काठमाडौंः नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गरिन् । उनले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा आफूहरु उठाउँदै आएको भएपनि सरकारले सुन्न नचाहेको बताइन् ।
उनले भनिन्, ‘सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट र साधन स्रोत उपलब्ध गराउँदैन । बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ । तर सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो सदनबाट हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने माननीयहरुले कर्णाली भनेको नेपालसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक पटक भनिरहेका छौं । प्रधानमन्त्रीज्यूले अधुरा तथ्यको साहारा लिँदै, कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ । त्यसैले प्रधानमन्त्रीलाई सदनका सबै बैठकमा अनिवार्य रुपमा सदनमा उपस्थित हुने व्यवस्था गरियोस् ।’
उनले प्रधानमन्त्री ओलीले कर्णालीको विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाइन् । प्रधानमन्त्री सदनको बैठकमा नियमित उपस्थित रहनुपर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।