२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

गेरुवाको पशुपति माध्यमिक विद्यालय तीन तारे विद्यालय घोषणा

Nada
सन्तोष पौडेल
२०८२ भदौ १८ गते २२:४३
Shares
गेरुवाको पशुपति माध्यमिक विद्यालय तीन तारे विद्यालय घोषणा

बर्दिया : गेरुवा गाउँपालिका–५ पशुपतिनगरस्थित पशुपति माध्यमिक विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ । २०२० सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० सूचक पूरा गरेपछि गाउँपालिकाले प्रमाणीकरण गर्दै घोषणा गरेको हो । 

ncell

वास गेन्स परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर शाहलाई प्रमाणपत्र प्रदान गर्दै विद्यालयलाई तीन तारे घोषणा गरेका हुन् । 

घोषणा सभालाई सम्बोधन गर्दै सह–महामन्त्री राठौरले विद्यालय तीन तारे घोषणा हुनु विद्यालयले स्वच्छ, सुरक्षित र विद्यार्थीमैत्री वातावरण बनाउन गरेको प्रयासको आधिकारिक मान्यता भएको बताए । उनले भने,‘यो घोषणाको दिगोपन सुनिश्चित गर्न शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहदेखि प्रदेश सरकारसम्म सबैको साझा जिम्मेवारी हुन्छ ।’ साथै, उनले शिक्षा गुणस्तरीय बनाउन शिक्षकहरूले सिकाइमा अझ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले पालिकाका सबै विद्यालयलाई क्रमशः तीन तारे विद्यालय घोषणा गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘तीन तारे विद्यालय अभियानमार्फत हामीले गुणस्तरीय शिक्षा, सुरक्षित विद्यालय र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने दृढसंकल्प गरेका छौं ।’

गाउँपालिकाले विद्यालयस्तरमै खानेपानी, सरसफाइ, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, विपत् जोखिम व्यवस्थापनलगायत १० सूचक समेटिएको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

नेपाल सरकारले ल्याएको तीन तारे पद्धति अनुरूप गुणस्तरीय शिक्षा सुनिश्चित गर्न गाउँपालिकाले अभियान अघि बढाएको बताउँदै वाटर एड नेपालका परियोजना प्रबन्धक उमाशंकर यादवले निकट भविष्यमै पालिकाका सम्पूर्ण विद्यालय तीन तारे घोषणा हुने विश्वास व्यक्त गरे । 

यस अभियानमा युके एड, वाटर एड नेपाल, नेपाल प्रजनन् स्वास्थ्य स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाले सहयोग गरिरहेको छ । हाल पालिकाका ४ माध्यमिक र २ आधारभूत विद्यालयमा वास गेन्स परियोजना सञ्चालनमा छन् । 

सो अवसरमा विद्यालयलाई तीन तारे बनाउन सहयोग गर्ने व्यक्तिहरु र संस्थाहरुलाई सम्मानसमेत गरिएको थियो । 

ताजा खबर

सम्बन्धित खबर