‘प्रहरी मेरो साथी’ भन्ने नाराले सार्थकता पाउनेछ ।

ADV

सम्बन्धित खबर

Advertise