रौतहट : २०६३ चैत ७ गते गौरको राईस मिलमा भएको झडपमा २७ जनाको हत्या भएको घटनाको अनुसन्धान प्रक्रिया अघि बढेपछि आरोपितहरू तनावग्रस्त देखिएका छन् । जिल्ला प्रहरी कार्यालय गौरमा दर्ता रहेका जाहेरी निवेदन तथा सर्वोच्च अदालतको परमादेशपछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
साथै, तत्कालिन समयमा रौतहटमा क्रियाशील राजनीतिकर्मी र नागरिक समाजका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको र अनुसन्धान अघि बढ्दा आरोपितहरूमा आशंका बढेको बताइएको छ ।
पूर्वप्रधानाध्यापक रामेश्वर राय यादवले अदालतको निर्णय र प्रहरी प्रक्रियाले मानसिक यातना दिएको बताए । उनले निर्दोषमाथि पनि जाहेरी दर्ता भएकोमा आक्रोश व्यक्त गर्दै आन्दोलन अन्तिम विकल्प रहेको बताए ।
जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्शेदले सरकारको निष्क्रिय व्यवहारप्रति जनताले सडकबाट जवाफ फर्काउने चेतावनी दिए । अधिकांश आरोपितहरूले घटनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन् ।
उक्त हत्याकाण्डका लागि २०६४ असोज ११ गते ७ जना व्यक्तिहरूले अलग–अलग जाहेरी दर्ता गरेका थिए, जसबाट १ सय ३० जना माथि आरोपित बनाइएका हुन् । ७ वटा जाहेरीमा केही व्यक्तिहरूको नाम दोहोरिएको छ ।
प्रहरीले अनुसन्धान अघि बढाएको भएपनि यस विषयमा थप विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी छ । मधेश प्रदेश प्रहरी कार्यालयले पनि तीन पुस्ते संकलनको काम सुरु गरेको जनाएको छ ।
अहिलेसम्म ११ आरोपितको मृत्यु भइसकेको छ । मृतकमा गौर नगरपालिकाका पूर्वमेयर गौरीशंकर यादव, सर्वोच्च अदालतका पूर्वन्यायधीश बलराम सिंह कँुवर, रामकलेवर सिंह, संजिव कुमार यादव लगायतका व्यक्तिहरू छन् ।
अनुसन्धानमा प्रदेश सभाका पूर्वसदस्य, बहालवाला नगरप्रमुख, गाउँपालिका अध्यक्ष लगायतका नेताहरू समेत समावेश हुने बताइएको छ । यसमा मधेश केन्द्रित दलका नेताहरू, नेपाली कांग्रेस, नेकपा एमालेका नेता तथा नागरिक समाजका व्यक्तिहरू पनि पर्नेछन् ।
गौरको उक्त झडपमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादी निकटका राष्ट्रिय मधेशी मुक्तिमोर्चाका कार्यकर्ताबीच सभा विवादमा हिंसा भइ २७ जनाको हत्या भएको थियो । यस क्रममा सयभन्दा बढी घाइते भएका थिए । मृतकमा प्रतिमा खातुन, उषा थापा, चुनु ठाकुर, राजु पटेल, सरस्वती उप्रेती, रामशरण यादव लगायत रहेका छन् ।
घटनाको अनुसन्धान जारी रहेको र सबै आरोपितमाथि कानुनी दायरामा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।